काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले नेपाली खेलकुदका संस्थापकका रुपमा रहेका करिब १२० ज्येष्ठ खेलाडीलाई सम्मान गरेको छ ।
मनमोहन स्मृति प्रतिष्ठानसँगको सहकार्यमा यहाँ मंगलबार आयोजित कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सम्मानित हुनेमा आफ्नो युवा अवस्थामा विभिन्न खेलका खेलाडी रहँदै राष्ट्रलाई योगदान पु¥याएका तथा त्यसपछि अन्य क्षेत्रमा समेत विशिष्टता हासिल गरेका व्यक्तित्वहरु छन् ।
सम्मान पाउनेमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशमशेर जबरा, पूर्वक्रिकेटरद्वय जयकुमारनाथ शाह, विनयराज पाण्डे, कला समीक्षक रमेश खनाल, वरिष्ठ खेल पत्रकार श्याम चित्रकार, बानु राणा, हेमा लामालगायत छन् ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले सभ्य समाज निर्माणका लागि अग्रजको सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो प्रधानमन्त्रीत्वकालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालमा वृद्धभत्ता दिन सुरु गरिएको र आफ्नो कार्यकालमा बढाएको प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “बालबालिकालाई स्नेहपूर्वक र पाकालाई सम्मानपूर्वक हेरविचार गर्न सकिएन भने त्यो सभ्य समाज होइन ।”
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारीले ज्येष्ठ खेलाडीको योगदानकै कारण नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा ढिलो सुरुवात गर्दागर्दै पनि सन्तोषजनक सफलता हासिल गर्न सकेको बताउनुभयो ।
कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष उषाकिरण भण्डारी, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले ज्येष्ठ खेलाडीले आफ्नै प्रयासमा नेपाली खेलकुदको पहिचान स्थापित गरेको बताउनुभयो । रासस
वि.सं.२०७३ असोज १२ बुधवार ०३:२५ मा प्रकाशित
























