back
CTIZAN AD

ठाउँ परिवर्तन गर्यो यार्सागुम्बाले

वि.सं.२०७५ वैशाख ३१ सोमवार

666 

shares

himal३१ वैशाख, मनाङ । हिमालपारिको जिल्ला मनाङमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बाले ठाउँ परिवर्तन गर्न थालेको छ । पहिले प्रशस्त पाइने नाम्के, भिमताङ च्याखु गुम्छाङजस्ता लेकमा अहिले यो जडीबुटी पाइन छोडेको छ ।

पहिला मनाङ जिल्लाभित्रका मानिसबाहेक अन्य बाहिरी जिल्लाका मानिसले प्रवेश नपाउने हुँदा यी ठाउँमा प्रशस्त भेटिने पुराना यार्सा संकलक साँदो लामाले बताए । विसं २०५०/५१ देखि बाहिरी मानिसको प्रवेश दिने व्यवस्था भएपछि घट्दै गइरहेको उनको भनाइ छ । संकलनको कमीले पनि यसो भएको सम्बन्धित विज्ञहरुले बताएका छन् ।

जलवायु परिवर्तनसँगै हिमाली भेगमा छिटो असर देखिने हुँदा हिमाली जडीबुटी विस्तारै लोप हुने अवस्थामा पुगेको पुष्टि भएको वातावरणविद् नगेन्द्रबहादुर आमात्यले बताए ।

वर्षेनी हिमाली जिल्ला मनाङमा यार्सागुम्बा खोज्नका लागि पूर्जी काटेर आन्तरिक र बाह्य जिल्लाका एक हजार ५०० देखि दुई हजार मानिस यस क्षेत्रमा यार्सा संकलनका लागि जाने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

विश्वमा नै महत्वपूर्ण मानिने यस जडीबुटी मनाङका चारवटै गाउँपालिका नासोँ, चामे, नार्पाभूमि र निस्याङका नाम्केलेक, पोँकरलेक, डाँफेलेक, गुम्छाङ, याकखर्क लगायतका ठाउँमा पाइन्छ ।

मनाङवासी आफ्नो खेतीपातीको काम सकाएर होटल व्यवसाय नै छाडेर यार्सागुम्बा संकलनमा लाग्ने गरेका छन् । यो मौसम वैशाखको तेस्रो हप्तादेखि शुरु भई जेठको दोस्रो हप्तासम्म रहन्छ । यसबेला मनाङवासी आफ्ना बालबच्चासमेत लिएर हिमाली लेकमा पुगेका हुन्छन् ।

मानिसहरु यार्सा संकलनका लागि महिनौँ दिनसम्म लेकमा टेन्ट टाँगेर यार्सा खोज्ने गर्छन् । यार्सा संकलनका लागि मनाङभित्रका बासिन्दालाई रु आठ हजार र जिल्ला बाहिरका बासिन्दालाई रु १२ हजारको दरले पूर्जी खोलिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

यार्सा खोज्नका लागि आन्तरिक तथा बाह्य जिल्ला गोर्खा, लमजुङ, रसुवा र धादिङबाट पनि मानिस आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

यार्सागुम्बा सबैभन्दा महँगो र महत्वपूर्ण जडीबुटी भएकाले मानिस ज्यानै जोखिममा राखेर यार्सा संकलनमा जाने गरेका छन् । प्रतिवटा रु ५०० देखि रु एक हजार तत्कालीन अवस्थामा किनबेच हुने गरेको यार्सा संकलनमा आएका गोर्खा केरुङ्जाका गोरे गुरुङले बताए । गत वर्ष प्रतिकेजी रु २५ हजारका दरले बिक्री वितरण भएको र अहिले यसको भाउ बढ्ने उनको अनुमान छ ।

यस क्षेत्रमा यार्सागुम्बामात्रै नभई अन्य जडीबुटीहरु पाँचऔले, निरमसी पाखनभेद, जिम्बु, गुठी च्याउ, वनलसुनजस्ता जडीबुटीले देशकै राजश्व संकलनमा टेवा पुगेको छ । गत वर्षमात्रै जडीबुटी संकलनबाट रु ९५ लाख बराबरको राजश्व संकलन भएको जिल्ला वन कार्यालय मनाङले जनाएको छ ।

हिमाली क्षेत्रको वनजंगलको संरक्षण र सदुपयोग उचित रुपमा हुने हो भने हिमाली जिल्लाले नै देशको आर्थिक भार थेग्न सक्ने जिल्ला वन कार्यालय मनाङको भनाइ रहेको छ ।

विश्वमा भइरहेको जलवायु परिवर्तनले यस क्षेत्रमा असर परेको वातावरण विद्हरुको भनाइ छ । पहिला समुद्री सतहबाट करीब तीन हजार मिटर माथि यार्सागुम्बा प्रशस्तै भेटिन्थे भने अहिले चार हजार मिटरको उचाइमा पनि कताकति भेटिन्छन् ।

वनस्पति होस् वा जीवजन्तु आफूलाई सुहाउँदो वातावरणमा रहन्छन् । त्यसैले वातावरण परिवर्तनसँगै यस जडीबुटीले पनि आफ्नो वासस्थान परिवर्तन गरेको वातावरण तथा वन विज्ञान अनुसन्धानविद् भोला भट्टराईले बताए । यसरी समयमा नै यसको महत्वलाई बुझेर संरक्षणतिर नलाग्ने हो भने हिमाली जडीबुटी इतिहासको पानामा सीमित हुने विज्ञहरुले बताएका छन् ।

वि.सं.२०७५ वैशाख ३१ सोमवार १५:०८ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...