१३ असोज, विराटनगर । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज विराटनगरमा रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट पत्रकार अजित तिवारीलाई सम्मान गर्नुभएको छ ।
उहाँले नागरिक दैनिकका पत्रकार तिवारीलाई रु ११ हजार १११ राशिको सो पुरस्कारका साथै सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको हो ।
सो अवसरमा मन्त्री केसीले पत्रकारिता क्षेत्र ‘आवाज विहीनको आवाज’को रुपमा रहेको चर्चा गर्दै सरकारको नीतिलाई जनता समक्ष र जनताको आवाजलाई सरकारसमक्ष पु¥याउने कार्यमा सञ्चार क्षेत्र सजग रहनु पर्ने धारणा राख्नु भयो ।
नेपाली काँग्रेस पत्रकारको अधिकारलाई अविछिन्न राख्न प्रतिबद्ध रहेको भन्दै उहाँले श्रमजीवी ऐनलाई व्यवहारमा कार्यान्वयन गराउन सरकार कटिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन गराउनुपर्ने भएकाले तीन दलबीच सहमति आवश्यक छ भन्नुहुँदै उहाँले एकताको भावनालाई असर नपर्ने गरी सबैको भावनालाई समेट्दै मिलन बिन्दुमा पुगेर समस्या समाधान गर्नुपर्ने सुझाव प्रकट गर्नुभयो ।
नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार ‘नवोदित’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा सांसद अमृत अर्याल, प्रजिअ तोयम राय, पुरस्कार स्थापित गर्ने सुभाष रिजाल, पुरस्कृत अजित तिवारी, नेपाल प्रेस युनियन पूर्वाञ्चलका संयोजक लीलाबल्लभ घिमिरे, मोरङ उपाध्यक्ष कुमार लुइँटेल, अन्नत न्यौपाने र कुमोद अधिकारीले आआफ्ना धारणा प्रकट गर्नुभएको थियो । रासस
