
म पनि काठमाडौंमा नै छु । उनी पनि काठमाडौंमा नै छिन् र मेरा छोराछोरीहरू पनि यहीँ छन् । बिहानै मेसेन्जर बज्यो, तीन वर्षको छोराले ‘ड्याडी, के गर्दै हुनुहुन्छ ?’ भनेर भ्वाइस मेसेज ग¥यो । उसको सवालले मलाई एकछिन सोच्न बाध्य बनायो, म विदेश हुँदाका क्षणहरू सम्झें । छोरोले उस्तै गरेर म्यासेज गथ्र्यौ तर अहिले म काठमाडौं नै छु अनि परिस्थिति फेरि पनि उस्तै छ ।
म कुरा गर्दैछु नेपाल एयरलाइन्सको । असोज १० गते छोराको सामान्य रूपमा जन्मदिन मनाएर ११ गते बेलुका ११ः३० बजेको नेपाल एयरलाइन्सकै टिकट काटेर म करीब ८ बजे एयरपोर्ट छिरें । जानुपर्ने थियो अबुधाबी । तर एकपटक आफ्नै देशको ध्वजाबाहक जहाज चढौं भनेर मैले दुबईको लागी टिकट काटेको थिएँ ।
केही पहिला त्यही एयरबस ३२० लाई धेरै नेपालीले गर्वको रूपमा लिएका थिए । क्याप्टेन विजय लामासँग सेल्फी लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पोस्टिएको देख्दा म आफैंलाई जलन हुन्थ्यो । थाई र कतार एयरवेजसँगै आफ्नो उडान सेवा सञ्चालन गर्दागर्दै पनि धराशायी बनेको नेपाल एयरलाइन्स अहिले साँच्चिकै बौरिएको हो त ? दुईवटा न्यारो बडीको एयरबस मगाएपछि के साँच्चिकै हाम्रो आफ्नै ध्वजावाहक विमानको स्तर सुध्रिएकै हो त ? यदि हो भने त्यो भन्दा गर्वको विषय के हुन्थ्यो र ?
हुन त एतिहादको टिकट काटेको भए पनि हुन्थ्यो, फ्लाई दुबई पनि थियो, एयर अरेबिया र ओमान एयर पनि लाइनमै थियो । कहिले टायर पड्किने र कहिले बाह्र हजार फिटको उचाईमा धुँवा देखियो भन्ने समाचार बारबार पढ्न परेको भएपनि आफैंलाई एउटा प्रश्न सोध्न मन लागेको थियो, कहीँ त्यस्ता समाचारहरू नेपाल एयरलाइन्सलाई धराशायी बनाउन कसैले प्रायोजन त गरेको हैन ? नमरी स्वर्ग देखिँदैन भनेझैं म पनि एकपटक आफ्नै ध्वजावाहकको सेवाग्राही बनेर सेवाहरूको उपयोग गर्न चाहन्छु भनी अन्तरआत्माले बोलेको कुराले जित्यो । मैले टिकट काटें ।
सामान्य प्रक्रियापछि म बोर्डिङ पास लिने कक्षमा प्रवेश गरें करीब ९ बजे । साढे आठ बजे नै बोर्डिङ खुल्ने सूचना आएको रहेछ । तर नौ बजेसम्म कुनै पनि स्क्रीनमा नेपाल एयरलाइन्सको लोगो देखिएन । दश बजेसम्म पनि त्यसको कुनै छाँटकाँट थिएन । सामान्यतया फ्लाइट उड्नुभन्दा एक घन्टा अगाडि नै बोर्डिङ बन्द गर्नुपर्ने हो । मेरो मनमा शंका पस्यो, फ्लाइट बाह्र बजेभित्र उडेन भने त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने छैन ।
दश बजे शुरू भएको बोर्डिङमा लगेजको सामान्य प्रक्रिया पूरा गरेपछि सुरक्षा चेक गराएर हामी वेटिङ हलमा गयौं । हामीलाई त्यतिबेलै फ्लाइट एक घन्टा लेट हुने जानकारी दिइयो । ग्राउन्ड ह्यान्डलिङ गरिरहेका नेपाल एयरलाइन्सका कर्मचारीहरूको हाउभाउ सामान्य देखिएन । मैले बारम्बार छुट्टाछुट्टै कर्मचारीहरूलाई फ्लाइट डिले हुने कारण सोधें, प्राय सबैले जानकारी दिन चाहेनन् । कुरा मेरो मात्र थिएन, म जस्ता ५५ जना वैदेशिक रोजगारीमा जानेहरूको पनि थियो ।
तीनजना कर्मचारीहरू एउटा मोबाइल फोनमा झुन्डिएको देखियो, करीब १२ बजेतिर । म पनि त्यहीँ गएँ, अलि परैबाट कसैलाई धक्का नदिइकन हेरें । त्यहाँ एउटा नक्सा थियो, शायद त्यो फ्लाइटको बारेमा सबै जानकारी दिने सफ्टवेयर थियो, ‘फ्लाइटराडार’ भन्ने । एउटा जहाज जुन नेपाल एयरलाइन्सकै थियो, त्यो वीरगन्जको आकाशमा करीब तीन फन्को लगाइरहेको मैले मोबाइलमै प्रस्ट देखें । अब के हुन्छ ?
‘शायद लखनउतिर डाइभर्ट हुन लाग्यो होला,’ एउटाले जवाफ दियो । अर्काेले भन्यो, ‘त्यहाँबाट काठमाडौं आउँदा बीचमा पहाड पर्छ, रातिमा पाइलट सबै डराउँछन् , त्यही भएर उतै घुमाएको होला ।’ म अवाक भएँ । ‘अनि टावरसँग सम्पर्क छैन ?’ मैले सोधें । ‘छ, तर हामीले सबै सूचना दिन मिल्दैन,’ अर्काेले लेघ्रो तानेर जवाफ दियो ।
त्यत्तिकैमा मोबाइलमा त्यो जहाज गायब भयो । एउटा सन्नाटा छायो । म चुप रहें तर मनमा नानाथरी कुरा खेल्यो । अर्काे हक्कानिँदै आयो, ‘नेट नभएर हो, डाटा अन गरेर हेर, प्लेन घुमिरहेको छ ।’ मैले सन्तोषको श्वास फेरें । वाइफाइले एकछिन काम गर्न छोडेको रहेछ ।
दुई बजेसम्म हामी जसरी पनि उड्छौं भन्दै हामीलाई सान्त्वना दिने एक दुईजना कर्मचारी भेटिए । फोन हेर्दाहेर्दै प्लेन रातको साढे एक बजे काठमाडौंको रनवेमा ल्यान्ड भयो । हामीले प्लेन रनवेमा ठोक्किएको फोनमा हेर्दा हेर्दै आवाज पनि सुन्यौं र ढुक्क भयौं ।
त्यसको करीब आधा घन्टापछि एउटा मधेशी मूलको ग्राउन्ड ह्यान्डलरले हामीलाई सूचना दियो, ‘फ्लाइट क्यान्सिल भयो, वि आर सरी, लेट्स गेट इन्टु आवर होटेल ।’ मैले सोधें, ‘व्हाट आर द पसिबल रिजन्स ?’ उसले भन्यो, ‘टावर कन्ट्रोलले उड्न दिएन ।’ हामी ५५ जना मात्र थियौं, १७० अटाउने विमान शायद त्यसैको कारणले उड्न नमानेको होला भन्ने मैले सामान्य लख काटें ।
रातको ३ बजे हामीलाई तिलगंगाको एउटा होटेलमा ल्याएर हुलियो । पास क्लियर भइसकेर भित्र गएको आफ्नो झोला फेरि फिर्ता समात्दा मेरो मन कटक्क काटेको थियो । फोन गरेर घरमा जानकारी दिएँ । बाह्र बजे बन्द हुने एयरपोर्टका कर्मचारीहरू ओभरटाइम गर्नुपरेकोले होला, प्रायः रक्सीले फिटान भएका जस्ता देखिन्थे । हामीलाई एउटा गाडी आएर पिक ग—यो, सबै जनासँग म पनि मेरो लगेज काँधमा हालेर डमक—डमक होटेल छिरें । हाम्रो पासपोर्ट होटेलले राख्यो, त्यतिबेला मलाई कुनै दलालले फँसाएर होटेलमा राखेको जस्तो अनुभूति भयो ।
बिहानको करीब पाँच बजे हामीलाई खाना दिइयो । हामीले त्यो पनि मन कटक्क काटी काटी खायौं ।
हामीलाई रनवेको समस्या देखाइएको थियो, तर पाँच बजे खाना खाएर सुत्ने बेलामा हवाईजहाजहरू ल्यान्ड र टेकअफ गरेको आवाजले सुत्न पाइएन ।
दोस्रो दिनको १२ बजेतिर हामीले होटेलको प्रशासनमा सम्पर्क ग—यौं । हामीलाई बेलुकाको ६ बजे या ११ बजे फ्लाइट हुनसक्ने भएकाले कतै पनि नजान भनियो । काठमाडौंमै घर भएका यात्रुहरू यताउता हिँड्न डराए, म पनि नियतिलाई दोष दिइरहें । हिजो रातभरि सर भनेका होटेलका कर्मचारीहरूले यात्रुहरूलाई दाइ भाइ भन्न शुरू गरिसकेका थिए । हरेक कर्मचारीले हामीलाई निर्देशन दिन शुरू ग—यो, ‘यो गर, त्यो गर, या यो नगर भनेर ।’
बुझ्न खोज्दा आफूलाई कुनै नयाँ सूचना नआएको भनेर पन्छिए सबै । हामीमध्ये चारजना महिला र एकजना बच्चा बढी हतोत्साही देखिन्थे । खानामा समस्या थियो, सम्भवतः हामीलाई उपेक्षा गरेर बनाइएको थियो, बिलकुलै बिरामी या बच्चाबच्ची मैत्री थिएन । हाम्रो दोस्रो दिन तनावमै बित्यो । त्यसबीचमा मैले जम्मा एकपटक घरमा फोन गरेर सकुशल रहेको जानकारी गराएँ । फेसबूकमा स्ट्याटस पोस्ट गर्दा सामान्य तरिकाले अरू नै विषयवस्तुमा आधारित रहेर गरें, जसबाट हामीले भोगेको नियतिको बारेमा कोही नचुकचुकाओस् ।
बेलुका भयो, दिनभरिमा सयौं अरू प्लेन आए गए, म आवाज सुनेर बस्दै रहें । गोजीमा नेपाली पैसा नभएकाहरूले घरबाट या आफन्तबाट पैसा मगाउन थाले । आखिर यो युगमा बस्न र खान मात्र दिएर कुनै पनि मान्छेको मौद्रिक स्वतन्त्रता हनन गर्न सकिँदैन । सबै परिस्थितिको दास थिए । एउटा बच्चा रोइरहेको थियो, बाँकी यता र उता दौडिरहेका थिए, मनमा अशान्ति र पीर लिएर । बेलुकाको खाना खाएर चौथो तल्ला चढें । एउटा कोठामा दुईवटा बिस्तारा थियो तर चारजनालाई सुत्न लगाइएको थियो । पल्टिन खोजेको निद्रा लागेन । साथीहरू मनको पीडा भुलाउन एक बुक तास ल्याएका रहेछन् । सँगै केही समय खेलियो । १२ बजे सुत्न खोजेको प्लेनको आवाजले निद्रा खाइदियो ।
बिहान आठ बजे चर्काे स्वरमा हेल्लो र हाई गर्दै होटेलका कर्मचारीहरू उठाउन आए । म उठ्नेबित्तिकै सोधें, ‘एनी न्यु इन्फर्मेसन ?’ उसले भन्यो, ‘ब्रेकफास्ट रेडी छ, नयाँ इन्फर्मेसन त्यती हो ।’ म आँखा मिचेर तल झरें । चियाको चुस्कीसँगै मलाई नेपाल एयरलाइन्सको कार्यालयमै जाने सोच आयो । तर त्योभन्दा पहिला किन एकपटक फोन नगर्ने ? होटेलको डेस्कमा सोधेको नम्बर छैन भनियो, अनि मैले गुगल गरें । पछि सोच आएको थियो, टिकटमा पनि नम्बर हुन्छ, तर झोला चार तल्लामाथि थियो, जान गाह्रो लाग्यो ।
पहिला वायुसेवा निगमको सम्पर्क कार्यालयमा फोन गरें ९ ०१—४२२०७५७ । एकजना सेक्युरिटीले उठायो, उसलाई केही थाहा नभएको कुरा जानकारी गरायो र अर्काे नम्बर दियो ०१—४४७०९८१ । त्यसमा एउटा महिलाले ‘हेल्लो’ गर्दै फोन उठाइन् । ‘हु इज दिस ?’ मैले सोधेको प्रश्नमा उनले अनकनाउँदै उल्टै मलाई नेपालीमा सोधिन्, ‘कसलाई खोजेको ?’ मैले कुनै घरको ल्यान्डलाइनमा परेछ कि भन्ने सोचें । ‘एयरलाइन्समा कन्ट्याक्ट गर्न खोजेको, तपाईंलाई रङ नम्बर परेछ, सरी ।’ यति भन्दा नभन्दै उनले भनिन्, ‘यो एयरलाइन्स नै हो ।’ उनले पनि अर्काे नम्बर दिइन् ०१—४११३२७९ ।
एकजना टुटेफुटे अंग्रेजी बोल्न जान्नेले फोन उठाएछ । ‘इज दिस नेपाल एयरलाइन्स इन्क्वाइरी नम्बर ?’ उसले ‘यस सर’ भन्यो । मैले उसलाई हाम्रो स्थितिको बारेमा जानकारी गराएँ । ‘आइ डन्ट नो मच अबाउट दिस, प्लिज कन्ट्याक्ट एनोदर नम्बर । नोट इट डाउन प्लिज, ०१—४४३२११ ।
फोन गरेका कुनैमा पनि टेलिफोन एटिकेट देखिएन । सबैले हेल्लो हेल्लो मात्र भन्थे । मैले फेरि उसले दिएको नम्बरमा फोन हानें, ‘वी आर नोन टु दिस म्याटर मोर देन यु, वी विल कन्ट्याक्ट होटेल अफिसिल्स एज सुन एज वी आर रेडी टु फ्लाई ।’ यति एक सासमा भनिसकेपछि फोन ट्याँ ट्याँ ग—यो । मैले पुर्पुरोमा हात लगाएँ । कम्तीमा नेपाल एयरलाइन्सको कुनै एक कर्मचारी होटेलमा आएर पनि ब्रिफिङ गर्न सकेन, या त हाम्रो हैसियत पुगेन, हामी त वैदेशिक रोजगारीमा जान खोजेको मान्छे न परियो । उनीहरू नेपाल एयरलाइन्सका ठूला अफिसर न परे । जिन्दगीमा पहिलोपटक कुनै कर्मचारीबाट यस्तो तरिकाले हेपिनुप—यो । फ्लाइट क्यान्सिल भएको ३६ घन्टा भन्दा बढी भइसकेको थियो ।
यति लेख्दासम्म हामी सबै कुहिरोको काग नै छौं । उस्तै गरेर चर्को आवाजमा प्लेन रनवेमा ठोक्किएको सुनिरहेका छौं, तर हाम्रो प्लेनको बारेमा हामीलाई कुनै जानकारी छैन । एक—दुईजना हाम्रो टिमका साथीहरू बेलुका दोहोरीतिर गएर समातिए र पुलिसले केरकार गरेर छोडेको नमीठो खबर सुन्न पाइयो । श्रीमानलाई भेट्न हिँडेकी एकजना महिलाको दुई वर्षको बच्चालाई ज्वरो आएर आत्तिइरहेकी छिन् । अझसम्म हामीलाई कुनै जानकारी आएको छैन, थाहा छैन अझै कति दिन यस्तै गरेर बस्नुपर्ने हो ।