१३ असोज,काठमाडौँ। नेपाल चिकित्सक सङ्घले चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका बारेमा सरकारलाई तीनबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै २४ घन्टाभित्र त्यसको सुनुवाइ गर्न माग गरेको छ ।
ती मागमा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाई विभागीय कारबाही गर्नुपर्ने र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि गाली, बेइज्जती, गुन्डागर्दी तथा तोडफोड कार्यमा संलग्न हुने व्यक्ति तथा समूहलाई कारबाही गर्न नयाँ ऐन ल्याउनुपर्ने रहेका छन् ।
यसैगरी, सरकारी स्वास्थ्य संस्थामा ओपिडी सेवा बिहान १० देखि ५ बजेसम्म लागू गर्ने प्रावधानलाई वैज्ञानिक तथा व्यावहारिक रुपमा कार्यान्वयन गर्नसमेत सङ्घले आज यहाँ एक विज्ञप्ति प्रकाशित गरी माग गरेको छ ।
सङ्घका सहसचिव एवम् प्रवक्ता डा लोचन भट्टराईद्वारा जारी विज्ञप्तिमा ती माग २४ घन्टाभित्र सम्बोधन नगरिए सङ्घ आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।
सङ्घले चरिकोट घटनाका बारेमा स्थलगत रुपमा अध्ययन गर्न एक कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलले दिएका सुझावका आधारमा सङ्घले सरकारको सो ध्यानाकर्षण गराएको हो । रासस
वि.सं.२०७३ असोज १३ बिहीवार ०९:०७ मा प्रकाशित