१५ असोज, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद्मा दर्ता हुनुपर्ने बताउनुभएको छ ।
सद्भावना पार्टीद्वारा आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसीको माग पूरा नभएमा छठ पर्वपछि पार्टी आन्दोलनमा जाने स्पष्ट पार्नुभएको छ ।
मधेसी मोर्चाले गरेको तीन बुँदे सहमतिको अक्षरसः पालन हुनुपर्नेमा जोड दिँदै उहाँले सो सहमतिअनुसार मधेस आन्दोलनका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउमा परेका व्यक्तिको मुद्दा फिर्ता हुनुपर्ने उल्लेख गर्नुभयो ।
मधेसीको वेशभूषा, संस्कृति र पहिचानको लडाँई रहेको भन्दै उहाँले मधेसीको माग पूरा नभएको अवस्थामा अन्य दलले कुनै बहानामा मधेस आन्दोलन छाडेर गएपनि आफ्नो पार्टीले मधेस आन्दोलन निरन्तर जारी राख्ने उद्घोष गर्नुभयो ।
सो पार्टीका वरिष्ठ नेता बद्री मण्डलले मधेसवादी नेताले के गरिरहेका छन् भन्ने विषयमा मधेसका जनताले नियालेर हेरिरहेको प्रसङ्ग उल्लेख गर्दै मधेसको नारालाई बेचेर खाने नेताबाट सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय दिलीप धाडेवाल र राजेन्द्रकुमार गुप्ता लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका जिल्ला सचिव राधे कामतलगायत ३२ जना सद्भावना पार्टीमा प्रवेश गरेका थिए । रासस
वि.सं.२०७३ असोज १५ शनिवार १५:१४ मा प्रकाशित