back

दुई शक्तिसाली देशको तुलनात्मक अनुभूति

वि.सं.२०७३ असोज २१ शुक्रवार

786 

shares
GLOBAL IME AD
NTC AD

mina2

हुन त विदेश भ्रमणका बारेमा लेखनै तयार पार्नु त्यति सान्दर्भिक विषय नलाग्न सक्छ, तर २ महिनाको अन्तरालमा विश्वका दुई शक्तिशाली देशको भ्रमण गर्ने अवसरले मनका गाँठाहरू साम्य हुन सकेन । अमेरिकाको दुई हप्ता र चीनको ३ हप्ते भ्रमणमा ती देशहरूले गरेका विकासलाई नजिकबाट नियाल्ने अवसर मिल्यो । संसारका मानिसहरूको सपनाको देश अमेरिका र द्रुत विकासको अग्रगमनमा चासोको रूपमा लिइने चीनको भ्रमण मेरो लागि पनि अवसर बन्यो । छोटो बसाईको यो अनुभूतिमा देखिएका कुराहरू यथार्थ भन्दा केही फरक हुन पनि सक्छन् ।
तुलनात्मक रूपमा चीनको भ्रमण केही लामो रह्यो । रेल र स्थलमार्ग बढी हुँदा अमेरिकाको भन्दा धेरै कुरा जान्न र बुझ्ने अवसर मिल्यो । अमेरिका आप्रवासी देश भएको हुँदा त्यहाँको विकास चीनको तुलनामा प्रणालीगत लाग्यो । अमेरिकामा बस्तीहरू नयाँ हुँदा बस्तीहरू मिलाएर बनाइएका छन् । यसको तुलनामा चीनमा बस्तीहरू पुराना र अव्यवस्थित पनि देखिन्छन् । तर नयाँ बस्तीहरू भने अग्ला अपार्टमेन्ट र सामूहिक रूपमा मिलाएर बनाइएका छन् ।
स्वदेशमा धुलो र धुँवाका बीच सडकमा घण्टौँ जामको सामना गरिरहेको मलाई गाडीहरू सडकमा निस्फिक्री कुँदिरहेको देख्दा अनौठो लाग्नु स्वभाविक नै हो । जिपिएस लगाएर आफ्नो लेनमा हिडेपछि कतै अल्मलिनु नपर्ने । अमेरिकाका सडक देख्दा डाह पनि लाग्यो, कहिले होला हाम्रा देशका सडकमा यसरी गाडीहरू बिना जाम निस्फक्री गुडन् पाउने ? सडकको धुलो र सवारी साधनले फ्याँकेका धुवाँ नभए पनि ती देशमा निलो आकाश देख्न मुश्किल हुन्छ । धुलोका कंणले लागेको तुवाँलोले अगाडिको सडक देख्न पनि मुस्किल हुन्छ । सडकका वरपर रुख रोपेर हरियाली बचाउने प्रयास भने दुवै देशमा गरिएको छ ।
चीनका सडक कतै व्यवस्थित छन् भने कतै काठमाडौका जामलाई पनि बिर्साउने खालको पनि देखियो । राजधानी बेइजिङको जामले समय मिलाएर घुम्न योजना बनाउनेलाई चौपट बनाउँछ । हुन पनि हाम्रो देशको जनसंख्या जति मान्छे त बेइजिङ्ग शहरमा मात्रै बस्दा रहेछन् । सवारी साधन चलाउनेहरू ट्राफिक लाइटको ख्याल गरेपनि यात्रुहरू भने सकेसम्म छिटो बाटो क्रस गर्न हतारिरहेका हुन्छन् । चीनमा अनौठो लाग्ने कुरा सडकमा जसलाई जस्तो चाह्यो त्यस्तै स्कुटर र साइकलहरू भेटिन्छन् । वातावरणीय प्रदुषणको ख्याल राखेरै हुनसक्छ सडकमा गुड्ने स्कुटरहरू प्राय विद्युतीय छन् । पेट्रोलबाट चल्ने स्कुटर एकाधमात्र हुन्छन् भने मोटर बाइक देख्न पनि पाइँदैनन् । सार्वजनिक गाडिहरू दस÷दस मिनेटमा प्रतिक्षालयमा रोकिन्छन् र केहि सेकेण्डमै गुडिहाल्छन् । अमेरिकाको सडकमा गाडी नै बढी देखिन्छन् भने यदाकदा मोटरसाइकल पनि भेटिन्छन् ।
चीनले रेलमार्गमा गरेको विकास जो कोहीलाई आश्चर्य लाग्दो छ । अझ लामो दुरीमा सञ्चालन हुने ‘फास्ट ट्रेन’ले विशाल चीन यात्रालाई छोटो दुरीमा जोडेको छ । छिमेकी देशमा देखिएको त्यो विकास र आफ्नो देशका कतिपय भागले अझै मोटरबाटो छुन नसकेको अवस्थामा रेल मार्ग निर्माण हाम्रो देशको लागि पनि उपयुक्र्त हुने देखेँ । हाम्रो देशका ती भिरपाखा जहाँ सडक विस्तार गर्न गाह्रो छ र बनाइ हाले पनि सँधै पहिरोको जोखिममा परिरहन्छ त्यस्तो ठाउँमा रेलमार्गको निर्माण नै एकठाउँबाट अर्को ठाउँ जोड्ने माध्यम बन्न सक्छ । चीन र अमेरिकाले जसरी सब वे बनाउन नेपाल अहिल्यै सक्षम पनि छैन र सम्भव पनि छैन तर लामो दुरीको लागि रेलवे निर्माण गर्न सक्ने सम्भावना मैले देखेँ । रेलवे निर्माण गर्न शायद सडक निर्माण भन्दा सस्तो हुने र यात्रा छिटो र सहज पनि हुने आँकलन मेरो छ । त्यहाँका साना रेलवे स्टेशन पनि हाम्रो एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूला ठूला देख्दा त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल भन्न पनि लाज लाग्ने । हामी नेपाली संसारमा नपुगेको देश कहाँ होला, विदेश भ्रमण नगरेको नेता को होला तर पनि किन हाम्रो देश किन यति पछाडी ? आफ्नो देशलाई ती देशजस्तो विकसित बनाउने सोच राखेर योजनाहरू किन बनाउन सकिएन ? छेपारोले प्रत्येक रात भोलि त घर बनाउँछु भनेर दिउँसो बिर्से जस्तो हाम्रा नेताहरू फर्केर आउँदा एयरपोर्टमा देशलाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउँछु भन्नुहुन्छ, जनतामा आशा भर्नुहुन्छ तर देशका जनताको बिडम्बना २ रूपैयाँको सिटामोल नपाएर मर्नुपरेको अवस्था छ ।
चीनको सबैभन्दा राम्रो लागेको पक्ष भनेको त्यहाँको अनलाइन व्यवसाय हो । त्यहाँ घरमा बसीबसी १ युआन देखि जति पनि अनलाइनमै किन्न सकिन्छ । बजारमा गएर किन्न भन्दा अनलाइनमा सस्तो पर्ने । त्यहाँको सुरक्षा व्यवस्था अच्चम लाग्दो लाग्यो । त्यति धेरै जनसंख्या भएको देशमा कसरी शान्ति सुरक्षा बनाइ राख्न सकेको होला ? एउटी युवती एक्लै रातको १२ –१ बजे जस्तो गल्लीमा पनि निर्धक्क हिड्न सक्छे । महिलामाथि बलत्कारको घटना घट्नुमा महिलाले लगाउने छोटा पहिरन पनि कारक हो भन्ने कुरा पुरुषहरूबाटै सुन्ने गरिन्छ । तर चीनका महिलाहरूको पहिरन र रातको समयमा पनि छोटा स्कट पहिरिएका युवती देखि बृद्धासम्म एक्लै दुक्लै जुन ठाउँमा पनि सुरक्षित यात्रा गरेको देख्दा छोटा पहिरन अपराध गर्न उत्साहित गर्ने कारक होइनन्, त्यो त हाम्रो संकिर्ण मानसिकता र मनोविज्ञान मात्र रहेछ भन्ने अनुभूति मलाई भयो ।
सामान किनमेल गर्ने माध्यम प्राय सबै देशमा क्रेडिट कार्ड नै होलान् । चीनमा क्रेडिट कार्ड भन्दा ‘वि च्याट पे’ अत्यन्त सरल र सहज रहेछ । ट्याक्सी खोज्न बाटामा कुर्न पर्दैन, आफू कुनै ठाउँमा रहेको लोकेशन वि च्याटमा राखिदिएपछि ट्याक्सीवाला आफै आइपुग्छ । हामीकहाँ सवारी साधनहरूले सिण्डीकेट लागू गर्न पाइएन भने सडक बन्द गराएर सरकारलाई झुक्न बाध्य बनाउँछन् तर ती देशहरूमा ट्याक्सीकै सुविधा निजी कारहरूले निकै सस्तोमा दिइरहेका छन् । ट्याक्सी वा कार चढेपछि झर्नेबेलामा हतार–हतार पैसा खोज्नु नपर्ने र झरेपछि वि च्याटबाट पे गर्न सकिने ! जमाना कहाँ पुगिसक्यो ।
न्यूयोर्कको टाइम्स स्क्वायरमा साँझमा लाग्ने मानिसहरूको भिड र चीनको राजधानी बेइजिङको ‘वाङ फु चिङ’ तथा संघाईको ‘द बन्ड’ सडकलाई पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गरेको देख्दा हाम्रो न्यूरोड र ठमेललाई थोरै मात्र व्यवस्थित गर्न सकिने हो भने विशेष पर्यटकीय क्षेत्रको रूपमा बिस्तार गर्न सकिने सम्भावना देखेँ । अहिले पनि ती क्षेत्र पर्यटकीय क्षेत्र त हुँदै हुन् त्यसलाइै थोरै मात्र व्यवस्थित गर्न सकियो भने अझ धेरै पर्यटक भित्र्याउन सकिने अनुभूति भयो । त्यस्ता क्षेत्रलाई मानव बसोबास भन्दा व्यापार व्यवसायको रूपमा विकसित गर्नुपर्दछ । ती क्षेत्रहरूमा पैदल यात्रा मात्र गर्न पाइने गरी कुनै किसिमका सवारी साधन प्रवेशमा रोक लगाउनु पर्दछ । बसन्तपुरलाई व्यवस्थित गर्न यता न्यूरोड गेटबाटै गाडी प्रवेशमा रोक लगाउनु पर्दछ । त्यस्तै ठमेल प्रवेश गर्ने कान्तिपथ देखिका चारै नाकामा रोक लगाउनु पर्दछ । तर ती सबै नाका नजिक पार्किङ्गलाई व्यवस्थित गर्न भने जरुरी हुन्छ । सबै खालका सवारी साधन प्रवेशमा रोक लगाउनु पर्दछ । नगरपालिकाका गाडीलाई समय मिलाउन सकिन्छ भने एम्बुलेन्स तथा दमकल त घटनाक्रमको आवश्यकता अनुसार हुने नै भयो ।
चीनले सुरक्षाव्यवस्था देखाउँदै गुगल, फेसबुक जस्ता साइटमाथि प्रतिबन्ध लगाएको हुँदा केही दिनको यात्रामा रहने नेपालीलाई आफ्ना भावना साट्न र फोटो राखि हालौ भन्न गाह्रो छ । तर ,त्यहि अध्ययन गर्ने र पेशा व्यवसाय गर्ने नेपालीहरूले भने उपाय लगाएर ती सेवाहरूको उपभोग गरिरहेकै छन् ।
चीनमा प्राय नेपाली विद्यार्थीहरू भेटिन्छन् । केही छात्रवृत्तिमा र शुल्क तिरेर पढ्नेहरू पनि बढ्दै गएका छन् । धेरै चिनियाले चीनिया भाषा बाहेक अरु भाषा बुझ्दैनन् । अहिलेको पुस्ता भने अंग्रेजी भाषाप्रति बढी लालायित छ । चीनमा विद्यार्थीले सबैभन्दा धेरै रोजगारी पाउने भनेको स्कुल वा घरमा अंग्रेजी पढाउने काम हो । पछिल्ला दिनमा चीनले नेपालका सरकारी कर्मचारी तथा पत्रकारहरूको टीमलाई घुमाउन लैजाने गरेको छ । त्यसैगरी चीनले कामदार भिषासमेत खोलेका कारण चीन पनि नेपालीको रोजगारीको गन्तव्यका रूपमा बढ्दै गएको छ ।
अमेरिकामै जन्मिएको पछिल्लो पुस्ता त्यतै खुशी हुनु स्वभाविक नै हो । उता पुगिसकेको अघिल्लो पुस्ता पनि उम्कन चाहेर पनि उम्कनै नसक्ने गरी आफूलाई जञ्जिरमा बाँधिएको अनुभूति लिएर बसिरहेको छ । ‘केही वर्ष पछि त नेपाललै फर्कने हो’ धेरैको यहि भनाई हुन्छ तर फर्कन सकिरहेका हुँदैनन्, उनीहरू बाहिर खुशी नै देखिए पनि मनमा भने साह्रो गाँठो लिएर बाँच्न बाध्य छन् ।
चीनले अहिलेसम्म स्थायी बसोवास नदिएको हुँदा चीन पुगेको नेपाली उतै हराउँछ की भन्ने चिन्ता मान्नु पर्दैन । कुनै न कुनै बेला उ फर्केर आफ्नै माटोमा आउँछ । सपना र स्वर्गको देश अमेरिका पुगेपछि गरिबी, विभेद, अस्थिरता, नातावाद, कृपावादले गाँजेको देशमा फर्कन चाहने नेपाली निकै कम हुन्छन् । आजको जमानामा पनि १८ औँ शताब्दिको जस्तो जीवन जिउनु भन्दा, बेरोजगार बस्नु नपर्ने, कामको सम्मान हुने, विभेदको शिकार बन्नु नपर्ने देश पुगेपछि उतै मन रमाउनु स्वभाविकै हो । तर नेपालमै जन्मिएर गएको व्यक्तिले समेत बिस्तारै बिस्तारै नेपाललाई भुल्दै जान थालेको दुखलाग्दो अवस्था पनि छ । ‘भोको पेटमा राष्ट्रियता जपेर मात्र पनि हुँदैन’ यदि आफ्नै देश सम्पन्न हुँदो हो त आफ्नो देश, आफन्तलाई छोडेर जाने चाहना कहाँ हुन्थ्यो होला र ? यस्तो तर्क धेरै आउँछ । तर यो सत्य हो की नेपालीले नेपाल कहिल्यै भुल्दैन ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १२:५३ मा प्रकाशित

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालको निजामती प्रशासनको इतिहास धेरै पुरानो भए पनि व्यवस्थित र...

सुदुरपश्चिममा बिद्यालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

सुदुरपश्चिममा बिद्यालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

धनकुमार श्रेष्ठ  । नेपाल लाइब्रेरी फाउन्डेसनका पूर्व अध्यक्ष कपिलदेव थापाबाट...

आयुर्वेदमा सद्वृत्तकाे महत्व

आयुर्वेदमा सद्वृत्तकाे महत्व

१. पृष्ठभूमि शरीर तथा मन एक अर्काले प्रभावित हुने गर्छ...

ग्रे लिस्टमा पर्नु नेपालको लागि कति गम्भीर  ?

ग्रे लिस्टमा पर्नु नेपालको लागि कति गम्भीर  ?

नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले २ वर्षका लागि...

मानव शरीरका लागि कस्तो आहार खानु राम्रो ?

मानव शरीरका लागि कस्तो आहार खानु राम्रो ?

१. आहार तथा पोषण कुनै पनि खाद्यपदार्थलाई अन्नमार्गबाट ग्रहण गरेपछि...