back

कमरेड मुक्ति

वि.सं.२०७३ असोज २१ शुक्रवार

513 

shares
NTC AD

keshav-pudasaini

त्यो जेठ महिना थियो ।
आकाशबाट एक थोपा पानी धरतीमा नचुहाईकन वैशाख महिना पनि सुटुक्क बितेको थियो ।
‘खोई के भएको हो कुन्नी समय साल ! यति लामो खडेरी कहिल्यै परेको थिएन ….. ! ’ बुढापापा भन्थे । चैत्रको पहिलो हप्तातिर आकाशबाट चुहिएको एक झर पानीले भिजेको बारीमा लेकतिरका किसानहरुले मकैका बिऊ रोपिसकेका थिए । तर जेठ महिनाको आधी उमेर बितिसक्दा पनि आफ्ना बारीमा मकैका बिऊ रोप्न नपाउँदा बेसी तिरका किसानहरुको अनुहारमा खुसी झुल्किएको थिएन । यति नै बेला देशको राजनीतिक भविष्यको आकाशमा मडारिरहेको अनिश्यका काला बादलले कामरेड मुक्तिको मनमा चिन्ताको वर्षा गराइरहेको छ ।
द्येशमा पहिलो पटक संविधानसभाको निर्वाचन सम्मपन्न भएर संविधानसभाको गठन भएको थियो । दुई वर्षको लागि भनेर गठन भएको संविधानसभाले चार वर्ष बिताउन लाग्दै थियो । संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने छ र आफ्नो भाग्यको सुनौलो बिहानी उदाउने छ भन्ने आशाको मझेरीमा सपनाको मीठो खीर खाँदै बसेका जनताहरु संविधानसभाको नियती देखेर निराशाका घट्का पिउन थालेका थिए ।
त्यत्तिबेला काठमाण्डौंको वानेश्वर रहेको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रलाई संविधानसभा भवन कायम गरिएको थियो । संविधानसभाले संविधान जारी गर्ने अन्तिम दिन १४ गते आउन एक दिन मात्र बाँकी थियो । काठमाण्डौं शहरदेखि निकै टाढाको गाउँ–घरमा बसिरहेको कमरेड मुक्तिलाई देशमा नयाँ संविधान जारी हुने बेलाको काठमाण्डौं शहरको रमझम हेर्न मन लाग्यो । त्यसैले ऊ आफूसँग भएको जम्माजममी एकजोर अर्धानो साधारण सर्ट, पाइन्ट र म्याजिक चप्पल पहिरिएर काठमाण्डौ शहरमा हान्निएर पुग्यो ।
काठमाण्डौं शहरको आकाशमुनी कमरेड मुक्तिले पाइलो टेक्दा झमक्क साँझ परेको थियो । नयाँ बसपार्कबाट लुखुरलुखुर हिँडेर ऊ मनमैजु उकालो लाग्यो र गाउँले साथीको डेरामा पुग्यो । रातभर उसको आँखामा निन्द्रा परेन, भोली संविधानसभाले कस्तो संविधान जारी गर्ला र त्यो संविधानको पानामा दश वर्ष भन्दा लामो जनयुद्धले उठाएका माग र मुद्दाहरु समावेश गरिएको होला कि नहोला भन्ने पीरले उसको मुटुको भेट्नोलाई उधिनी रहयो ।
१४ गते बिहान सबेरै ओछ्यानबाट उठेको कमरेड मुक्ति त्यही साथीले पकाएर दिएको खाना खाएर बाहिर निस्कियो । सरासर हिँडेर ऊ नयाँ बसपार्कमै आइपुग्यो र नयाँ बानेश्वर जाने बसमा चढ्यो । यो भन्दा पहिले कहिल्यै ऊ संविधानसभा भवन बानेश्वर चोकैमा पर्छ भन्ने कुरा चाँही अरुहरुबाट सुनेको थियो ।
करिब एक घण्टा समय लगाएर बसले कमरेड मुक्तिलाई नयाँ बानेश्वर चोक भन्दा दुई किलोमिटर परै तीनकुनेनिर ओरालीदियो । घामको रापिला किरणपुञ्जलाई शिरमाथि थापेर उसले आफ्नो पाइलालाई नयाँ बानेश्वरतिर लम्कायो । घामले र जिज्ञाशाले असिनपसिन भएर ऊ बानेश्वर चोकमा पुग्यो । बानेश्वरको फराकिलो कालोपत्रे चोकमा विभिन्न राजनीतिक पार्टी, सङ्गठनका मान्छेहरु मात्र नभई विभिन्न जाति र क्षेत्रका मान्छेहरु पनि भेला भइसकेका थिए ।
यसरी भेला भएका मान्छेहरुले संविधानसभाबाट जारी हुन लागेको संविधानको पानामा लेखियोस भनेर आ–आफ्नो मागहरुलाई विभिन्न किसिमले प्रस्तुत गरिरहेका थिए । समूह–समूह बनाएर आफ्ना मागहरु प्रस्तुत गरिरहेका यस्ता मान्छेहरुले आ–आफ्ना पार्टी, सङ्गठन, जातीय तथा क्षेत्रीय मोर्चाका झण्डाहरु फहराइरहेका थिए । कुनै समूहले चाँही सांस्कृतिक कार्यक्रम देखाइरहेका थिए भने कुनै समूहले चाँही चर्काचर्का क्रान्तिकारी नारा उरालिरहेका थिए ।
आ–आफ्ना जातीय पहिचानमा भेला भएक अधिकांश समूहहरुका छेउछाउ आफ्नो वर्गीय पहिचान बोकेर कमरेड मुक्ति डुलि रहयो । आँखाभरी नयाँ नयाँ उत्सुकता बोकेर हिँडिरहेको उसको अन्तरमनले चाँही देशले वर्गीय शोषण र उत्पीडनबाट जनतालाई मुक्ति दिलाउने संविधान पाओस् भन्ने कामना गरिरह्यो ।
वर्गीय असमानता, शोषण र उत्पीडन नै नेपाली समाजभित्रका सम्पूर्ण शोषण र उत्पीडनको मुल कारण हो भन्ने निष्कर्ष निकालेको थियो उसले । हिँड्दाहिँड्दै, नयाँ–नयाँ मान्छेहरुका अनुहार हेर्दाहेर्दै, विभिन्न विभिन्न किसिमका कुराहरु सुन्दासुन्दै बेलुकीको पाँच बजेको उसले पत्रै पाएन । संविधानसभन भवनको ढोकाबाट संविधान तत्काल बाहिर निस्कने सम्भावना नदेखेपछि ऊ भोको पेट लखतरान शरीर बोकेर रातीको आश्रय खोज्दै फेरि बालाजुतिर मोडियो ।
नभन्दै त्यो दिन राति ११ बजेसम्म संविधानसभाले आफ्नो गर्भबाट देश र जनताको निम्ति संविधान जन्माउन सकेन । बरु राति १२ बजनुभन्दा पहिल्यै देशका सरकार प्रमुखबाट आगामी मंसिर ७ गते अर्काे संविधानसभाको निर्वाचन गर्ने घोषणा पो भयो । रेडियोले सुनाएको यस्तो नमिठो समाचार सुनेर कमरेड मुक्र आफैंभित्र निकै दुःखी र आन्दोलित भयो । राति राम्ररी निदाउन सकेन ऊ ।
जेठ १५ बिहान सबेरै आँखाभरि अधकल्चो निद्रा बोकेर कमरेड मुक्ति हुर्तुराउँदै माछापोखरी चोक नजिकैको ‘गफगाफ’ चिया दोका तिर लम्कियो । गफगाफ चिया दोकान त्यस दिन पनि बिहानैदेखि खुलेको थियो । त्यही चिया दोकानको बाहिरपट्टी बेन्चमा बसेर मान्छेहरु चियाको चुस्कीसँगै विभिन्न विषयमा तर्कविर्तक गर्दै थिए । चियाको घुट्को र चुरोटको सर्काे पालैपालो तानिरहेका चार जना मान्छेहरुको बीचबाट शान्तरामले बोल्यो –
‘ऊ त्यै हैन, क्रान्तिका नायकका विरुद्ध लेख्ने ?
शान्तरामको मुखबाट निस्किएको यो वाक्य चिया दोकानतिरै लम्किरहेको कमरेड मुक्तिको कानमा ठोकिन आइपुग्यो ।
‘हो हो, त्यै हुतिहारा हो ! आफू क्यै गर्न नसक्ने, अरुले ग¥या नि देखी नसहने !’– पावरदार चस्माबाट आँखा तन्क्याउँदै इचछारामले भन्यो ।
यी शब्दहहरु ‘गफगाफ’ चिया दोकानको छेवैमा पुगिसकेको कमरेड मुक्तिको कानमा तातो झिरझै रोपियो ।
‘हैन ए सर, तपैंले के लेख्नु भो हँ, त्यस्तो चर्चित कुरा ? –चियाको गिलास हातमा लिएको विवेकरामले उत्सुकता भरिएका आफ्ना आँखालाई कमरेड मुक्तिको अनुहारमा चिप्लेटी खेलाउँदै सोध्यो र आफू बसिरहेको बेन्चको अर्काे छेउपट्टि सर्दै ‘लौ बसौंं सर’ पनि भन्यो ।
क्ेही निमेष यताउतिका अनुहारमा आँखा पु¥याउँदै बिताएपछि मुक्ति त्यही बेन्चको एक छेउमा टुसुक्क बस्यो । ‘के लेख्या त्यस्तो ? लेख्ने कुरा अरु क्यै पाएनौं ? क्रान्तिको नायकको छाला खुइल्या र तपैंलाई के फाइदा ? शिखर चुरोटको लामो सर्काे तानेर धुँवा उडाउँदै देशभक्तले सोध्यो ।
इति कुराहरु सुनिसकेको कमरेड मुक्तिको मनमा अनेकन विचारहरु पैदा भइसकेका थिए । आफ्नो छँदाछँदैको जागिर छोडेर क्रान्तिमा हिँडेको कमरेड मुक्तिले केही समय केही सोचे जस्तो गरेर बितायो ।
‘के लेखेको छु र त्यस्तो नभएको कुरा ? कमरेड मुक्तिको मुखबाट मसिनो स्वर निस्कियो ।
‘यौटा राष्ट्रिय साप्ताहिकमा छपाका हैनौ ? मैले त तिम्ले छपा कुरालाई कटिङ गरेर राख्या छु । लेख्न पाएँ भन्दैमा जे पनि लेख्ने अनि यही पार्टीमा नि बस्ने ? इच्छारामले आँखा तर्दै हप्कायो ।
कमरेड मुक्तिको आँखा इच्छारामको अनुहारमा सोझिए । इच्छारामको ख्याउटे अनुहारका चाउरीएका लुन्द्राहरु आक्रोशको कालो रङ भरिएको देखियो । अरुहरुका आँखा कमरेड मुक्तिको अनुहारमा सोहोरिन आइपुगे ।
कमरेड मुक्तिले मेसो मिलाएर अन्तष्करणको आवाज निकाल्यो । ‘मेरो मनमा लागेको कुरा, मैले देखेको कुरा लेखें । पार्टिको बारेमा, नेताहरुको बारेमा समर्थन र आलोचना गर्ने अधिकार मेरो पनि छ । हाम्रो पार्टी कुनै जमिन्दारको मौजा होइन । यो पार्टीका कार्यकर्ता कुनै जमिन्दारका हली र गोठाला पनि हैनन् । यो पार्टी र क्रान्तिमा मैले पसिना बगाएको छु । क्रानितमा होमिएर कयौं दुःख हण्डर खाएको छु । व्यक्तिगत रुपमा केही गर्न नसकेर यो पार्टीमा लागेको मान्छे हैन म । देश र जनताको लागि राम्रो होला भनेर स्कुलको हेडमास्टर छोडेर, सरकारी जागिर छोडेर क्रान्तिमा होमिएको मान्छु हुँ । तर अहिले पार्टी र क्रान्तिको हालत देखेर खेल्न मन लाग्यो, लेखें । ’
‘तिम्रा जस्ता त्याग हाम्ले नी ग¥या छौं भाइ । बढी नखोक, हेडक्वाटरलाई यसरी गाली गरेर यै पार्टीमा बस्न सुहाउँछ ?’ इच्छारामले आँखा पल्टाउँदै र निधार खुम्च्याउँदै भन्यो ।
इतिकैमा राष्ट्रसेवकको मुखबाट चट्याङ गर्जेझैं आवाज निस्कियो –बढी कुरा नगर् हेर मुक्ते, फकाल्दिँला तेरा बङगारा ! हेडक्वाटरको विरुद्ध लेखेर, हाम्रा नायकको विरुद्ध लेखेर आफूलाई बडो क्रान्तिकारी हुँ भन्छस् ?’
कमरेड मुक्तिका आँखा राष्ट्रसेवक तिर केन्द्रित भए । राष्ट्रसेवकले आफ्ना दुवै हातका औंला खुम्च्याएर मुठी दह्रो बनाइरहेको थियो । कमरेड मुक्तिले राष्ट्रसेवकको आँखामा गोमन साँपको आँखा अवतरित भएको देख्यो ।
तर त्यत्रो क्रान्ति लडेर आएको कमरेड मुक्ति पनि के कम थियो र !
रिन लागेर अरु पार्टीले नपत्यार घरमा खान लाउन नपार क्रान्तिमा हिँड्या होइन म, बुझ्नु भो । पार्टि र आन्दोलनमा लागेर कुनै बद्मासी गरेको छैन । यही नेतृत्वले धोका नदेला भनेर क्रान्तिमा हिँडेको हुँ । यही आन्दोलन र क्रान्ति भनेर आफ्नो जीवनको उर्वर उमेर सिध्याएँ । मैले किन पार्टी छोड्ने ? हिजोको नीति सिद्धान्त छाड्नेले बरु पार्टी छाड्नुपर्छ । १५ हजारभन्दा बढी शहीदका रगतलाई लत्याएर हिँड्नेले बरु पार्टी छोड्नुपर्छ । के यस्तै व्यवस्था र यस्तै नेता बनाउनको लागि ती शहिदहरुले जीवन आहुति गरेका थिए ?’ निर्धक्क भएर कमरेड मुक्तिले भन्यो ।
नजिकै बसेर कुरा सुन्दै चिया पिइरहो एक जना भरिया दाईले प्याच्चै भन्यो – नेताको जीवना परिवर्तन भो, हाम्रा जीवनाँ परिवर्तन भएन । हिजो हामी जस्तो थेम, आज हाम्रो हालत हिजो भन्दा बढी झन् खराबभोको छ ।’
यसपछि पसलेले फ्याट्ट भन्यो–मुक्ति सरले भनेको कुरा ठिकै त हो नि । १५ हजार मान्छे मारेर, ३ हजार भन्दा बढी मान्छे बेपत्ता बनार खरबौंको भौतिक संरचनाहरु ध्वसं बनार जनताका हजारौं छोराछोरीलाई बिचल्ली बनार गरिब जनता र देशकमा खोई परिवर्तन भो ?’
उनीहरुका कुरा चुपचाप सुनिरहेको विवेकरामले गम्भीरतापूर्वक भन्यो–‘जनताले यीनका विरुद्धमा फेरि अर्काे पार्टी बनाउँछन्, अर्काे नेता बनाउँछन् ! जनता कसैका दास होइनन् । जनताहरु त जुन पार्टी र जुन नेता असल छन् त्यसमै लाग्छन्, हामी पनि त्यसमै लाग्छौं ।’
विवेकरामको कुरा सुनेर कमरेड मुक्तिको अनुहारमा एक पत्र खुसी पोतियो । भरियादाइ पनि मुसुक्क हाँस्यो । वातावरण यसरी बिस्तारै कमरेड मुक्तिको पक्षमा बलियो बन्न थाल्यो । शान्तराम, इच्छाराम, र राष्ट्रसेवकको पक्षमा बोलिदिने मान्छे त्यतिबेला कोही देखा परेन ।
जाऔं, यस्तोको मुख हेरेर के बस्नु ?’ राष्ट्रसेवकले शान्तराम र इच्छारामको अनुहारलाई नियाल्दै भन्यो ।
राष्ट्रसेवकको आग्रहलाई शिरोपर गर्दै शान्तराम र इच्छाराम जुरुक्क उठे । उनीहरु तीन जनाले खाएको चिया र चुरोटको पैसा राष्ट्रसेवकले नै ति¥यो । यसपछि हारेको कमाण्डरझैं राष्ट्रसेवक अघि लाग्यो शान्तराम र इच्छाराम सिपाही झैं उसको पछि लागे ।
इस्ता बदमासहरुको बोलबोला हुन थालेपछि तपैंहरु जस्ताको के औचित्य हुन्छ र सर तपैंको पार्टीमा । विवेकरामले चियाको अन्तिम घुट्को निल्दै भन्यो ।
‘पसलेले थप्यो– हो त नी !’
‘यस्तै यस्तै नेतार कार्यकर्ताले त हो नी त्यत्रो क्रान्ति गरेर आएको पार्टीलाई यस्तो हालतको पार्टी बनाएको । नेतृत्वले गरेका कमजोरीहरुप्रति औंला ठड्याएको भए नेताहरुले जे मन लाग्यो त्यही गर्न पाउँदैनथे । पार्टी गतिलो बन्थ्यो ।’– कमरेड मुक्तिले गम्भीरतापूर्वक भन्यो ।
पसलेले पनि प्रसङ्ग मिलाएर भन्यो ।
त्यत्तिमात्रै हो र ! त्यो शान्तराम त जुन पार्टी सत्तामा पुग्छ उसकै पछि लाग्छ । ठेकेदारी काम गर्छ । ठूला नेता र मन्त्रीहरुसम्म पहुँच भएका कार्यकर्ताहरुको पछि लाग्छ । यस्ता कार्यकर्ताहरुको निम्ति अन्न–पानीको व्यवस्था पनि मिलाई दिन्छ । पैसाले भरिएका ब्रिफकेस बोकेर नेता र मन्त्रीका कोठा–कोठा चहाद्र्ध । मेरै गाउँको मान्छे हो त्यो, पैसा त कति कमायो कमायो । अरु ठेकेदारले सम्पन्न गरेका योजनाहरु एक वर्ष टिक्छन् भने यसले बनाएको चाही छ महिनासम्म पनि टिक्दैनन् । अचेल त ऊ क्रान्तिकारी पार्टीको सदस्य बनेर ठेकेदार संगठनको जिल्ला नेता बनेको छ भनने सुनेको छु ।’
विवेकरामले इच्छारामको इतिहास सुनाइदियो ।
हेर्नुस् न, कत्ति न ठूलो मान्छे भएँ भन्छ त्यो इच्छाराम पनि । पञ्चायति शासनभरी त्यो इच्छाराम पञ्चे नेताका दास जस्तै बन्यो देशमा बहुदल आएपछि पञ्चहरुले पनि पार्टी खोले । पञ्चे पार्टीमा लाग्नुपर्छ भन्दै आफूले भनेको मान्ने मान्छेहरुलाई पञ्च नेताहरुको घरसम्म पु¥याएर पञ्चे पार्टीको सदस्यता थमाउन थाल्यो । पञ्चे पार्टीले आफुलाई संसद्को टिकट नदिएपछि चुनावमा स्वतन्त्र उम्मेदवार बन्यो र मयुर चिन्ह लिएर भोट माग्दै हिँड्यो । कसैले पत्याएनन् चुनाव हा¥यो । राखेको धरौटी पनि फिर्ता पाएन । उद्योग व्यवसाय गरेर खाने हुति नभएको मान्छे त्यो । चुनावमा लागेको रिन तिर्ने कुनै उपाय भएन उसको । साहुहरुले ताकेत ागर्न थालेपछि शहरको डेरा छोडेर अन्यत्रै बस्न थाल्यो । यसरी पनि ऋण तिर्ने कुनै उपाय फेला नपारेपछि भूमिगत भएर हिँड्यो । पछि युद्धविराम भयो । युद्धविरामको अवधिमा साहूहरुलाई तर्साएर आफूले ऋण लिँदा गरेको तमसुक साहूका हातबाट लियो र सबै च्यात्यो । पछि शान्ति सम्झौता भयो । पाँच वर्ष क्रान्तिमा हिँड्दा लाखौं सम्पत्ति कमायो उसले ।’
‘यसरी भारी बोकेर, पसिना बगाएर कमाको पैसाले किनेको अन्न खुवार क्रान्तिमा हिँडेका कयौं मान्छेलाई घरै पालें । चुनाउमा पनि यसै पार्टीलाई भोट हालें । त्यति धेरै सहयोग गरे भोट खेर गो । अव त किन दिउला र यिनलाई भोट । ’बसिरहेको ठाउँबाट नाम्लो च्याप्दै हिँड्यो ।
आफूले खाएको एक कप चिया र एउटा दुनोटको पैसा तिरेपछि भरियादाई दायँ हातले नाम्लो च्याप्दै हिँड्यो ।
कमरेड मुक्तिले पनि आफूले आएको एक कप चियो र एउटा दुनोटको पैसा पसलेको हात राखिदियो ।
‘अस्ति बेलुका गाउँबाट आएको । आजै गाउँ जानु छ, लौ अब म पनि हिँडे । मुसुक्क हाँसेर कमरेड मुक्तिले भन्यो र फटाफट हिँड्यो ।
पसलेदाइ र विवेकरामका अाँखा केहीबेरसम्म कमरेड मुक्तिको पछिपछि हिँडिरहे ।

वि.सं.२०७३ असोज २१ शुक्रवार १३:०२ मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

लघुकथा : विपर्यय

लघुकथा : विपर्यय

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मेरो निधारमा परेको नरम...

लघुकथाः पायस (सोह्र श्राद्ध विशेष)

लघुकथाः पायस (सोह्र श्राद्ध विशेष)

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘खै पासय तयार भएन...

लघुकथा : परदेशी

लघुकथा : परदेशी

सुरेशकुमार पाण्डे, दाङ घोराही ‘रेश्मी आजैको फ्लाइटमा स्वदेश फर्किंदै छु...

लघुकथाः खल्को

लघुकथाः खल्को

मनिषकुमार शर्मा समित, भक्तपुर लगातारको ढोकामा आएको ढकढक आवाजले ऊ...