back
CTIZAN AD

आफन्तबाटै आफन्तको ज्यान जान्छ भने कहाँ छ सुरक्षा ?

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

738 

shares

२५ कात्तिक, लिबाङ (रोल्पा) । भनिन्छ मानिस सामाजिक प्राणी हो । ऊ घर परिवार र समाज बिना एकपल पनि बाँच्न सक्दैन । तर परिवारकै सदस्यले वा आफन्तले नै आफन्तको ज्यान लिन्छ भने कहाँ गएर मान्छेले जीवन सुरक्षाको अनुभूति गर्ने ? प्रश्न यहीनेर खडा भएको छ रोल्पालीका सामु ।

जिल्ला अदालत रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र पाँच वटा कर्तव्य ज्यान र एउटा भवितव्य ज्यान गरी जम्मा छ वटा ज्यानसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला अदालत रोल्पाका मुद्दा फाँटका खरिदार दीपेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यी सबै मुद्दाका अभियुक्तहरु आफन्तकै ज्यान लिएको अभियोगमा जेल जीवन बिताउन बाध्य भएका छन् ।

जसअन्तर्गत नुवागाउँ–८ भलाजुङ रोल्पाका ५५ वर्षीय ओसबहादुर बुढाले ४७ वर्षीय श्रीमती मनसरी घर्तीमगरको २०७३ साउन ८ गते धारिलो खुर्पा प्रयोग गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । खुर्पा प्रयोग गर्नुअघि पनि बुढाले श्रीमतीलाई पटक पटक कुटपिट गर्ने तथा शारीरिक र मानसिक रुपमा यातना दिने गरेको अनुसन्धानका क्रममा खुलेको खरिदार श्रेष्ठले बताउनुभयो ।

यस्तै इरिबाङ–३ रोल्पाकी २५ वर्षीया विमला पुनमगर र उहाँका देवर नाता पर्ने २१ वर्षीय गोविन्द पुनमगरको मिलेमतोमा विमलाका सौताका छोरा १२ वर्षीय भरत घर्तीको २०७३ साउन १० गते हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि विमला र भरतलाई थुनामा राखेको छ । श्रीमान् विदेश गएका बेला विमला र गोविन्दको बीचको अनैतिक सम्बन्ध पटक पटक बच्चाले देखेको र उसले समाजमा सबैसँग खुलासा गर्ने डरले विमला र गोविन्दले बच्चाको घाँटी थिचेर मारेको अभियोगमा प्रहरीले पक्राउ गरी उनीहरुलाई थुनामा राखेको हो ।

यस्तै जौलिपोखरी–२ रोल्पाका ३३ वर्षीय बलबहादुर बुढाले सोही गाविसका ६० वर्षीय भिनाजु खरवीर बस्नेतलाई २०७३ भदौ २ गते सामुदायिक वनको विषयमा भएको विवाद चुलिँदै जाँदा रिसको झोकमा ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

यसैगरी जेदबाङ–८ रोल्पाकी ६३ वर्षीय मनसरी विकले २०७३ साउन २७ गते आफ्नै नाति (छोरीको छोरा) ११ वर्षीय दिनेश बुढालाई कुटपिट गरी मारेको अभियोगमा पक्राउ गरी थप अनुसन्धानका लागि थुनामा राखिएको छ । विककी छोरीले दोस्रो बिहे गरेर गएपछि विकले नातिलाई आफँैसँग राख्दै आउनुभएको थियो । उहाँले नातिलाई यसअघि पटक पटक धम्की दिने तथा कुटपिट गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको देखिन्छ ।

यसैगरी २०७३ असोज २५ गते दसैँको टीकाकै दिन राति खुमेल–४ रोल्पाकी धना बुढाथोकीले आफ्नै नातिनी सात वर्षीय झकमा बुढाथोकीलाई दाउराले कम्मरमा बेसरी प्रहार गरी मारेको अभियोगमा प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।

यस्तै जंकोट–७ रोल्पाकी ३० वर्षीय साली पर्ने दलसरी डाँगी र जंकोट–३ रोल्पाका भिनाजु पर्ने ३६ वर्षीय सुरेन्द्रकुमार पुनको अवैध सम्बन्ध रहन गई जन्मेको बच्चा मारेर बारीमा गाडेको अभियोगमा प्रहरीले डाँगी र पुन दुवैलाई भवितव्य ज्यान मुद्दाको अभियोगमा थप अनुसन्धानका लागि थुनामा राख्यो । तर हाल उहाँहरु दुवै जनालाई रु ४५ हजार धरौटीमा थुना मुक्त गरेको मुद्दा फाँटका खरिदार टुकलाल विकले जानकारी दिनुभयो । उहाँका अनुसार डाँगीका श्रीमान्को सवारी दुर्घटनामा परी २०६६ सालमा दुवइमा मृत्यु भइसकेको छ ।

“यसरी घटेका सबैजसो घटना अवैध सम्बन्धका कारण घटेको देखिन्छ”, जिल्ला अदालत रोल्पाका नायब सुब्बा दामोदर दाहालले भन्नुभयो । उहाँका अनुसार अज्ञानता, अशिक्षा, पारिवारिक असमझदारी, सामजिक विकृति, मादक पदार्थको सेवन आदि कारणले समाजमा यस किसिमका घटना घट्ने गरेका हुन् । माथि उल्लिखित सबै मुद्दा जिल्ला अदालत रोल्पामा चालु अवस्थामा छन् । जसका लागि वादीतर्फबाट सर्वश्वसहित जन्मकैद मागदाबी रहेका मुद्दा अदालतबाट फैसला हुन बाँकी छन् ।

यस्तै जिल्ला अदालत रोल्पाका डिट्ठा केशवकुमार केसीले जिल्ला अदालत रोल्पामा काम गर्दाको करिब चार वर्षको अनुभव सुनाउँदै भन्नुभयो – “जिल्लामा धेरैजसो घटना पारिवारिक र सामुदायिक विवादका कारण नै घटेका पाइन्छन् भने कतिपय घटना व्यक्तिगत रिसइबीको बदला लिन खोज्दा वा आफूले गरेका गल्ती कमजोरीलाई लुकाउने प्रयास गर्दा यस किसिमका घटना घट्ने गरेका छन् । रासस

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ०९:३४ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...