back
CTIZAN AD

पर्वतका आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र

वि.सं.२०७६ वैशाख १० मंगलवार

570 

shares

१० वैशाख , पर्वत ।  बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला बन्दीगृह, सदरमुकाम कुश्माबजारमा बसपार्क निर्माण, घुम्ती–खनियाघाट, भुरुङ्दीखोला पुल, ठुलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायतका योजना छन् ।

साविकको धवलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । दश वर्ष अगाडि रु ७२ लाखको योजनामा बन्दीगृह निर्माणको काम शुरु गरिएको थियो । तर रु १४ लाख मात्र बजेट आएपछि निर्माणाधीन अवस्थामै बन्दीगृह अलपत्र परेको छ । रु १४ लाखले गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँटाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् । उक्त गृहमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका महिला बन्दीलाई राख्न मिल्ने गरी निर्माण गर्न शुरु गरिएको थियो ।

त्यसैगरी सदरमुकाम कुशमाबजारमा निर्माणाधीन बसपार्कसमेत लामो समयदेखि अलपत्र अवस्थामा छ । धवलागिरिका चार जिल्लामा आउजाउ गर्ने सयौँका सङ्ख्याका सवारीसाधन पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् । तत्कालीन अवस्थामा रु एक करोड ५९ लाख बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले बसपार्क निर्माणका लागि पहल गरे पनि बजेट अभाव भएकै कारण पर्वत जिल्लाले व्यवस्थित बसपार्क पाउन सकेको छैन ।

त्यसैगरी विसं २०६३ मा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी रु एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो । निर्माण पूरा भएर एक वर्षसम्म विद्युत् उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ । केन्द्रबाट विद्युत् उत्पादन गर्न बन्द भएसँगै केन्द्रमा जोडिएका लाखौँ मूल्यका सामग्री अलपत्र छन् । कतिपय मेसिनरी सामग्रीको अब अवशेष मात्र बाँकी रहेका छन् । निर्माणका बेलामा रु एक करोडको लगानी गरिएको भए पनि त्यसपछि आवश्यक मर्मत र सुधारका लागि कतैबाट पनि बजेट नगएपछि मर्मतकै अभावमा एक वर्षमै केन्द्र अलपत्र बनेको हो ।

यता जिल्लाको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विसं २०५२ मा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । तेइस वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीयवासी झन्डै ४०० बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो । पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो । तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो । करीब एक वर्षसम्म धारामा पानी आयो तर त्यसपछि विस्तारै धारामा पानी आउन छोड्यो । अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराको त अवशेष पनि बाँकी छैन ।

वडाध्यक्ष राजेन्द्र पौडेलका अनुसार टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाइकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

जिल्लाको कुश्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्र्याक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो । विसं २०७३ मा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ को असारसम्ममा कालोपत्रसहित सडकको काम सक्ने गरी रु छ करोड ९६ लाख ९० हजार ६३१ मा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधीन पुल झण्डै चार वर्षअघि निर्माण शुरु भए पनि अलपत्र रहेको छ । निर्माण शुरु भएको केही महीनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका थिए । रु छ करोड १३ लाखको लागतमा बन्न लागेको पुल चालू आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ ।

आफ्नै पक्की भवन निर्माण शुरु
लामो समयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको मोदी गाउँपालिकाको भवन निर्माण शुरु भएको छ । गाउँपालिका–२ देउपुरमा गाउँलेको सहयोगमा खरीद गरिएको जग्गामा भवन निर्माण शुरु गरिएको हो । आठकोठे उक्त भवनको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए ।

रु ७२ लाखको लागत अनुमानमा भवन निर्माणकार्य शुरु भएको हो । गाउँपालिकाको व्यवस्थित भवन निर्माण पछि गरिने भए पनि अहिले तत्कालका लागि थोरै लागत खर्चमा सानो भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । उनले गत आर्थिक वर्षमा विनियोजित चालू खर्चबाट बचेको रु ६२ लाख र थप स्रोत रु १० लाख गरी भवन निर्माण थालिएको बताएका छन् । गत वर्षको अनुगमन, बैठक भत्ता, अन्य खर्चलगायतबाट उक्त रकम गाउँपालिकाले जम्मा गरेको थियो ।

भवन शिलान्यास कार्यक्रममा मन्त्री लम्सालले गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा एउटै मोडेलका भवन निर्माण गर्नका लागि प्रदेश सरकारले आवश्यक तयारी गरेको बताए । उनले जबसम्म सुविधासम्पन्न कार्यालय निर्माण हुन सक्दैन तबसम्म अन्य काम पनि गर्न नसकिने बताउँदै पहिलो चरणमा ५८ गाउँपालिका र दोस्रो चरणमा नगरपालिकाका र महानगरपालिका कार्यालय व्यवस्थित गर्नका लागि सरकारले योजना बनाएको जानकारी दिएका छन् । उनले आगामी वर्षदेखि सबै स्थानीय तहमा आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिने बताएका छन् । उनले गण्डकी प्रदेशलाई मुलुककै नमूना प्रदेशको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे ।

भाडाको साँघुरो भवनमा सञ्चालन गरेको एउटा कार्यालयमा सबै शाखा सञ्चालन गर्न समस्या भएको छ । सेवाग्राहीलाई एउटै सेवा लिनका लागि विभिन्न घरमा रहेका शाखामा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै अहिलेका लागि आठ र अर्को वर्ष थप आठ गरी १६ कोठाको भवन निर्माण गर्न थालिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

भवन निर्माणका लागि सरकारी जग्गा नभएपछि गत वर्ष स्थानीयवासीले रकम सङ्कलन गरी जग्गा खरीद गरिदिएका थिए । झण्डै रु एक करोड सङ्कलन गरेर जग्गा व्यवस्थापन गरिएको थियो । उक्त कार्यालय निर्माण भएपछि गाउँपालिकाका सबै शाखा एउटै भवनबाट सञ्चालन गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिएका छन् ।

वि.सं.२०७६ वैशाख १० मंगलवार ०९:४४ मा प्रकाशित

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न

गोरखा । उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ...

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य...

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब...

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली । प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट (उदयपुर) । जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग...

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः दिउँसो २ बजेसम्म ३३.४१ प्रतिशत मतदान

काठमाडौँ । दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत...