वैदेशिक रोजगारीका क्रममा साउदी पुगेका ९ नेपाली अलपत्र परेको खबर छ । आफन्त अलपत्र परेपछि नेपालमा रहेका उनीहरुको परिवारले उद्धारका लागि अनुरोध गर्दै नेपाली साझा मञ्चसँग अनुरोध गरेका छन् । मञ्चकी केन्द्रीय कार्यबाहक अध्यक्ष शारदा भुषाल झाले पीडितका आफन्तले मञ्चलाई निवेदन दिएको बताइन् ।
भुपेन्द्र पुन मगर, राजकुमार तिमलसिना, ललित वि.क, प्रमोद कुमार यादव, रामनारायण सदाय, भिमबहादुर प्रदान, रामप्रसाद बुढाथोकी, अशोक मोक्तान, रोहन तामाङ गतपुष १८ गते गौसलास्थित अल सोफी म्यानपावरबाट जनही १ लाख ५० हजार सम्म तिरेर साउदी पुगेका थिए । साउदी अरबको थेमर भन्ने कम्पनीमा काम गर्ने सम्झौता गरि पठाइएको सो कम्पनीमा नभई S.G.B AL. Dabal Co.Ltd मा स्काई फोल्डिङको काममा लगाइएको र हाल उनीहरुलाई ग्याँस प्लान र अन्य काममा लगाइएको आफन्तले बताए । उनीहरुले गएको मितीदेखि हालसम्म कम्पनीबाट पाउने सेवा सुविधा र सम्झौता अनुसारको काम नपाउनुको साथै कामगरेको पारिश्रमिक समेत नपाएको आफन्तको भनाइ छ । तलब र सेवा सुविधा माग्दा उल्टै खान बस्न नदिने मानसिक तथा भौतिक रुपमा तनाब दिने गरेको उनीहरुले बताए । यसबारे जानकारी गराउँदै म्यानपावरमा सम्पर्क गर्दा उल्टो कामदारहरुले लगाएको आरोप झुटो भएको र सम्झौता अनुसार नै सेवा सुविधा पाइरहेको भन्दै उम्कन खोजेको उनीहरुले निवेदनमा उल्लेख गरेका छन् ।
उनीहरुले वैदेशिक रोजगार विभागमा समेत निवेदन दिएका छन् । तर विभागले उद्धारको काममा आलटाल भएको भन्दै आफन्तहरुले मञ्चमार्फत पीडितको स्वदेश फिर्ताका लागि अनुरोध गरेका हुन् ।
मञ्चका साउदी संयोजक विष्णु घिमिरेमार्फत राजदुतावासलाई जानकारी गराइ उद्धारका लागि पहलको प्रयास गरिएको नेपाली साझा मंच अन्तर्राष्ट्रिय समन्वय समिति संयोजक महेश श्रेष्ठले जानकारी दिए।
वि.सं.२०७६ वैशाख १० मंगलवार १५:४३ मा प्रकाशित






























