
नेपालको बाम तथा प्रजातान्त्रीक आन्दोलनमा सोमनाथ प्यासी(Somnath Pyasi)को छुट्टै पहिचान र परिचय रहेको छ । प्यासी राष्ट्रिय पन्चायत देखि बहुदलीय व्यवस्थामा गरेर दुई पटक सांसद बनिसकेका छन् । प्यासी हाल शत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य छन् । पछिल्लो समयमा संसदीय मोर्चामा नरहेका प्यासीले संसदीय अनुभव र हालको राजनैतिक अवस्था बारे सन्सारन्युजसँग अनुभव साटेका छन् । प्रस्तुत छ नेता प्यासीसँग गरिएको कुराकानीको सम्पादित अंश –
हाल संसदीय मोर्चामा हुनुहुन्न, के मा ब्यस्त हुनुहुन्छ ?
हो, पछिल्लो समयमा म संसदीय फाँटमा छैन । तर सांसद नभएपनि जनतासँगै छु । जनताकै काममा जुटिरहेको छु । जनताबाट टाढा छैन ।
शत्तासीन दलको नेताको रुपमा अहिले सरकार र पार्टीको सन्चालन कसरी भएको जस्तो लाग्छ ?
नेपालको इतिहासमा पहिलो पटक शासक र प्रणाली एकै पटक परिवर्तन भएको छ । यस्तो अवस्थामा एकै पटक ढोका खुलाउँदा लामखुट्टेहरु घर भित्र पस्ने सम्भावना रहन्छ । हाम्रोमा पनि अहिले यस्तै देखिएको छ । अहिले यस्ता लामखुट्टेहरुलाई समय छंदै नियन्त्रण गर्नु आवश्यक छ ।
उत्तर अलि अमुर्त भयो मूर्त विश्लेषण गर्नुहोस न ?
होइन, मैले वास्तविक कुरा गरेको हुुँ । नेपालको राजनैतिक नेतृत्वलाई पछिल्लो समयमा विभिन्न किसिमका लोभिपापीहरुले नियन्त्रण गर्न थालेका छन् । हाम्रो पार्टी र सरकार पनि त्यस्तो समूहबाट अछुतो छैन । लोभिपापीहरुको समूहबाट टाढा रहन सके हालको सरकार र पार्टीको नेतृत्वबाट देश कायापलट हुन सक्ने अथाह सम्भावना छ ।
तर सबै बिग्रीयो, सत्यानासै भयो भनेर भनिदै छ त ?
मलाई त त्यस्तो लाग्दैन । बषौसम्म थुप्रिएको फोहोर जादुको छडिका भरमा सफा गर्न सम्भव थिएन । सरकारले काम शुरु गरेको छ । नीति तथा कार्यक्रम भर्खर आएको छ । नीति तथा कार्यक्रमले जेठ पन्ध्रमा आउने बजेट जनपक्षीय हुन्छ भन्ने सङकेत गरीसकेको छ । सरकारले यो एक बर्ष फोहोर सफा गर्यो अब देखिने गरी काम गर्दछ ।
प्रसङ्ग बदलौँ, अलिकति इतिहासतिर लागौं, तपाई कम्युनिष्ट पार्टीप्रति कसरी आकर्षीत हुनुभयो ?
म मध्यम बर्गिय परीवारको मान्छे भएकोले जहिल्यै अग्रगमन र प्रगति मात्र सोच्थे । मेरो यो सोचमा चिनीया साहित्य, पुष्पलालको आर्दश र बलराम उपाध्यायको संगत परेपछि कम्युनिष्ट बन्न सहज भयो । यसैक्रममा कम्यनिष्ट पार्टी खोजे । तर कतै कम्युनिष्ट पार्टी नभेटेपछि आफै माले क्रान्तीकारी दल गठन गरेर सक्रिय भएँ । यसै दलको विद्यार्थी मोर्चाबाट दुई पटक पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति समेत भएँ । पछि सोहि दलको नेकपा मालेसँग एकता भयो ।
तपाई त लामो समयसम्म शिक्षण पेशामा रहनु भयो, शिक्षण र राजनीति कसरी सँगसँगै अगाडी बढ्यो ?
०२८ सालमा गिरफ्तार भएँ । छुटे पछि म्याग्दीमा गएर पढाउन थालियो । दिनभर विद्यार्थीहरुसँग रातभरी किसानहरुसँग बसेर संगठन गरियो । यो बीचमा म्याग्दीका राष्ट्रीय पन्चायत सदस्य भिम र जगत गौचनले लगाएको सयौ रोपनी चरेश खेती मासेर स्थानिय किसानलाई मकै खेति गर्न लगायौँ । यसले शासकहरुको ज्यादति विरुद्ध जनतालाई संगठित गर्यो । जनताले हामीमाथि विश्वास गर्ने वातावरण तयार पार्यो । शिक्षण पेशालाई मैले सधै जनसेवामा प्रयोग गरेकोले शिक्षण पेशा र राजनीतिलाई एउटै मार्गमा लिएर हिड्न सफल भए ।
पछि आफै राष्ट्रीय पन्चायत सदस्य हुनुभयो आफूलाई शासक बने जस्तो लागेन ?
निर्वाचन लड्दै जनपक्षीय भएर चुनावमा भाग लिएकोले यस्तो सोच आउने कुरै भएन । विगत देखि नै जनताको बिचमा रहेकोले रापस निर्वाचित भएपछि त झन जनताप्रतिको जिम्मेवारी बढेको अनुभव भयो ।
राष्ट्रीय पन्चायत र बहुदलका निर्वाचनमा समेत बिजयी हुनु भयो यी निर्वाचनका बिचमा केहि फरक पाउनु भयो ?
यि दुवै निर्वाचिन प्रणालीमै तात्वीक अन्तर छ । रापसको निर्वाचन ब्यक्तीहरु बिच हुन्थ्यो । पन्चायतका जनबर्गिय संगठनमा सदस्य हुनु पर्दथ्यो । बहुदलमा पार्टीको उमेदवार भएर लडियो । बहुदलमा पार्टी स्वतन्त्र थिए, पन्चायतमा पार्टी माथि प्रतिबन्ध थियो ।
अहिले चुनाब असाध्यै खर्चिलो भयो भनिन्छ ०४३ र ०४८ मा कस्तो थियो?
म चुनाव लड्दा त चुनाव असाध्यै सहज र सुलभ थियो । ०४३ को रापस चुनावमा मेरो एक पैसा खर्च भएन । ०४८ मा पनि बिना खर्च मैले चुनाव जितेको हुँ । खासगरी पहिलो संविधानसभा पछि मात्रै निर्वाचन खर्चिला भएका हुन, त्यसभन्दा अगाडि त्यस्तो अवस्था थिएन ।
त्यतिवेला सांसदको सेवा सुविधा कस्तो थियो ?
समय अनुसार ठिकै भन्नुपर्ला । ०४३ मा माननीय हुँदा २ हजार पाँचसय तलब थियो, ०४८ मा यो बढेर ५ हजार ६ सय पुग्यो । त्यतिबेला मतदाता कार्यकर्ता काठमाण्डौ आएपछि माननीयकोमा डेरा जमाएर बस्ने चलन थियो । मतदाता कार्यकर्तालाई भात खुवाउँदा सबै तलबभत्ता सकिएर आफू रित्तै भएकै कारण ससुरालीबाट ससुराले महिनाभरलाई पुग्ने दाल, चामल र तेल पठाइदिन थालेपछि बल्ल ढुक्कले भात खाएको अनुभव मसँग छ ।
वि.सं.२०७६ जेठ १२ आइतवार १४:३४ मा प्रकाशित

























