पाँचखाल नपाले कृषकका लागि हाल २२४ वटा मौरी घार व्यवस्था गरेको छ । वडा ९ नं स्थित पलाञ्चोकबाट घार वितरण थालिएको हो ।
१८ जेठ, काठमाडौँ । जिल्लास्थित पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिका ‘एक घर, एक मौरीघार’ अभियानमा जुटेका छन् । कृषि नगर पाँचखाल र अर्गानिकोन्मुख भुम्लु गाउँपालिका आफ्नो क्षेत्रमा मौरीपालनको सम्भावना रहेको जनाउँदै मौरीघार वितरण थालेका हुन् ।
पाँचखाल नपाले कृषकका लागि हाल २२४ वटा मौरी घार व्यवस्था गरेको छ । वडा ९ नं स्थित पलाञ्चोकबाट घार वितरण थालिएको हो । ‘‘क्रमैसँग सबै नगरवासीलाई मौरीपालन गर्न घार वितरण गर्दै जानेछौँ’’ नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार यस वर्ष नगरका सबैका घरमा एक घर, एक मौरीघार व्यवस्था गर्ने र केही वर्षमै प्रत्येक घरमा कम्तिमा पाँचवटा मौरीघार भइसक्नेछ ।
अभियानअन्तर्गत मौरीको संरक्षण, मह उत्पादन तथा घार वृद्धिका लागि नगरले आवश्यक प्राविधिक व्यवस्था गर्ने प्रमुख खरेलले बताए । उनले भने, ‘‘मौरीपालक कृषकलाई समेत दक्ष बनाउन यससम्बन्धी तालीमको तयारी गर्दैछौँ ।’’ उनका अनुसार प्रारम्भिक चरणमा नगरभित्रका आर्थिक अवस्था कमजोर भएकालाई वितरण गरिएको छ ।
नगरभित्र मौरीपालन गर्न उपयुक्त देखिएको स्थानलाई ‘मौरी हब’को रुपमा विकसित गर्दै जाने नगरपालिकाले योजना बनाएको छ । प्रारम्भिक अध्ययनमा वडा नं ७, ८, ९, ११ र १३ लाई मौरी हब बनाउन सकिनेछ । नगरपालिकाका कृषि शाखा प्रमुख ईश्वर अधिकारीका अनुसार मौरी हब बनाउन प्राविधिकको व्यवस्था गरी कृषकलाई तालीम दिलाउने र मौरीका लागि उपयुक्त वृक्षरोपण तथा पूmलखेती गराउन योजना बनाइँदैछ ।
भुम्लु गाउँपालिकाले पनि ‘एक घर, एक मौरीघार’का लागि गत सोमबार २५ परिवारलाई मौरी घार वितरण गरी अभियान शुरु गरेको छ । कृषकलाई दुईदिने मौरीपालन तालीम दिई मौरीघार वितरण गरिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कँवुरले बताए । उनले भने, ‘‘विपन्न परिवारलाई यसैबाट जीविकोपार्जनको सम्भावना देखिएकाले एक घर एक मौरीघार व्यवस्थान गर्छौँ ।’’
वि.सं.२०७६ जेठ १८ शनिवार १३:१९ मा प्रकाशित





























