back

पर्यटक लोभ्याउने ठिनी गाउँको यस्ता छन् विशेषता

वि.सं.२०७६ जेठ २९ बुधवार

1.9K 

shares

बाग्लुङ । जोमसोम बजारको दक्षिणपट्टि एउटा रमणीय गाउँ छ, ठिनी । गाउँलेले ठिनीलाई ‘लुकेको हीरा’ मान्छन् । नीलगिरि हिमालको काखैमा छ, ठिनी गाउँ ।

ठिनीको चिनारी प्राकृतिक सौन्दर्य र भू–वनोटमा मात्र समेटिन्न । इतिहास, संस्कृति र प्राकृतिक सौन्दर्यले ठिनी सिँगारिएको छ । थकाली बाहुल्य ठिनी गाउँ मुस्ताङको उदाउँदो पर्यटकीय गन्तव्य हो ।

मुस्ताङ घुम्नेले ठिनीलाई लक्ष्य बनाउन थालेका छन् । जोमसोमदेखि दुई किमि दूरीमा उक्त गाउँ छ । जीप, मोटरसाइकलमा सजिलै पुग्न सकिन्छ । पैदल ३० मिनेट लाग्छ । वरिपरिका हिमाल, पठार र कन्दरा आँखामा सजाउँदै ठिनी पुगिन्छ ।

गाउँको सिरानमा पुग्दा लाग्छ, नीलगिरि आँखै अघि उभिएजस्तो । तलपट्टि छ शान्त र मनमोहक ठिनी गाउँ । जसले पर्यटक लोभ्याउँछ अनि भुलाउँछ । घरपझोङ गाउँपालिका–५ स्थित ठिनीको पर्यटन प्रवद्र्धनमा गाउँले कस्सिएका छन् ।

ठिनीसहित नजिकका सम्पदा संरक्षणको काम भइरहेको छ । उक्त गाउँलाई केन्द्रमा राखेर आसपासको पर्यटन विकासमा स्थानीयवासी जुटेका छन् । नजिकमा ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय गन्तव्य छन् ।

त्यहाँ थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय छ । थकाली सामुदायिक घरवास (होमस्टे) अर्को आकर्षण हो । जम्मा १२ घरमा घरवास सुविधा छ । “पाहुनालाई थकाली खाना खुवाउँछौँ”, घरवास सञ्चालक समितिका सचिव जुमा थकालीले भने ।

फापरको ढिँडो, रोटी, कालो दाल, आलु घरवासका मुख्य परिकार हुन् । पर्यटकीय याममा ठिनी घुम्ने पर्यटकको सङ्ख्या बढ्दो छ । कुनै दिन राख्ने ठाउँ नभएर पाहुना फर्काउनु परेको अनुभव पनि सञ्चालक थकालीसँग छ । घरवासमा स्थानीय कला, संस्कृति पनि देखाइन्छ । एकै दिन १०० भन्दा बढी पाहुना राख्ने क्षमता घरवासमा छ ।

विसं २०७४ वैशाखदेखि ठिनीमा घरवास कार्यक्रम शुरु भएको हो । यो वर्ष गण्डकी प्रदेश सरकारले घरवासलाई उपलब्ध गराएको बजेटबाट प्रवेशद्वार बन्दैछ । गाउँपालिकाले छुट्टाएको रु तीन लाख बजेट अवलोकन भ्रमण र प्रचारप्रसारमा खर्च भएको छ ।

ठिनीको सामुदायिक विकास र पर्यटन प्रवद्र्धनमा स्थानीय जनमुक्ति युवा क्लब पनि सक्रिय छ । “पर्यटन विकासमा सबैसँग मिलेर काम गरेका छौँ”, क्लबका सचिव नीरज थकालीले भने, “पर्यटनमैत्री पूर्वाधार निर्माणमा हाम्रो जोड छ ।” नेपाल पर्यटन बोर्ड र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप)ले पनि घरवास प्रवद्र्धनमा सघाएको छ ।

सडक मार्गको स्तरीकरणदेखि ठिनीमा अन्य पूर्वाधार विकासको खाँचो छ । थकाली संस्कृतिको संरक्षण र उत्थानमा स्थानीयवासी उत्तिकै सचेत र सक्रिय छन् । ठिनी थकाली जातिको उद्गमस्थल हो । ठिनीमा प्रचलित परम्परागत याक, लोक र ढोङ्ग्री नाचलाई जोगाएर राखिएको छ । पर्यटक आउँदा मौलिक नाच देखाइन्छ ।

थकालीले मुख्य पर्वका रूपमा फालोलाई मान्छन् । ल्होसारलगायतका चाड पनि ठिनीमा मनाइन्छ । तारो हान्ने खेल (आर्चरी) ठिनीमा बढी खेलिन्छ । दुई हजार ८६२ मिटर उचाइमा पर्ने ठिनीबाट आधा घण्टामा ढुम्बा ताल पुगिन्छ । जुन ताल मुस्ताङको आकर्षक गन्तव्यस्थलमा पर्छ ।

घरपझोङ किल्ला, कुछप तेरेङ्गा गुम्बा र हिउँ चितुवा गुफा उक्त गाउँबाट नजिकै पर्छन् । त्यहाँबाट एक दिनको पदयात्रामा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुगिन्छ । दुई दिनको पदयात्रामा तिलिचो ताल पुग्न सकिन्छ ।

“ठिनी पुग्दा नजिकका अन्य सम्पदा र पर्यटकीयस्थल घुम्न सकिन्छ”, घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले भनिन् “ठिनीको आफ्नै ऐतिहासिक महत्व छ ।” घरपझोङ किल्ला संरक्षणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम अघि बढेको उनको भनाइ छ ।

सरकारले घरपझोङ किल्ला संरक्षण र विकासका लागि रु ४० लाख बजेट छुट्टाएको छ । प्रदेश सरकारको बजेटबाट ठिनी जोड्ने सडक कालोपत्रेको योजना पनि शुरु हुँदैछ । घरपझोङको अर्थ सबैले मन पराएको गाउँ भन्ने बुझिन्छ । किल्लामा पहिले राजा ठोकरचेनले शासन चलाउँथे ।

किल्लामा घरका भग्नावशेष अझै छन् । सोही किल्लाको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । किल्ला भएको ठाउँमा पहिले मानव बस्ती थियो । डाँडामा रहेको उक्त बस्ती सरेर थाक पाँच गाउँको रूपमा स्याङ, ठिनी, मार्फा, छैरो र चिमाङ बनेको बताइन्छ ।

ठिनीबाट १० मिनेटमै पुगिने हिउँ चितुवा गुफाले पनि पर्यटक आकर्षित गर्ने गरेको छ । गुफामा ध्यान कक्ष बनाउने गाउँलेको योजना छ । गुफामाथिको नमखुलेकतिर हिउँ चितुवा डुल्ने गरेको स्थानीयवासी बताउँछन् ।

कुछम तेरेङ्गा गुम्बा बौद्ध धर्म प्रचारक गुरु रिम्पोचे (पद्यसम्भव)का पाँच प्रतिनिधि रत्न भएको गुम्बाका रूपमा परिचित छ । गुम्बामा गुरु रिम्पोचेका दोचा, कपडालगायका सामग्री सुरक्षित छन् । आठौँ शताब्दीतिर हिमाली क्षेत्रमा बौद्ध धर्मको प्रचार गुरु पद्यसम्भवले गरेका थिए ।

गाउँपालिकाले ढुम्बा ताल सौन्दर्यीकरण योजना अघि सारेको छ । तालको पानीलाई बौद्धमार्गीले भगवान् गौतमबुद्धलाई चढाउने पवित्र जलका रूपमा लिन्छन् । अन्नपूर्ण पदमार्गको वैकल्पिक मार्गमा पर्ने ठिनी गाउँलाई नमूना पर्यटकीय गाउँका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको छ ।

म्याग्दी सदरमुकाम बेनीबाट छ घण्टा बसको यात्रापछि जोमसोम पुगिन्छ । पोखरादेखि १८ मिनेटको हवाई उडानमा जोमसोम पुग्न सकिन्छ ।

वि.सं.२०७६ जेठ २९ बुधवार ११:३२ मा प्रकाशित

Himalayan Life AD
दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

दुधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदाका ती क्षणहरू !

काठमाडौं । ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल...

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी। अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित...

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

लामो बिदाले बढायो आन्तरिक पर्यटन, भरिभराउ भयो पोखरा

जमुना वर्षा शर्मा, पोखरा । केही समयदेखि सुस्ताएको पोखराको पर्यटन...

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

मुस्ताङमा एकैदिन भित्रिए झण्डै सात हजार पर्यटक, स्थानीय होटल भरिभराउ

सुन्दरकुमार थकाली, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन...

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर । पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर...