
२९ जेठ, घोराही । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि जन्मने हरेक छोरीहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
बढ्दो बालविवाहलाई रोक्न उपमहानगरपालिकाले ‘बिहेवारि बीस पारि‘ भन्ने नीति लिएको छ ।
सोही अनुरुप जन्मेदेखि २० वर्षसम्मका छोरीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ । उपमहानगरको आगामी नीति तथा कार्यक्रममा बालविवाह रोक्नका लागि छोरीहरूलाई भत्ता दिने निर्णय गरेको बताइएको छ । उपमहानगरका प्रमुख घनश्याम पाण्डेका अनुसार जन्मने हरेक छोरीको नाममा बैंकमा खाता खोलिनेछ र त्यहाँ हरेक महीना १०० रुपैँया जम्मा गरिनेछ । २० वर्षसम्म लगातार पैसा जम्मा हुनेछ । २० वर्षअगाडि कसैले विवाह गरेको पाइएमा उक्त पैसा उपमहानगरको खातामा नै जम्मा हुनेछ ।
नगरप्रमुख पाण्डेले बालविवाहलाई कानूनले रोके पनि व्यवहारमा नरोकिएका कारण बालविवाह न्यूनीकरणका लागि यस्तो कार्यक्रम ल्याउनु परेको बताए । उनले यस प्रकारको कार्यक्रम अपेक्षित रूपमा सफल हुने पनि बताए ।
उपमहानगरले लिएको यसखालको नीति तथा कार्यक्रमबारे यहाँका महिला अधिकारकर्मीहरूले खुशी व्यक्त गरेका छन् । उनीहरूले यसलाई व्यवहारमा कार्यान्वयन गर्नका लागि सुझावसमेत दिएका छन् । महिला मानव अधिकार रक्षकहरूको सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले यो नीति कार्यान्वयन भएमा बालविवाह न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् । “यो पैसा दिने कुरा मात्र होइन, छोरीप्रतिको सम्मान हो”, उनले भनिन् “छोरीप्रतिको दायित्व राज्यले पनि लिएको भन्ने कुरा अभिभावकमा प्रेरेणा जाग्नेछ ।”
उपमहानगरले आगामी साउन १ गतेदेखि जन्मने हरेक बालिकाको नाममा बैंक खाता खोलेर यस्तो रकम जम्मा गर्ने भएको छ ।
–––
वि.सं.२०७६ जेठ २९ बुधवार ११:४१ मा प्रकाशित




























