back
CTIZAN AD

बाँझो जग्गाको सदुपयोग गर्न सूर्यमुखी खेती गरिँदै

वि.सं.२०७६ असार २२ आइतवार

1.2K 

shares

२२ असार । कुनै समय घरआँगनमा सोखका रूपमा लगाइने सूर्यमुखी फूलको खेती बागलुङ जिल्लामा व्यावसायिकरूपमा गर्न थालिएको छ । बागलुङ नगरपालिका–१० भुकण्डे गलुवास्थित एक वृद्धले जमीन बाँझो हुन थालेपछि व्यावसायिकरूपमा सूर्यमुखी खेती शुरु गरेका छन् । नेपाली सेनाका पूर्व जमदार ७५ वर्षीय बमबहादुर खत्रीले जनशक्ति अभावका कारण बाली लगाउन नसक्दा जमीन बाँझो हुनलागेको भन्दै सूर्यमुखी खेती गरेका हुन्।

विसं २०२० सालमा नेपाली सेनामा भर्ती भएर २०४३ सालमा अवकाश प्राप्त खत्री अहिले निरन्तर कृषि पेशामै सक्रिय छन् । खत्रीले पहिलोपटक झण्डै १५ रोपनी जग्गामा सूर्यमुखी खेती गरेका छन् । गत वैशाख महिनामा छरेको सूर्यमुखी अहिले पाक्ने बेला भएको छ । समुद्री सतहदेखि करीब तीन हजार फिटको उचाइमा रहेको यस क्षेत्रमा खत्रीले अहिले पहिलोपटक परीक्षणका लागि सूर्यमुखी खेती गरेका हुन्। यसअघि परम्परागत ढङ्गबाट मकै तथा तरकारी खेती गर्दा धेरै दुःख गर्नुपरेको भन्दै सहजताका लागिसमेत सूर्यमुखी खेती गरेका हुन् । “उमेरले नेटो काट्यो, छोराबुहारीले गाउँ छाडे,” खत्रीले भने, “काम गर्ने मानिस पाइन छाडे, त्यसैले सजिलोका लागि सूर्यमुखीको व्यावसायिक खेतीमा लागेँ ।”

उनले गत वैशाखमा प्रतिकेजी रु। एक हजार २०० मा सूर्यमुखीको बीउ किनेर छरेको बताउँदै साउनमा सूर्यमुखी पाक्ने बताउनुभयो । पहिलोपटक परीक्षणका लागि लगाएको सूर्यमुखी फूलेको देख्दा आफू यो व्यवसायमा सफल हुने खत्रीले बताए । सूर्यमुखी खेती एक वर्षमा दुईपटक गर्न सकिने छ । “पहिलोपटक सूर्यमुखी लगाउँदा कुनै प्राविधिकको सल्लाह नलिई शुरु गरेँ”, उनले भने, “सूर्यमुखी खेती गर्न निकै सहज रहेछ, यसैपटक पाँच मुरी सूर्यमुखीका दाना उत्पादन गर्ने अनुमान गरेको छु ।”

खत्रीले उत्पादन अगावै २५ लिटरभन्दा बढी तेल र २० केजी बीउको माग भइसकेकाले बजारीकरणका लागि समस्या नहुने बताए । लगानी कम लाग्ने, उत्पादन छिटो दिने, तोरी पेल्ने मेसिनमा पेल्न मिल्ने र अन्य बालीको तुलनामा यसमा मेहनत कम लाग्ने भएकाले यसलाई विस्तार गर्दे लैजाने योजना खत्रीको छ । “अर्को वर्ष २५ रोपनी जग्गामै सूर्यमुखी खेती गर्छु”, उनले भने, “बागलुङका अन्य कृषकहरुलाई समेत सूर्यमुखी व्यवसायतर्फ आकर्षण गर्ने योजनामा छु ।” खत्रीका दुई छोराबुहारी जापानमा छन् । गाउँमा खत्री दम्पती मात्रै बस्दै आएका छन् । घरबारी धेरै भएपनि काम गर्ने मानिस नभएपछि मकै, कोदो लगाउन समस्या भएपछि सजिलो पेशामा लागेको खत्रीले बताए । मकै, गहुँ र कोदो जस्तो मेहनत गर्न नपरे पनि सिँचाइ, गोडमेल तथा प्रशस्त मल आवश्यक रहेको खत्रीको अनुभव छ । अहिलेसम्म उनले सूर्यमुखी खेतीका लागि जम्मा रु।४० हजार लगानी गरेका छन् ।

बागलुङ जिल्लाका होचो भू–भागमा सूर्यमुखी खेती फस्टाउने राम्रो संभावना रहेको भन्दै स्थानीय सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्ने खत्रीको भनाइ छ । बसाइँसराइ तथा विदेश जाँदा अधिकांश जमीन बाँझो हुनगएको भन्दै बाँझो जग्गाको सदुपयोग सूर्यमुखी खेतीले गर्ने उनले बताए । कृषि ज्ञान केन्द्र पर्वतमा प्राविधिक सल्लाह तथा सहयोग माग गर्न गएपनि सुनुवाइ नभएको खत्रीले गुनासो गरे ।
स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल निकै फाइदाजनक मानिने चिकित्सकको भनाइ छ । कोलस्ट्रोल तथा मुटु रोगीलाई सूर्यमुखी तेल निकै हितकर मानिने हुँदा यसको माग निकै रहेको छ । तराईका जिल्लामा हुँदै आएको सूर्यमुखी खेती पहाडमा समेत गर्न सकिने भन्दै खत्रीले पहिलोपटक सूर्यमुखी खेती थालेका छन् । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा समेत केही जग्गामा परीक्षणका लागि सूर्यमुखी खेती थालिएको छ । (रासस)

वि.सं.२०७६ असार २२ आइतवार १२:१२ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि निःशुल्क इन–राइड बीमा सुविधा सुरु गर्यो

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

खातामा स्थायी लेखा नम्बर र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको अनुरोध

काठमाडाैँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई...