धुम्रपानका कारण अष्ट्रेलियामा दैनिक १७ जनाले ज्यान गुमाउने गरेको बताइएको छ ।
धुम्रपानका कारण हुने हृदयघातबाट दैनिक १७ जनाको ज्यान जाने गरेको एक अध्ययनले बताएको छ । साथै अष्ट्रेलियामा वर्षेनी झण्डै १ लाख १४ हजार मानिस मुटुको समस्याका कारण अस्पतालमा भर्ना हुने गरेको बताइएको छ ।
अष्ट्रेलियाली नेसनल युनिभर्सिटी (एएनयू) ले गरेको गहन अध्ययनले धुम्रपानसम्बन्धी डरलाग्दो तथ्य पत्ता लगाएको समाचार एजेन्सीहरुले जनाएका छन् । विश्वविद्यालयले ७ वर्ष लगाएर गरेको अध्ययनमा धुम्रपानका कारण रक्तनलीमा समस्या देखिने र त्यसैका कारण हुने हृदयघातले मानिसको ज्यान गुमाउने गरेको बताइएको छ ।
अध्ययनमा झण्डै २ लाख मानिसलाई सहभागी गराइएको थियो । उनीहरुमा धुम्रपान नगर्नेको तुलनामा ३६ प्रकारका फरक रोगहरु पनि पाइएको थियो । अनुसन्धानका क्रममा सहभागीहरुले दैनिक कम्तिमा ५ वटा चुरोट पिउने गरेको बताएका थिए ।
उक्त अध्ययनमा प्रत्येक वर्ष रक्तबाहिनी नली सम्बन्धी समस्याका कारण मृत्यु हुनेको संख्या ६ हजार ४ सय भन्दा बढी रहेको बताइएको छ । धुम्रपानका कारण उनीहरुमा मांशपेसी कमजोर हुने, श्वास प्रश्वासमा समस्या, मुटुदुख्ने समस्या, हृदयघात लगायतका रोगहरु लाग्ने गरेको देखिएको छ ।
वि.सं.२०७६ असार २३ सोमवार १४:३४ मा प्रकाशित
























