२ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विषयका कम्तीमा १ सय ८७ वटा सुधारका कार्य सम्पन्न गरेको छ । यस अवधिमा सरकारले ऊर्जा, विकास तथा पूर्वाधार, सुशासन, सडक तथा रेल, स्वास्थ्य, शिक्षा, श्रम, तथा रोजगारी एवं गरिबी निवारणलगायतका क्षेत्रमा महत्वपूर्ण कार्य सम्पन्न गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले आर्थिक वर्ष २०७५\७६ मा थुप्रै सुधारका कार्य गरेको भन्दै उपलब्धिसहितको विस्तृत प्रतिवेदनन तयार पारेको छ । १ सय ८७ बुँधामा समेटिएको सो प्रगति प्रतिवेदनमा तुइन विस्थापन, कर्मचारी समायोजन, सार्वजनिक खर्च नियन्त्रणलगायतका विषय महत्वपूर्ण उपलब्धिका रुपमा समेटिएका छन् ।
प्रतिवेदनमा अब जनताले अनुभूत गर्ने गरी विकासका कार्य देखिँदै जाने भन्दै सबै क्षेत्रमा उल्लेख्य सुधारका संकेत देखिएको उल्लेख गरिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा तयार पारिएको एकवर्षे प्रगति विवरणमा सिंहदरबार सौन्दर्यीकरणको सुरुवात भएको, सार्वजनिक खर्चमा मितव्ययिता, राजश्व चुहावट रोक्न ट्रयाकिङ प्रणाली लागूगरिएको, सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायमा अनलाइन अनुगमन प्रणाली विकास गरिएको लगायतका महत्वपूर्ण कार्य उल्लेख गरिएको छ । बिहीबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ साउन २ बिहीवार ०७:३० मा प्रकाशित





























