back

गुलाबी शहरको रूपमा विकसित हुँदै वालिङ

वि.सं.२०७६ साउन ९ बिहीवार

930 

shares

९ साउन , वालिङ । स्मार्ट सिटी कार्यान्वयनका लागि घोषणा भई अगाडि बढ्दै गरेको वालिङ नगरपालिकालाई गुलाबी शहरका रूपमा पहिचान दिने गरी काम थालिएको छ ।

स्थानीय तहको निर्वाचनसँगै निर्वाचित जनप्रतिनिधि र वालिङ नगरपालिकाभित्र रहेका जेसिज, लायन्स क्लब, युवा क्लब, विभिन्न सङ्घ संस्थाको छलफलबाट वालिङलाई गुलाबी नगरका रूपमा पहिचान दिने निष्कर्ष निकालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

गुलाबी रङ सौहार्दता, माया, सुन्दरता र शक्तिको प्रतीकका रूपमा मानिएको छ भने वालिङ नगरपालिकाका बजार होस् वा गाउँका घरमा एउटै रङ लगाएर समानता झल्काउँदै अन्ततः समग्रमा वालिङको पहिचानका रूपमा ‘गुलाबी नगर’ बनाउने मुख्य उद्देश्यले गुलाबी रङ छनोट गरिएको नगर प्रमुख खाँणको भनाइ छ ।

“छलफलबाट प्राप्त निष्कर्षलाई नगरसभाबाट पारित गरी कार्यान्वयन ल्याएका छौँ”, प्रमुख खाँणले भने , “वालिङ नगरभित्र निर्माण भएका नयाँ घरमा गुलाबी रङ लगाएपछि मात्रै घर सम्पन्नताको प्रमाणपत्र दिने गरेका छौँ ।” नयाँ घर निर्माण सम्पन्न भएपछि बाहिरी भित्तामा गुलाबी रङ नलगाएसम्म घर सम्पन्नताको प्रमाण पत्र नदिइने र यसमा नगरवासीको पनि साथ र सहयोग रहेकाले गुलाबी शहर अभियान प्रभावकारी हुँदै गएको नगर प्रमुख खाँणको भनाइ छ ।

“नगरभित्रका घरले बाहिर देखिने भागमा गुलाबी रङ लगाउनुपर्ने र घरभित्रको भागमा आफ्नो इच्छाअनुसारका रङ लगाउन पाउनुहुनेछ”, नगर प्रमुख खाँणले भने, “नयाँ र पुराना गरी झण्डै ५० प्रतिशत घरमा गुलाबी रङ लगाइसकिएको छ भने बाँकी घरमा अब एक डेढ वर्षभित्र रङ लगाएर सकिने छ ।”
वालिङमा रहेका कलर कम्पनीका डिलर तथा विक्रेतासँग छलफल गरी गुलाबी रङमा ग्राहकले खरीद गर्दा मूल्यमा झण्डै आधा छुट दिने व्यवस्था मिलाइएको छ । रङ लगाउन नसक्ने त्यस्तो अवस्था भएका कुनै घर भएमा सौजन्य खोजेर भए पनि रङ लगाउने व्यवस्था मिलाउने तयारीमा नगरपालिका रहेको नगर प्रमुख खाँणको भनाइ छ ।

सन् २०१२ मा वालिङ जेसिजको आयोजनामा वालिङमा भएको क्षेत्र ‘ख’ सम्मेलनका बेला वालिङ नगरलाई ‘पिङ्क सिटी’ र ‘रोज सिटी’ बनाउने प्रस्ताव अगाडि सारिएको वालिङ जेसिज वर्ष २०१२ का अध्यक्ष दीपक लम्सालले बताए । “वालिङ नगरपालिकामा विभिन्न क्षेत्रबाट फरक फरक समुदाय, जातजाति, धर्म, संस्कृतिका मानिस बसाइँ सरेर आउने क्रम बढ्दै गएको छ”, अध्यक्ष लम्सालले भने, “यहाँ बसाइँ सरेर आउने फरक फरक वर्ग र समुदायका मानिसको एक आपसी सौहार्दता, सद्भाव, सहिष्णुता अभिवृद्धि गर्दै सबै एउटै रङभित्र अटेको सङ्केत पनि यसले गरेको छ ।”

फूल भएको ठाउँमा कसैले पनि फोहर नगर्ने भएकाले सरसफाइमा ध्यान दिँदै ‘एक घर एक फूल’ अभियान अगाडि बढाइएको अध्यक्ष लम्सालले बताए । “अन्य ठाउँमा जस्तै वालिङमा पनि हरेक राजनीतिक दलको प्रतिनिधित्व रहेको छ”, अध्यक्ष लम्सालले भने, “यहाँ फरक फरक विचार धाराका दल भए पनि समग्रमा वालिङको विकासका लागि सबै दल दलगत स्वार्थभन्दा माथि उठेर महत्वपूर्ण निर्णय हुने गरेका उदाहरण प्रशस्त छन् । यसले पनि भावनात्मक सन्देश सौहार्दताको प्रतीक गुलाबी रङमार्फत दिएको अनुभूति गरेको छ ।”

पछिल्लो समय अन्य रङको तुलनामा ग्राहकले गुलाबी रङको माग बढी गर्ने गरेको वालिङस्थित ग्रहौंकालिका डुम्रे हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक शिवलाल डुम्रेले बताए । “पिङ्क कलरभित्रैबाट विशेष सूत्रमार्फत छुट्टै ‘वालिङ पिङ्क’ नामक रङ उत्पादन गरी व्यापारीलाई सो सूत्र उपलब्ध गराएसँगै एउटै रङ बनाउन सकिएको छ”, व्यवसायी डुम्रेले भने, “पिङ्क कलरमध्ये ‘वालिङ पिङ्क’ बढी टिकाउ हुन्छ ।”

बजार होस् वा गाउँ नयाँ तथा पुराना घरधनी अहिले ‘वालिङ पिङ्क’ खोज्दै आउने गरेकाले अब रङका लागि प्रचार गर्नुपर्ने आवश्यकता नरहेको व्यवसायी डुम्रेको भनाइ छ । “रङ बनाउँदा सूत्र नमिलेकै कारण कहीं कतै गुलाबीमा पनि फरक देखिएको छ”, व्यवसायी डुम्रेले भने, “ग्राहकले रङ माग्दा ‘वालिङ पिङ्क’ भनेर वालिङका जुनसुकै रङ विक्रेता तथा डिलरमा भनेको खण्डमा फरक नपरी एउटै रङ देखिन्छ ।”

गण्डकी प्रदेशको केन्द्र पोखरादेखि झण्डै ६५ किलोमिटर र प्रदेश नं ५ को केन्द्र बुटवलदेखि झण्डै ९५ किलोमिटर सिद्धार्थ राजमार्ग हुँदै आई पुगिने बजार हो, वालिङ । देशभरिका १३ वटा नगरपालिकालाई स्मार्ट नगर बनाउने अभियान थालिएसँगै वालिङलाई पनि समावेश गरिएको छ ।

फोहरमैला व्यवस्थापनमा गण्डकी प्रदेश तथा नेपालमै उदाहरणीय बनिसकेको वालिङ नगरपालिकालाई अब गुलाबी शहरका रूपमा पहिचान दिलाउने गरी द्रुततर गतिमा काम भइरहेको छ ।

वि.सं.२०७६ साउन ९ बिहीवार १३:२७ मा प्रकाशित

Himalayan Life AD
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुरमा युवा स्वरोजगार कार्यक्रमको छड्के अनुगमन

नवलपुर। नवलपुर जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सहकारी...

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

मापदण्डविपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी । सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

कलाका माध्यमबाट जलवायु परिवर्तनदेखि युवा पलायनको चिन्ता

गण्डकी । पोखरामा बिहिबारदेखि जारी ‘आर्ट इन हिमालय’ कला प्रदर्शनीमा...