९ साउन, काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष प्रचण्डले मानव जातीको भविष्य समाजवादमा मात्रै भएको भन्दै सगरमाथाको देशबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्ने धारणा राखेका हुन् । उनले सगरमाथाको उचाइ भएको यो देशबाट समाजवादको नयाँ धारा, नयाँ मोडल र नयाँ सिस्टम हामीले दुनियाँलाई दिन सक्नुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अहिले पनि संसारमा धनी र गरिबबीचको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएकै छन् । यो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै छ ।’ विश्वमा धनि र गरिबको खाडल बढीरहेको यो सन्दर्भमा समाजवाद भन्दा उत्कृष्ट अर्को राजनीतिक प्रणाली नभएको उनको भनाइ छ ।
तर समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउने कुरा अवसर र चुनौती दुवै रहेको समेत उनको भनाइ छ । ‘यस्तो अवसर इतिहासमा विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनापर्दछ ।’ उनले भने, ‘‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ । त्यो अवसर हामीलाई छ । यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले जनताको मन जितेर मात्रै पूरा गर्न सकिन्छ ।’
उनले बोल्ने क्रममा क्रान्ति र आन्दोलनमा केहि निश्चित समयका लागि लाग्ने र पछि विचलित हुने प्रवृत्ति विशेष गरी कम्युनिष्ट पार्टीमा झन धेरै रहेको सन्दर्भमा कर्माचार्यको राजनीतिप्रतिको अविचलित यात्रा र समर्पणको स्मरण गरेका थिए ।
कर्माचार्यको सरलता, इमान्दारीता, स्वभाविकता र पारदर्शीताको गुण सिक्दै आफ्नो जीवन राष्ट्र र जनताको लागि समर्पित गर्ने र प्रेरणा लिन सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने भनाइ राखेका थिए ।
वि.सं.२०७६ साउन ९ बिहीवार १४:५५ मा प्रकाशित






























