१४ साउन, काठमाडौँ । कर्मचारीहरु विभिन्न कार्यक्रमको मेलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन् ।
पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट डेढसयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ ।
त्यसमा पनि चीन भ्रमण गर्नेको सङ्ख्या अधिक छ । सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ गतेसम्म १ सय ६७ जनाले विदेश भ्रमण गरे । तीमध्ये चीन जानेको सङ्ख्या १ सय ४ छ ।
मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनयन पत्र आएन । मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ट एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालिन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायत विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारी चीन पुगेको बताइएको छ । मंगलबारको नागरिक दैनिकबाट