गणेश लम्साल,
विराटनगर, ६ मंसिर।मोरङमा भान्जाले प्रेमविवाह गर्दा माइजू प्रहरी हिरासतमा बस्नु परेको छ डाँगीहाट–४ भाउन्नेका २३ वर्षीय विवेक परियार रसोही ठाउँकी १९ वर्षीया स्मृति थापाले प्रेमविवाह गर्दा केटाकी माइजू विष्णु छिमाल प्रहरीको हिरासतमा बस्नुपरेको हो ।
लामो समयदेखि प्रेममा रहेका विवेक र स्मृतिले ३० कात्तिकमा भागेर विवाह गरेका थिए । विवेक र स्मृतिले प्रेमविवाह गरेपछि केटीको माइती पक्षलेदलितले छोरी लगेको भन्दै असन्तुष्टि जनाएको थियो। त्यही क्रममा प्रेमविवाह गराउने मतियार भन्दै माइजू विष्णुदेवीलाई पक्राउ गराएको थियो ।
केटी पक्षकै आग्रहमा इलाका प्रहरी कार्यालय बेलबारीले विष्णुदेवीलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा थुनेको थियो । शुक्रबार दलित अधिकारकर्मीले दबाब दिएर केटा र केटीलाई हाजिर गराउने बताएपछि विष्णुमायालाई हिरासत मुक्त गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले राजीखुसी बिहे गर्न केटीको उमेर नपुगेको दाबी माइती पक्षको भएको र खोजतलास गरिपाऊँ भनेर निवेदन दिएकाले सोधपुछका लागि केटाकी माइजूलाई नियन्त्रणमा लिएको बताए ।
उनले केटा र केटी हाजिर भएपछि दुवै पक्षको छलफलले गरेको निर्णयलाई मान्यता दिने बताए । केटा पक्षले बिहे गरिसकेको जोडीलाई अलग गराउन प्रहरीले सघाएको आरोप लगाएको छ । कानुनअनुसार राजीखुसी प्रेमविवाह गरेर गएपछि कसैले पनि उनीहरूका अभिभावक वा आफन्तलाई मतियार बनाएर दुःखदिन मिल्दैन ।
वि.सं.२०७३ मंसिर ६ सोमवार ०९:१२ मा प्रकाशित





























