
यूएईको अलऐनमा २० नेपाली अलपत्र परेका छन् । काठमाडौंको पुरानो बानेश्वरमा रहेको डेस्टिनी म्यानेजमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ४ लाखसम्म तिरेर अलऐन पुगका उनीहरु युएई आएर काम नपाएपछी अलपत्र परेका हुन् । सुरक्षा गार्डको रुपमा ६ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् । उनीहरुको उद्दारका लागि दूतावासले नेपालबाट पठाएको मेनपावरलाई खबर गरिसकेको दुबईबाट कमल कार्कीले जानकारी दिएका छन् । उक्त मेनपावरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।
युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरु काम नपाएर अलपत्र परेका हुन् । उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ धिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ६ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको अलपत्र परेकाले बताएका छन् ।
अलपत्र परेका उनीहरुले खानका लागि पैसा नरहेको बताएपछि उनीहरुलाई एनआरएनए अलएनका रमेश, गोर्खा सेवा समाजका अध्यक्ष बिनोद श्रेष्ठ ,वीर गोर्खाली राष्ट्रिय नेपाली एकताका बिमल, सर्मिला गुरुङ, पदम थापा लगायतले आलु चामल लगायतका खाद्यन्न सहयोग गरेका छन् ।
वि.सं.२०७३ मंसिर ७ मंगलवार ०५:१७ मा प्रकाशित