५ असोज, काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले अबको ७–८ वर्षमै चीनले अमेरिकालाई उछिन्ने बताएका छन् ।
लेखक तथा साहित्यकार भानु भण्डारीद्धारा लिखित ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रहको पुस्तक लोकापर्ण गर्दै नेता खनालले ४० वर्षको छोटो समयमै चीनले गरेको प्रगतिभित्र त्यहाँको कठोर संघर्ष र आत्मविस्वास रहेको समेत बताएका छन् । कतिपय देशहरुको समाजवादी यात्रा मौलिक रहेको बताउँदै उनले चीनको समाजवादको आधार परिस्कृत राजनीति रहेको पनि उल्लेख गरेका छन् ।
उनले नीति, सिद्धान्त र व्यवहारमा प्रष्ट हुन भानु भण्डारीका लेखन र अभिव्यक्तिले थप सहयोग हुने विश्वास व्यक्त समेत गरेका छन् ।
कार्यक्रममा नेकपाको सांस्कृतिक विभाग प्रमुख मणि थापाले गुम्न सक्ने खतराप्रति लेखक चिन्तित हुनु स्वभाविक भएको बताउँदै संघर्ष र आन्दोलनको पृष्ठभूमिमा भण्डारीका कृति रहेको जनाएका थिए ।
समालोचक प्रा.डा गोविन्द पौडेल र प्राद्यापक निर्मला पोखरेलले समिक्षा तथा टिप्पणी गरेको सो कार्यक्रममा ओरियन्टल पबिलकेशनका अध्यक्ष हरि गौतम तथा जनसांस्कृतिक महासंघका आरसी न्यौपाने लगायतका वक्ताहरुले बोलेका थिए ।
बालुवाका घरहरु, सगरमाथाको देशबाट, रातो किल्ला, भू-राजनीतिक दाउँपेच, क्रान्तिका भुगोल लेखिसकेका लेखक भण्डारीले सांस्कृतिक क्रान्तिका आधार र होलेरी कृतिको पृष्ठभूमि सहित आफ्नो मंतव्य राखेका थिए ।
वि.सं.२०७६ असोज ५ आइतवार १०:०५ मा प्रकाशित




























