back
CTIZAN AD

यी हुन् नेपालको सडकमा गुड्ने गाडीहरु, कुन गाडीको कति ?

वि.सं.२०७६ कात्तिक ६ बुधवार

4.9K 

shares

गाडि बोकिन्छ की गाडीले बोक्छ ? यो जिज्ञासा अहिलेका लागि निरर्थक जस्तै छ । तर काठमाडौँका सडकहरूमा २०१३ सम्म मान्छेको काँध चढेर आएका गाडीहरू नै गुडेको र काँध फेरि फेरि काडमाडौँसम्म गाडी बोकेर ल्याएको पुस्ताका लागि भने यो जिज्ञासाले राम्रै अर्थ बोक्न सक्छ ।

हो, हाम्रो पुस्ताका लागि गाडी बोक्ने यन्त्र हो । यसले विभिन्न सामान र मानिस बोक्छ । तर मकवानपुरको थाहा नगरपालीका वार्ड नं. ५ तक्सराका हिराबहादुर घलानका लागि भने गाडी मान्छेले बोक्ने यन्त्र हो । अहिले काठमाडौँमा दैनिक १० लाख बढी गाडी गुड्छन् । देशै भरी ३५ लाख ३९ हजार ५१९ गाडी गुड्छन् ।

यो अहिलेको कुरो भयो । उहिले भने हालसम्म जीवित गाडी बोक्ने पेसा गरेका घलानका लागि भीमफेदी काठमाडौँ भनेको गाडी बोकीले ठाउँ मात्रै हो । घलानको काँध चढेर आएका गाडी त काठमाडौँमा अहिले गुड्दैनन् । घलान भने ८५ वर्षको पाको उमेरमा पनि ठम्मठम्म हिँड्छन् ।
घलानको काँध चढेर आएका गाडी र अहिलेका सडकमा गुड्ने गाडीहरूमा आकास जमिनको परिवर्तन भईसकेको छ । रंगरोगन, माइलेज र स्पीड देखी गाडीको आकारमा पनि व्यापक फेरबदल छ उहिले र अहिलेमा ।

सडक दस्तुर
कार, भ्यान, जिप                                               २ हजार सीसीसम्म मूल्यको ५ प्रतिशत
कार, भ्यान, जिप                                               २ हजार सीसीमाथि मूल्यको १० प्रतिशत
बस, ट्रक, माइक्रोबस, ट्रिपर लगायत                 मूल्यको ७ प्रतिशत
मोटरसाइकल १५५ सीसी                                 रु.१५०० ।–
मोटरसाइकल १५५ देखी २५० सीसी                 रु. १८,००० ।–
मोटरसाइकल २५१ देखी ४०० सीसी                  रु. ५०,००० ।–
मोटरसाइकल ४०१ देखिमाथि                           रु. २,००००० ।–

भीमफेदिबाट कुलेखानी, दक्षिणकाली हुँदै सरर गाडीमा काठमाडौँ आउनुको मजा अहिले जति आनन्दमयी छ, उहिले उत्तिकै कष्टकर थियो । नोल काँधमा खुट्टामा परालका चप्पल अनि ८०–९० जनाको समूहमा एउटा गाडीको भारी यस्तै थियो त्यति बेला, नेपाल आउनेको कथा ।

अहिले दन्त्य कथा जस्तै लाग्ने घलान आफैँपनि पहिलो पुस्ताका गाडी बाहक होइनन् । उनका बावु पुस्ता पनि यसै गरी गाडी बोकेरै २ पैसो कमाउथे । खोज्दै जाँदा गाडीका कथा अरु धेरै भेटीन्छन् । हिजो राजा, राणा र शासक समूह मात्रै चढ्ने गाडी अहिले अनिवार्य आवश्यकता भएको छ । दुई पाङ्ग्रे र चार पाङग्रे गाडी मानिसको आवश्यकता मात्रै भएनन् अब सामाजिक ‘स्टाटस’ नाप्ने औजार समेत बनिसकेका छन् । सँगसँगै सडक र सडकमा गुड्ने विभिन्न मोटरगाडी राष्ट्रको समृद्धिका परिचय समेत भएका छन् ।

राष्ट्र र जनताको समृद्धिको मानक बनीसकेको मोटर सँस्कृति क्रमशः नेपालमा पनि झ्याङ्गिदो छ । मान्छेले बोकेर उपत्यका भित्र्याएका मोटर चल्ने काठमाडौँका सडकमा अहिले विभिन्न रूप, रङ्ग र आकारका गाडी हुइँकिन्छन् । यत्तिमात्र होइन, वि.सं. २०४६ साललाई आधार मान्ने हो भने त्यो बेलाको भन्दा अहिले गाडीको चाप ४ हजार ६ सय प्रतिशत बढेको छ । यातायात व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०४६–०४७ मा ७६ हजार ३७८ गाडी देशका विभिन्न सडकमा गुड्थे । ती मध्ये मोटरसाइकलको सङ्ख्या जम्मा ३४ हजार ५७६ थियो ।

लोकप्रिय जीपहरू
महिन्द्र स्कार्पीयो                          ३६ लाख देखी ५८ लाख रुपैँया सम्म
टाटा सुमो                                    २९ लाख रुपैँया
टाटा सफारी स्ट्रोन                       ४५ लाख देखी ५८ लाख रुपैँया सम्म
हुन्डाई टक्सन                             ६४ लाख देखी १ करोड ८ लाख सम्म
पजेरो                                         १ करोड देखी ३ करोड ५० लाख
डस्टर                                        ३५ लाख रुपैँया

यो संख्या आर्थिक वर्ष ०७६÷०७७ सम्म आइपुग्दा ३० लाख कटीसकेको छ । यातायात व्यवस्था विभागमा रहेको आर्थिक वर्ष ०७५÷०७६ सम्म मात्रै मोटरसाइकालको संख्या २५ लाख ३० हजार ६२२ पुगेको थियो ।

मोटरसाइकल मात्रै होइन कार, जीप र भ्यान ०४६ सालको तुलनामा २१ हजार २५० बाट बढेर २ लाख ३६ हजार ६५८ पुगी सकेका छन् । बस, ट्रक र मिनी ट्रक सहित क्रेन, डोजर, ट्रयाक्टर, माइक्रो बस र पीकअप पनि ह्वात्तै बढेका छन् ।

आयातै आयात
नेपालमा मोटर बन्दै नबन्ने त होइन । यहाँको सडकमा गुड्ने गाडीहरूको ब्रान्ड हेर्दा प्राय सबै आयातीत नै देखिन्छन् । तत्कालीन प्रधानमन्त्री डा.बावुराम भट्टराईले ‘नेपाली एसेम्वल्ड’ गाडी ‘मुस्ताङ्ग’ चढेपनि यो त्यति प्रभावकारी भएन ।

यसबाहेक नेपालको सडक भारतीय, कोरियन, जापानीज, जर्मन, अमेरिकन र चिनिया ब्रान्डका गाडीको ताँतीले ढाकिएको पाइन्छ । गत आर्थिक वर्ष ०७५/०७६ मा ४ खर्ब ३१ अर्ब भन्दा बढीका मोटर र मोटर पार्टस आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
यसबाहेक २ खर्ब १३ अर्ग ३५ करोड ६४ लाख रुपैँयाको पेट्रोलियम समेत आयात भएको छ । लुब्रीकेन्टसको आयात पनि राम्रै भएको छ । यसैगरी देशमा चलिरहेको गोरखकाली टायर उद्योग डुबाएर नेपालले भारतबाट मात्रै गत आर्थिक वर्षमा ८ अर्ब ६१ करोड ७८ लाख ७१ हजार रुपैँयाको मोटरका टायरहरू आयात गरेको छ ।

यसबीचमा चीनबाट मात्रै ४ अर्ब ३१ करोड १६ लाख २० हजार २७५ रुपैँयाका गाडीहरू आयात भएका छन् । यी गाडीका लागि आवश्यक पर्ने टायर र ट्यूवहरू मात्र २४ करोड ११ लाख ६९ हजार ६५ रुपैँया बराबरको आयात भएको तथ्याङ्कले देखाएका छन् ।
चीन र भारतबाट मात्रै होइन नेपालमा अन्य देशबाट पनि मोटर, पार्टस र टायरहरू आयात भएका छन् । नेपालमा भारत, चिन र तेश्रो देशबाट आयात गरिएका टायर र ट्युबको मूल्य ९ अर्ब ७२ करोड २८ लाख ३७ हजार ५ सय ३ रुपैँया बराबर रहेको छ । मोटर र मोटर पार्टसको मूल्य ८ अर्ब ५१ करोड ८२ लाख ९० हजार २ सय ३२ रुपैँया बराबर रहेको छ ।

नेपालले वार्षिक रुपमा मोटर, मोटरपार्टस, पेट्रोल र लुब्रिकेन्टसको आयातमा मात्रै ४ खर्ब ३१ अर्ब ५९ लाख ७६ हजार रुपैँया बराबर खर्च गरेको छ ।

रोजगारी र स्वरोजगारको खानी
नेपालमा विदेशबाट आयातीत नै भएपनि मोटरहरूले राम्रै रोजगारी श्रृजना गरेका छन् । बस, ट्रक, डोजर, एक्सा भेटर, जीप, माइक्रोवस, कार, भ्यानले देशमा राम्रै रोजगारी निर्माण गरेका छन् । नेपाल अटोमोवाइल डिलर एशोसीएसनको तथ्याङ्कलाई आधार मान्ने हो भने गाडीहरूले १७ लाख रोजगारी श्रृजना गरेका छन् । यसबाट एक परिवार बराबर ४ सदस्यलाई मान्ने हो भने ६८ लाख जनसंख्याको हातमुख जोडीएको छ र जीवन चलेको छ ।

नाडाका अनुसार १७ लाख कूल रोजगार मध्ये धेरै जनसङ्ख्या स्वरोजगार रहेको छ । यकिन गर्न नसकिए पनि ८ लाख बराबर जनसंख्या मोटरका कारण स्वरोजगार रहेको नाडाले जनाएको छ ।

४०८ डिलर
नेपालमा २ पाङ्ग्रे ४ पाङ्ग्रे र अन्य मोटरहरू बेच्ने डिलर देशैभरी छरिएका छन् । भारत, चीन, कोरीया, जापान, जर्मन र अमेरिका लगायताका देशमा उत्पादित भएका विभिन्न मोटरहरूको बिक्रिमा देशका चुनिएका उद्योगपति र व्यापारीहरू रहेका छन् । विश्वकै मिलेनियर बनेका विनोद चौधरीको सिजी कम्पनी देखी बैद्य समूहको बैद्य ग्रुपसम्म गाडीको व्यापारमा लागेका छन् ।

नाडाका अनुसार उक्त संख्यामा ब्याट्रि बिक्रि गर्ने, स्पेयर पार्टस बिक्रि गर्ने, देखि गाडीहरू बिक्रि गर्ने संख्या सदस्य रहेका छन् । समग्रमा ४०८ डिलरबाट देशका विभिन्न स्थानमा सेवा दिइरहेको नाडाले बताएको छ । यसैगरी लुव्रीकेन्टस लगायतका उत्पादन पनि गाडी सोरुम र बिक्री स्पेयर्सबाटै बिक्रि भइरहेको पाइन्छ ।

गाडी कारोबारमा बैद्य समूह, बतास समूह, चौधरी समूह, लक्ष्मी हुन्डाइ, दुगर्ड ब्रदर्स जस्ता ठूला समूह गाडी कारोबारमा लागेका छन् । यस्तै युक्त इन्टरप्राइजेज, आयाम इन्टरकन्टीनेन्टल, आइएमइ अटो, मोरङ्ग अटो, सिप्रद्धि, नेशनल मोटर्स पनि गाडीको खरीद बिक्रिमा लागेका छन् ।

टोयटामा साढे ३ लाख छुट
नेपालमा बिक्रि हुने मध्येको सबै भन्दा महँगो ब्रान्ड मानिने जापानीज कम्पनी टोयटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले आफ्ना गाडीमा साढे ३ लाख रुपैँयासम्मको छुट ल्याएको छ । ‘मिड एम टी रस’ को हालको बजार मूल्य ७३ लाख ५० हजार रुपैँया रहेको छ । यस्तै देशकै सबैभन्दा महँगो गाडी मानिएको टोयटा ल्यान्डक्रुजर २०० को मूल्य ३ करोड २३ लाख रुपैयाँ रहेको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट २०७६
नेपालमा सबैभन्दा धेरै गाडी बिक्रि गर्ने ब्रान्ड हो, हुन्डाइ । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालमा हुन्डाइ ब्रान्डका गाडी बिक्रि गर्दछ । यस दशैंमा लक्ष्मीले हुन्डाइका गाडी खरीद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत १ लाख रुपैँया छुट र १० जोडीले चार रातको दुबई भ्रमण गर्न पाउने अफर दिएको छ। बम्परमा भने हुन्डाई स्यान्ट्रो र हुन्डाई एसयुभीसम्मका गाडी पाइने योजना लक्ष्मीले अगाडी सारेको छ ।

होन्डाको ह्विल फर्चुन
नेपालमा होन्डाका दुईपाङ्ग्रे र चारपाङ्ग्रे गाडी स्याकर टे«डिङ्ग कम्पनीले बिक्रि गर्दछ । यी गाडीका ग्राहकका लागि स्याकरले ‘होन्डा ह्वील फर्चुन’ अफर सार्वजनिक गरेको छ । यो अफरमा भाग्यसाली ग्राहकले १ लाख देखी १० लाख रुपैंया सम्म प्राप्त गर्ने छन् ।

घर सफा गर्दै बिबी आइडी
गाउँघरमा चाडपर्वमा रातो माटो र सेतो माटोले पोतेर घर चिटीक्क पार्ने चलन हुन्छ । सहरमा पनि घर सफाई गरिन्छ । शहरका घरमा सफाइ बिबी आइडी कम्पनीका इलेक्ट्रिक कार बिक्रि गर्ने साइमेक्स इङ्कले गर्ने भएको छ ।

कम्पनीले आफ्ना गाडी खरीद गर्ने ग्राहकको घर सफा गरिदिने योजना अगाडी ल्याएको छ । यसबाहेक स्क्रयाच कार्ड मार्फत ५० हजार रुपैँया सम्मको गिफ्ट ह्याम्परसमेत कम्पनीले आफ्ना ग्राहकलाई उपलब्ध गराउने जनाएको छ ।

पायोनियरको ‘फेस्टीभ हट डिल’
नेपालमा निशान र डाटसनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्नो गाडी किन्ने ग्राहकलाई ३१ हजार ९ सय ९९ सय रुपैँया पर्ने एमआइ ८ लाइट मोबाइल उपलब्ध गराउने भएको छ । यस बाहेक डाटसन गाडीमा भारी छुटको घोषणा कम्पनीले गरेको छ ।

रेनोको शुभदिन छ
रेनो ब्रान्ड पछिल्लो समय नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । यस गाडीको नेपालमा आधिकारीक बितरक एडभान्स अटो मोबाइल्स हो । एडभान्सले रेनो ब्रान्डका गाडी खरीद गर्ने ग्राहकलाई ५ लाख रुपैँया सम्म छुट दिने योजना अगाडी सारेको छ । कम्पनीले यस योजनालाई ‘शुभदिन छ’ भनेको छ । कम्पनीले रेनाका ४ मोडेल बजारमा ल्याएको बताएको छ ।

आइएमएसको माइन्ड ब्लोइङ्
आइएमएस मोटर्सले स्याङयोङ गाडीको आधिकारिक बिक्रि गर्दछ । स्याङयोङ गाडीको खरीदमा आइएमएसले ‘माइन्ड ब्लोइङ्ग’ अफर ल्याएको छ । जसअनुसार स्याङयोङ्ग गाडी किन्ने ग्राहकले सामसुङ्ग ग्यालेक्सी नोट १० उपहार पाउने छन् । कम्पनीले तिन वर्षको वारेन्टी, मासिक किस्ता र २५ हजार सम्मका पार्टपुर्जा र एसेसरीजको छुट दिने योजना अगाडी सारेको छ ।

मूल्यमा विविधता
नेपालको बजारमा आधारभूत मूल्य १५ लाख रुपैँया देखि ३ करोड २३ लाख रुपैयाँ सम्मका गाडीहरूको कारोबार हुने गरेको देखिन्छ । सुरुवात मूल्यमा सबैभन्दा कम मूल्यको नीजि कार डाटसन कम्पनीले बजारमा ल्याएको छ । उक्त कारको सुरुवाती मूल्य १५ लाख २५ हजार रुपैँया रहेको छ । डाटसनको ‘रेडी गो’ नेपालकै सबैभन्दा सस्तो कार बनेको छ ।

सबैभन्दा महँगा गाडीहरू
टोयटा ल्यान्ड क्रुजर २००                             ३ करोड २३ लाख रुपैँया
मर्सीडीज वेन्च जीसीइ ३५० डी                     २ करोड ६० लाख रुपैँया
मर्सीडिज बेन्ज २०० इ                                  २ करोड १० लाख रुपैँया
भक्सवागन टरेग                                          १ करोड ५५ लाख रुपैँया
हुन्डई स्यान्टा एफइजीआइएस                     १ करोड २२ लाख रुपैँया
ल्यान्ड क्रुजर फाडो                                     १ करोड ८५ लाख रुपैँया

यस्तै सुजुकी अल्टो, महिन्द्राको बोलेरो, हुन्डइको इओन, रेनोल्ड क्वीट, टाटाको फियागो, कियाको पीकान्टो र निसानको माइक्रो एक्टीभ नेपाली बजारमा उपलब्ध भएका सुरुवाती मूल्यका साना कार रहेका छन् ।

यसैगरी सबैभन्दा बढि मूल्यको टोयटा ल्यान्ड क्रुजर २०० नेपाली बजारमा चलेको सबैभन्दा महँगो नीजि सवारीसाधन रहेको छ । यसको बजार मूल्य ३ करोड २३ लाख रुपैँया रहेको छ । मर्सीडिज बेन्ज २०० र टोयटा ल्यान्ड क्रुजर २००, मर्सीडिज बेन्जजीसीइ ३५०, भक्सवागन टरेग, हुन्डई स्यान्टा, माझ्दा सीएक्स ५ आदी नेपालीबजारका सबैभन्दा महँगा गाडी हुन् ।

सस्ता गाडीहरू
डाटसन रेडी गो १५ लाख २५ हजार
सुजुकी अल्टो १६ लाख ३९ हजार
महिन्द्र बोलेरो १६ लाख ५१ हजार
हुन्डई इओन १७ लाख ५१ हजार
रेनोल्ड क्वीट २२ लाख २४ हजार
टाटा टियागो २४ लाख ९५ हजार
किया पीकान्टो २४ लाख ९९ हजार
निशानमाइक्रो एक्टीभ २६ लाख
फोर्ड एस्पाएर पेट्रोल २६ लाख ९० हजार
फोर्ड फिगो २६ लाख ९९ हजार

 

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०९:३२ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...