काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू आर्थिक वर्ष २०८२÷८३ को ११ महिना (साउन–जेठ) को तथ्यांकले भने डरलाग्दो परनिर्भरता देखाएको छ ।
नेपालमै सहजै र पर्याप्त मात्रामा उत्पादन गर्न सकिने खाद्यान्न, हरियो तरकारी, फलफूल, डेरी उत्पादन र वनस्पती तेलको आयातमा मात्रै ११ महिनामा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा खाद्यान्न, तरकारी, फलफूल र खानेतेल जस्ता मुख्य कृषिजन्य उत्पादन मात्रै २ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ ।
नेपालमै फल्ने अन्न र तरकारीमा मात्रै ९० अर्ब स्वाहा
कुनै समय धान–चामल निर्यात गर्ने नेपालले ११ महिनामा मात्रै ५५ अर्ब ९३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । त्यस्तै, गाउँ–गाउँमा उत्पादन गर्न सकिने हरियो तरकारी तथा कन्दमूल मात्रै ३४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यसले नेपाली भान्सा पूर्ण रूपमा आयातित कृषि उपजमा निर्भर रहेको पुष्टि गर्छ ।
खानेतेल र घ्यूको आयात सबैभन्दा उच्च
भन्सारको तथ्यांक अनुसार सबैभन्दा ठूलो रकम वनस्पती घ्यू र तेलको आयातमा खर्च भएको छ । साउनदेखि जेठ मसान्तसम्म १ खर्ब ६२ अर्ब ३३ करोड रुपैयाँ बराबरको तेल तथा बोसोजन्य कच्चा पदार्थ वा तयारी तेल आयात भएको देखिन्छ । यद्यपि, नेपालले यो अवधिमा १ खर्ब ३१ रुपैंयाँ बराबरको तेल र घ्यू निर्यात पनि गरेको छ, जुन मुख्यतया बङ्गलादेश र भारततर्फ ‘रिफाइन’ गरेर पठाइने गरिएको छ ।
चिया, कफी र मसलामा भने नेपाल नाफमा
नेपालका लागि सुखद पक्ष भनेको चिया, कफी र मसलाको व्यापार हो । नेपालले यस अवधिमा ९ अर्ब ४० करोड रुपैयाँ बराबरको आयात गर्दा १७ अर्ब २९ करोड रुपैयाँ बराबरको नेपाली चिया र मसला विश्व बजारमा निर्यातगर्न सफल भएको छ । यो अवधिमा नेपालले ७ अर्ब ८८ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।
अर्थविद्हरूको चिन्ताः कृषि अनुदान कहाँ गयो ?
सरकारले हरेक वर्ष बजेटमा कृषि उत्पादन बढाउने, आत्मनिर्भता हासिल गर्ने र रासायनिक मल तथा बीउमा अर्बौँ अनुदान दिने घोषणा गरे पनि जमीन बाँझो रहने र आयात चुलिने क्रम रोकिन सकेको छैन । तथ्यांकले स्पष्ट पार्छ कि नेपालले विलासिताका साधन वा मेसिनरी मात्र होइन, जीवन धान्नका लागि अत्यावश्यक आधारभूत खाद्यान्न र तरकारीसमेत आफ्नै पौरखले पु¥याउन सकेको छैन । जसका कारण व्यापार घाटा देशको अर्थतन्त्रले थेग्नै नसक्ने गरी १६ खर्ब भन्दा बढी पुगेको छ ।
नेपालमै उत्पादन गर्न सकिने खाद्यबालीहरु
| परिच्छेद | मुख्य वस्तुहरू | ११ महिनाको आयात (रुपैयाँ) | अवस्था विश्लेषण |
|---|---|---|---|
| Ch 10 | खाद्यान्न (धान, चामल, मकै) | ५५ अर्ब ९३ करोड | विगतमा निर्यात हुने क्षेत्रमा अचेल विशाल परनिर्भरता। |
| Ch 07 | तरकारी (आलु, प्याज, हरियो तरकारी) | ३४ अर्ब ९५ करोड | स्वदेशी उत्पादनले बजार नपाउँदा विदेशी तरकारी अर्बौँको भित्रिने। |
| Ch 08 | फलफूल र बदाम (स्याउ, सुन्तला) | ३१ अर्ब ७० करो0 | कोल्ड स्टोर र व्यावसायिक उत्पादन नहुँदा आयात उच्च। |
| Ch 12 | तेलहन र गेडागुडी (तोरी, सूर्यमुखी) | ३१ अर्ब १० करोड | स्थानीय तोरी खेती घट्दा कच्चा पदार्थ र दाना आयात बढेको। |
| Ch 09 | चिया, कफी र मसला | ९ अर्ब ४० करोड | ९.४० अर्ब आयात हुँदा १७.२९ अर्बको निर्यात (७.८८ अर्ब नाफा)। |
| Ch 04 | डेयरी उत्पादन (दूध, चिज, बटर) | ५६ करोड ५८ लाख | मिल्क होलिडेको मार कायमै रहँदा विदेशी दुग्ध पदार्थ आयात। |
| Ch 02 | मासु (Meat Products) | १ करोड १७ लाख | मासुमा आत्मनिर्भरता नजिक रहेकाले आयात निकै न्यून। |
वि.सं.२०८३ असार ८ सोमवार १७:२० मा प्रकाशित






























