back
CTIZAN AD

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

वि.सं.२०८३ असार ९ मंगलवार

336 

shares

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय निःशुल्क योग शिविर भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा तथा नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल, हिमालयन वेलनेस फाउन्डेसन र गोरखनाथ कल्याण केन्द्र गोरखाको सह–आयोजनामा सम्पन्न उक्त शिविरमा करिब २०० जनाको उत्साहजनक सहभागिता रहेको थियो।

जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, गोरखा जिल्ला अदालतका प्रमुख न्यायाधीश विष्णुप्रसाद गौतम, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर पुन, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के लगायत सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आधुनिक जीवनशैलीका कारण बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा नसर्ने रोगहरूबाट बच्न योग प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले योगलाई केवल शारीरिक अभ्यास नभई स्वस्थ, अनुशासित र सन्तुलित जीवन निर्माण गर्ने जीवनपद्धतिका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

“योगले शरीरलाई मात्र स्वस्थ राख्दैन, यसले मन, विचार र व्यवहारलाई समेत सकारात्मक दिशातर्फ उन्मुख गराउँछ,” उहाँले भन्नुभयो। “आजको व्यस्त र प्रतिस्पर्धात्मक जीवनमा योगको महत्व झन् बढ्दै गएको छ, त्यसैले प्रत्येक नागरिकले योगलाई आफ्नो दैनिक जीवनशैलीको अभिन्न अंग बनाउन आवश्यक छ।”

उहाँले जिल्ला प्रशासन कार्यालयले नागरिक स्वास्थ्य, सचेतना तथा कल्याणका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिविरका मुख्य प्रशिक्षक योगी अशोक शर्मा भट्टले योग, ध्यान, प्राणायाम तथा हठयोग सम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले योगलाई केवल शारीरिक व्यायाममा सीमित नराखी समग्र जीवन रूपान्तरणको माध्यमका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार नियमित योग अभ्यासले शरीर स्वस्थ, मन शान्त र जीवन अनुशासित बनाउन सहयोग पुर्‍याउँछ।

त्यसैगरी प्रशिक्षकहरू शबनम खड्गी, अच्युतकृष्ण शरण तथा यलिस बन्जारा देवेन श्रेष्ठले योग अभ्यास, प्राणायाम, ध्यान तथा साउन्ड हिलिङ सम्बन्धी प्रयोगात्मक सत्र सञ्चालन गर्नुभएको थियो। सहभागीहरूले विभिन्न आसन, श्वास–प्रश्वास विधि तथा ध्वनि चिकित्सामार्फत मानसिक शान्ति र सकारात्मक ऊर्जा प्राप्त गर्ने उपायबारे जानकारी लिएका थिए।

कार्यक्रममा नेपाल योग तथा साधनाको प्राचीन भूमि भएको उल्लेख गर्दै गोरखा महायोगी गुरु गोरक्षनाथ र माता गोरखकालीको पवित्र केन्द्रका रूपमा रहेको धारणा व्यक्त गरिएको थियो। गोरखालाई विश्व योग केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे समेत चर्चा गरिएको थियो।

शिविरमा सहभागी सुरक्षा निकायका कर्मचारी, सरकारी सेवक तथा स्थानीय नागरिकहरूले योगले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको अनुभव साझा गर्दै यस्ता कार्यक्रम गाउँ–गाउँसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

आयोजक तथा सह–आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले समाजमा स्वास्थ्य चेतना, सकारात्मक सोच, आत्मअनुशासन तथा आध्यात्मिक जागरण बढाउने विश्वास व्यक्त गरेका छन्।

वि.सं.२०८३ असार ९ मंगलवार ०७:४१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...