१५ मङ्सिर, काठमाडौँ । जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरा माथि मुद्दा दायर गरिएको छ ।
गाउँपालिका वडाका सचिव यादव र कार्यालय सहयोगी हजरा समेतले वृद्ध भत्ता तथा विधवा भत्तासमेत वितरण गरेवापत प्रत्येक व्यक्तिसँग घुस रकम लिइरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा निजहरुले राज्यले असहाय तथा असक्त नागरिकहरुलाई संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकमबाट कानूनविपरीत रकम लिन मन्जुर गरेको देखिएकोमा निजहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १५ आइतवार १५:१७ मा प्रकाशित






























