
४,पुस, एथेन्स । आप्रवासी शरणार्थीले शिविरमा अत्यधिक भीड भएको भन्दै व्यवस्थापनका लागि माग गर्दै गरेको प्रदर्शनमा ग्रीकको सामोस टापुमा बिहीबार प्रहरीले शरणार्थीमाथि अश्रुग्यास प्रहार गरेको राज्य सञ्चालित समाचार संस्था एएनएले जनाएको छ ।
खासगरी अफ्रिकाबाट शरणार्थीका रूपमा युरोप पुगेका शिविरमा बस्दै आएका आप्रवासीहरूले शिविर नजिकैको सडकलाई अवरूद्ध गरेपछि प्रहरीले सडक खाली गर्ने क्रममा केही व्यक्तिले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका र प्रतिक्रियामा प्रहरीले अश्रुग्यास प्रहार गरी भीड नियन्त्रण गरेको एएनएले बताएको छ ।
सामोसमा ग्रीस भएर युरोप तथा अमेरिका जाने शरणार्थीहरूलाई राखिएका पाँचमध्ये एक शरणार्थी शिविर रहेको छ । ग्रीसमा विभिन्न देशबाट टर्की हुँदै शरणार्थीहरू पुग्ने गरेका छन् । अत्यधिक ६५० जनाका लागि व्यवस्था गरिएको सामोस शिविरमा करिब सात हजार ५०० शरणार्थी राखिएपछि उनीहरूले शिविर व्यवस्थापनका लागि माग गर्दै सडक अवरूद्ध गरेका थिए । शिविरमा सुविधा नपुगेपछि उनीहरूले पाल टाँगेर बोरा ओढी रात बिताउनु परेको भन्दै उनीहरू आन्दोलित भएका बताइएको छ ।
ग्रीसको सरकारले शरणार्थीलाई कम्तीमा पाँच हजार क्षमताको शिविर निर्माण गरी राख्न दिएको निर्देशनलाई स्थानीय अधिकारीले शरणार्थीको सङ्ख्या र शिविरको क्षमता बढाउने नभई उनीहरूलाई त्यहाँबाट हटाउनुपर्ने भन्दै निर्देशनलाई अटेर गर्दै आएका छन् ।
सामोसका नगर प्रमुख यौरगोस सान्जोसले सरकारले नयाँ शिविरको योजना नरोकेमा आफूले पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।मङ्गलबार स्थानीय समाचार संस्था सामोस डटकम जीआरले सान्जोसले आप्रवासी शरणार्थीलाई शिविरबाट बाहिरिन चर्को स्वरमा गरेको निर्देशन र आक्रोशपूर्ण अभिव्यक्तिपछि उनीहरूलाई धकेलेको समाचार प्रकाशित गरेको थियो ।
नगर प्रमुखले भने, “उनीहरू (शरणार्थी) ले हाम्रो भूमि ओगटेका छन् । उनीहरूले यो क्षेत्र छोड्नुपर्छ । अर्को समाधान छैन ।” उनले शरणार्थीको एक समूहले पाँच कारमा आगजनी गरेको भन्दै सुरक्षाका लागि उनीहरूलाई हटाउनुपर्ने बताएका थिए । यसै विवादपछि शरणार्थी सडकमा उत्रिएका हुन् ।
युरोप छिर्नका लागि आप्रवासीहरूले सामोसलगायतका नाकाहरूको प्रयोग गर्ने गरेका छन् । राष्ट्रसङ्घ शरणार्थी नियोगले ग्रीसको बाटो युरोप आउने शरणार्थी सङ्ख्यामा विगत केही वर्षमा कमी आएको भए पनि यस वर्ष समूद्रको बाटो भएर ५५ हजार र टर्की हुँदै जमीनको बाटोबाट १४ हजार शरणार्थी ग्रीस पुगेको तथ्याङ्क छ ।
शिविरमा पुगेका अधिकारकर्मी तथा चिकित्सकले शिविरमा शरणार्थीको अवस्था निकै दयनीय रहेको बताएका छन् । स्थानीय तथाकथित सम्पन्न व्यक्तिले खासगरी शिविरमा रहेका महिला तथा बालबालिकालाई यौन शोषण गर्ने गरेको शरणार्थीलाई उद्धृत गर्दै चिकित्सक तथा अधिकारकर्मीले बताएका छन् ।
वि.सं.२०७६ पुस ४ शुक्रवार १०:०७ मा प्रकाशित