२४ मङ्सिर,धनगढी। केही दिन देखिको हुस्सु तथा कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् ।
जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् । शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् । यहाँ चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताउनु भयो ।
निरन्तर लाग्ने हुस्सुका कारण भिजिबिलिटी कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिनुभयो।
बन्दले जनजीवन प्रभावित
सीमाङ्कनमा असहमति राख्दै आन्दोलनमा उत्रिएका थरुहट÷थारुवान सङ्घर्ष समितिले गरेको बन्दका कारण आज पनि कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण यातायात, व्यापार, व्यवसाय, शैक्षिक संस्था ठप्प भएपछि जनजीवन समेत प्रभावित बनेको हो । आज पनि धनगढी बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी तथा मालबाहक साधन चल्न सकेका छैनन् । सङ्घर्ष समितिले कञ्चनपुरदेखि नवलपरासी जिल्लासम्मको क्षेत्रलाई थरुहट थारुवान प्रदेश बनाउन माग गर्दै आएको छ । पछिल्लो पटक सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा सङ्घर्ष समितिले असहमति राख्दै आएको छ । तीन दिनदेखि यहाँ एकपछि अर्को गर्दै भइरहेका बन्दका कार्यक्रमबाट बुधाबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव समेत प्रभावित भएको छ । रासस
वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०६:५४ मा प्रकाशित




























