back
CTIZAN AD

स्ववियु निर्वाचन अन्योलमा, यसपटक पनि निर्धारित समयमा नहुने

वि.सं.२०७६ फागुन १ बिहीवार

612 

shares

१ फागुन, काठमाडौँ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको छ ।

विद्यार्थी सङ्गठनबीच निर्वाचन गर्ने बारेमा सहमति हुन नसक्दा त्रिविले यही फागुन १४ गतेका लागि तोकेको स्ववियु निर्वाचन निर्धारित समयमा नहुने निश्चित भएको हो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो ।

प्रत्येक दुई\दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुनसकेको छैन । फागुन १४ गते नजिकै आउँदा न निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ न क्याम्पसले नै तयारी गरेका छन् । निर्वाचनका लागि त्रिविले सम्पूर्ण तयारी गरे पनि विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन सार्नुको विकल्प नभएको त्रिविको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए।

त्रिविमा विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन हुनसकेको छैन । तीन वर्षअघि विसं २०७३ मा भएको निर्वाचन २५० क्याम्पसमा मात्र भएको थियो । प्रत्येक दुई\दुई वर्षमा हुने स्ववियु निर्वाचन निर्धारित समयमा हुन नसक्दा विद्यार्थी आन्दोलन नै शिथिल भएको छ । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली, उमेरहदबन्दीका कारणले स्ववियु निर्वाचन विगत १० वर्षदेखि हुन नसकेको हो ।

उनका अनुसार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने माग राखेपछि निर्धारित समयमा निर्वाचन गर्न नसकिने भएको हो । फागुन १४ गतेका लागि निर्धारण गरिएको निर्वाचनको कम्तीमा २० दिन पहिला निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने थियो । तर अहिलेसम्म पनि कार्यतालिका सार्वजनिक नगरिएकाले निर्वाचन तोकिएको समयमा नहुने निश्चित भएको हो ।

“यदि विद्यार्थी सङ्गठन सहमति गरेर आउँछन् भने अहिले पनि निर्वाचन गर्न सकिन्छ”, थापाले भने‘‘तर नेविसङ्घले नयाँ शिक्षाध्यक्ष नियुक्त नहुँदासम्म निर्वाचन प्रक्रियामा नै भाग नलिने भनेपछि निर्वाचन तोकिएको समयमा असम्भव भएको हो ।” विद्यार्थी सङ्गठनको सहमतिमा करीब एक महिना निर्वाचन सार्ने त्रिविको तयारी छ । त्रिविमा अहिले शिक्षाध्यक्ष रिक्त रहेकाले कायममुकाय शिक्षाध्यक्ष शिवलाल भुसाल रहेका छन् ।

थापाले विद्यार्थी सङ्गठनसँग पुनः छलफल गरेर नयाँ मिति तय गर्ने बताए । त्रिविले ६२ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न क्याम्पस प्रमुखलाई पत्र पठाइसकेको थियो । पत्रअनुसार ती क्याम्पस स्ववियु निर्वाचनको तयारीमा जुटेका थिए । तोकिएको निर्वाचनका लागि यही फागुन ४ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गर्ने प्रस्ताव गरिएको थियो ।

नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सनाले अहिलेको त्रिविको गतिविधिले निर्वाचन हुन नसक्ने बताए । उनले आफ्नो सङ्गठन निर्वाचनका लागि जहिलेसुकै तयार रहेकाले निर्वाचनको वातावरण त्रिविले बनाउनुपर्ने बताए । “निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त छ”, उनले भने, “निर्वाचन समितिका संयोजकबिनाको स्ववियु निर्वाचन हुन सक्दैन, संयोजक नियुक्त गरेर त्रिविले निर्वाचनको वातावरण बनाउनुपर्दछ ।”

अनेरास्ववियुका केन्द्रीय सदस्य आरसी लामिछानेले नेविसङ्घले शिक्षाध्यक्ष नियुक्तिमा बखेडा झिकेर १० वर्षपछि हुन थालेको निर्वाचनमा फेरि अन्योल गराएको बताए । उनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको साख गिरेकाले नेविसङ्घसँग छलफल गरेर निर्वाचन गर्नुपर्ने बताए ।

त्रिवि सभाका सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्र शाहीले फागुनमा निर्वाचन हुन नभएपछि चैतमा गर्ने भन्नेबारेमा छलफल भइरहेको बताए । त्रिविले विसं २०७३ देखि निर्वाचन २८ वर्षे उमेरहदबन्दी र मिश्रित निर्वाचन प्रणाली गर्दै आइरहेको छ ।रासस

वि.सं.२०७६ फागुन १ बिहीवार १४:४९ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...