६ फागुन, काठमाडौं । चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरसका कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको हो । उनी कोरोनाका कारण ज्यान गुमाउने दोस्रो डाक्टर भएका छन् ।
यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । उनीमाथि कारबाही पनि गरिएको थियो ।
चीनमा कोरोना भाइरसका कारण सोमबारसम्म एक हजार आठ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ । सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ । कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक एक जनाको ज्यान गएको छ ।
वि.सं.२०७६ फागुन ६ मंगलवार १५:२९ मा प्रकाशित



























