२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक अस्पतालको शैयाबाट सन्देश पठाएका छन् । सन्देशमा उनले आफ्नो स्वास्थ्य तीव्र रुपमा सुधार भएको भन्दै छिट्टै काममा फर्केने बताएका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहाकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले यस्तो सन्देश पठाएको उल्लेख गरेका छन्। रिमालले लेखेका छन्, “सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अवसर मिल्यो। ‘साथीहरुलाई भनिदिनुस, मेरो स्वास्थ्य तीव्रगतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’ धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू !”
ओलीको त्रिवि शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जी समीक्षा संग्रौलाको मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले राम्रोसँग काम गर्न थालेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
वि.सं.२०७६ फागुन २३ शुक्रवार १३:५२ मा प्रकाशित






























