२९ चैत्र, काठमाडौँ । कोरियामा रहेका नेपालीहरुले पठाएको स्वास्थ्य सामाग्री औपचारिक रुपले नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित संक्षिप्त हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई सामग्री हस्तान्तरण गरेका थिए ।
कोरियामा रहेका नेपालीहरु र विभिन्न संस्थाको सक्रियता तथा एनआरएनए कोरियाको संयोजनमा उठेको १ करोड ४० लाख रुपियाँ मध्ये झण्डै ६० लाख रुपियाँ बराबरको ४ हजार किट र ५०० थान HPPE (उच्च पिपिइ) सरकारलाई हस्तान्तरण गरिएको संघका प्रतिनिधि विश्वमणी दाहाल र याम श्रेष्ठले बताएका छन् ।
कोरियाका लागि पूर्व कार्यबाहक राजदूत यादव खनाल र सामाजिक व्यक्तित्व रघु त्रिपाठी लगायत विभिन्न संघसंस्थाका व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रममा ‘राहत अनुगमन तथा सुपरीवेक्षण समिति’का संयोजक रुद्र शर्माले नेपालको विपत्तिमा कोरियामा रहेका नेपालीहरु सँधै अग्रपंक्तिमा रहने गरेको बताउँदै आइसकेका सामग्री ठिक ठाउँमा प्रयोग हुने र चीनमा आइसकेको सामग्री सरकारले छिट्टै ल्याउने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा एनआरएनएको यस्तो अभियान अझ बढ्ने जानकारी गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक डा. हेमन्त दवाडीले दिएका थिए भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मुलुकलाई चाहिएको बेला ठिक सामान आएकोमा कोरियामा बस्ने नेपालीहरुप्रति आभार व्यक्त गर्दै सामानको सहि प्रयोग हुने विश्वास व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रम आयोजक सुत्रका अनुसार विमानस्थल देखि भन्सार र स्वास्थय मन्त्रालयमा हस्तान्तरण गर्ने काम सम्मका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालयबाट सहजीकरण भएको थियो ।
वि.सं.२०७६ चैत २९ शनिवार १८:१८ मा प्रकाशित






























