१४ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता वामदेव गौतमले प्रधामन्त्री केपी शर्मा ओली र आफ्नो बीच भएको कुराकानीका सन्दर्भमा विभिन्न किसिमले टिकाटिप्पणी आएपछि त्यसबारे प्रष्ट पारेका छन् ।
वामदेव गौतमले तपाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भनेर ओलिलाई सुझाव दिएको भन्दै टिकाटिप्पणी आएपछि प्रेस नोट निकाल्दै नेता गौतमले शनिबार प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको स्पष्ट पारेका हुन्।
उनले भनेका छन् ‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेरा बीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच र अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएका थिए ।’
उनले आफूले प्रधानमन्त्रीसँग पार्टीभित्रको समस्या समाधानका लागि तत्काल सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको बताएका छन् ।
प्रेस नोटमा भनिएको छ – ‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कामरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नुस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।’
अध्यादेश खारेज गरेपछि पनि पार्टी भित्र उत्पन्न समस्या समाधान गर्न पार्टी कमिटीलाई वाइपास गरेर नभै प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर सबै किसिमका विचारहरुको सामाना गरेर मात्र गर्न सकिने आफूले सुझाव र दिएको प्रधानमन्त्रीले पनि धैर्यतापूर्वक सुनेको बताएका छन् ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १६:४८ मा प्रकाशित





























