back
CTIZAN AD

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

वि.सं.२०८२ फागुन २९ शुक्रवार

477 

shares

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो । अचेल आधाभन्दा बढी घर खाली भइसकेका छन् । घर भत्किँदै छन्, खेतीयोग्य जमिन झाँडीले ढाक्दै गएको छ ।

ढुकुरे डाँडागाउँको गर्भवती आधारभूत विद्यालयको नजिकै कुनै बेला १३ परिवारको बसोबास थियो । हाल विद्यालय अगाडिपट्टी कालुराम कार्की र तलपट्टी एक अर्को गरी केवल दुई परिवारको बसोबास छ । यहाँबाट तीन घण्टाको दूरीमा तमोर करिडोर सडक हुँदै धरान पुग्न सकिन्छ । विद्युत् पनि विस्तार भएकाले अँध्यारोमा बस्नुपरेको छैन । ढुकुरेमै नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन राखिएको छ । ढुकुरेभन्दा मुनि तमोर करिडोरमा पर्ने लखुवा दोभानदेखि तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ । यहाँ विकास गाउँ पस्दैछ, तर मान्छे बसाइँ सर्दैछन् । गाउँमा मानिसहरु भेट्न मुस्किल छ ।

स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अधिकांश छिमेकीले बस्ती छोडिसकेका छन् । उहाँ भने गाउँ छोडेर नजाने अठोटमा छन् । “मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती सुनसान रहेको देखिसके । जङ्गलले ढाक्दै लगेको छ । बस्नेहरुको मनमा कुनै चमक छैन, न भविष्यप्रतिको कुनै आशा नै छ”, उनले भने ।

कार्कीका अनुसार यहाँ बसाइँ सर्नुको मुख्य कारणमा पानीको अभाव हो । “विसं २०७४ देखि केही वर्ष यहाँ वर्षा भएको छैन । वर्षा त हुन छाडेकै थियो, त्यसमाथि पिउने पानीका मुहान पनि सुक्दै गएका छन् । खानेपानीको हाहाकारजस्तै छ । त्यसैले पनि यहाँ बस्ने अवस्था छैन”, उनले भने ।

गर्भवती आधारभूत विद्यालयको आसपासबाट ११ परिवार मात्रै होइन, ढुकुरेको तल्लो गाउँबाट पनि सात घर बसाइँ सरिसकेका छन् । कार्कीका अनुसार डाँडागाउँभन्दा माथिबाट मात्रै १७ घर बसाइँ सरेका छन् । “६० भन्दा बढी घर भएको ढुकुरेमा हाल २५ परिवार मात्रै छौँ होला । आधाभन्दा बढी बसाइँ सरिसकेका छन”, उनले भने, “अब हामी मात्रै बाँकी रहने अवस्था बनेको छ । यहाँ सडक र विद्युत् सुविधा सहज भएको छ, तर खानेपानीको अभाव भएकाले समस्या भएको हो । यो समस्या समाधान भए बसाइँसराइ रोकिन्थ्यो कि !”

जमिन सुक्खा भएपछि आम्दानीका स्रोत पनि सुक्दै गएका छन् । आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ ।

यहाँ करोडौँको लगानीमा आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिएको छ, तर पनि सबै ठाउँमा खानेपानी सुविधा दिन सकिएको छैन । “पम्पिङ खानेपानी पनि जोडेका छौँ, पानी आउँछ भनेको पनि धेरै भइसक्यो, तर चल्छ जस्तो लागेको छैन”, कार्मीले भने, “चार ठाउँबाट पम्पिङ गरेर पानी माथि ल्याउनुपर्ने हुन्छ । कहिले विद्युत् अवरुद्ध हुने त कहिले मेसिन बिग्रने समस्या छ । गाउँपालिकाले सञ्चालन गर्ने त भन्छ, तर काम भएको छैन ।”

कालुमानकी श्रीमती सरिता कार्की कुनै समय गुल्जारजस्तै लाग्ने बस्ती खाली भएको देख्दा आफूलाई उदेक लागिरहेको बताउँछन् । “पहिले त छरछिमेक थिए, दुःख सुख बाँड्थ्यौँ, अहिले बाँझा घर हेरर उदेक लाग्छ । दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ”, उनले भने ।

लखुवा–मौवा सडकको दायाँतर्फ आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको घर छ । उनकोे घरमा बस्ने लीला दाहाल यहाँबाट बसाइँ सरेर तुम्बेवा–१ कै पसलटार गएका छन् । पानी नभएपछि बसाइँ हिँड्नुपरेको उहाँको गुनासो छ । “यहाँ नजिकै खानेपानीका मुहान छैनन् । धेरै माथिबाट ल्याएको सानो पानी सबैले बाँडेर खानुपरेको छ । हुन त पम्पिङ गरेर पानी ल्याइएको छ, त्यसले काम गरेको छैन । अभाव भएपछि के गर्नु, बसाइँ सर्नुको विकल्प छैन”, दाहालले भनेका थिए,“पसलटारमा खानेपानीको केही सुविधा छ, यहाँ (ढुकुरेमा) पानीको हाहाकार हुने अवस्था आएपपछि उतै सर्न लागेका हौँ ।”

छपन्न वर्षीया टुकमाया दाहालका छरछिमेकी पनि सकिँदै गएका छन् , उनकोे परिवार भने यही बसिरहेको छ । “वरिपरिका सबै छिमेकी र आफन्त बसाइँ सरिसके । हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गर्नुको विकल्प पनि रहेन”, उनले भने ।

तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङ पानीको समस्या नै बसाइँसराइको प्रमुख कारण बनेको बताउँछन् । आहाले क्षेत्रका २३ परिवारले नजिकको मुहान सुकेपछि करिब निकै समस्या भोग्नुपरेको उनले बताए । “हाल घण्टौँ लगाएर पानी थाप्नुपर्छ । दिनमा जम्मा चार÷पाँच गाग्री पानी थाप्न पाइन्छ । पानी थाप्नकै लागि अरू काम छोड्नु परिरहेको छ”, घिसिङले भने ।

आहालेकै कुलबहादुर तामाङका अनुसार आङ्ना–मौवा बृहत् खानेपानी आयोजना गत स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो । अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भएको छ भने उपभोक्ताले धारा जडान गरिसकेका छन्, तर पानी वितरण भएको छैन । “चुनावअघि खानेपानी आउँछ भनेर आयोजनाको उद्घाटन गरियो, तर हालसम्म पानी आएको छैन”, तामाङले भने, “फेरि चुनाव आयो तर पानी आएन ।”

तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की खानेपानी अभावले निकै समस्या भोग्नुपरेको बताउँछन् । “ट्याक्टरमा पानी ल्याएर गुजारा गरिरहेका छौँ । ट्याक्टरले पनि भनेको बेला ल्याइदिँदैन, त्यो पनि खोलाकै पानी ल्याइदिन्छ”, उनले पीडा सुनाए ।

तुम्बेवा–३ मौवा बजारका सीताराम थापाले खानेपानीका लागि पुराना मुहानकै भर पर्नुपरेको र ती मुहान सुक्दै गएकाले अभाव बढ्दै गएको बताए । खानेपानी आयोजनाले लगानीअनुसार प्रतिफल दिएको भए यस्तो समस्या नआउने उनकोे बुझाई छ ।

आङ्ना मौवा बृहत् खानेपानी तथा सरसरफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवान भने तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि खानेपानी पम्पिङको काम सहज हुँदै गएको बताउँछन् । सम्पवेलमा पानी सङ्कलन र सञ्चालन राम्रोसँग भए पनि वितरण हुन नसकेको उनले बताए ।

“समस्या समाधानको प्रयासमै छौँ । पानी वितरणका लागि सबैले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता छ । समितिसँग मर्मतसम्भार र संरचना निर्माण गर्ने बजेट छैन । गाउँपालिकाले बजेट छुट्याएको सुनेका छौँ, तर तत्कालै निकासा हुने अवस्था छैन । बजेट व्यवस्थापन भएमा विगतका जस्तो समस्या हुँदैन”, उनले आश्वस्त पार्दै भने ।

वि.सं.२०८२ फागुन २९ शुक्रवार १७:१३ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...