१९ बैशाख, काठमाण्डौं । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट (BEST POLICE OF THE MONTH) प्रहरी घोषित भएकी छन् ।
विभागिय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै प्रदेश नम्बर १ प्रहरी कार्यालयले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
मगरले उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचालित प्रहरी जवान आधारभुत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा प्रशिक्षण गराउने क्रियाकलापमा उत्प्रेरित गरेको, प्रशिक्षण सामाग्रीहरुको उचित प्रयोग गरी प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरेको, दक्ष, अनुशासित, नागरिकमैत्री तथा व्यवसायिक प्रहरी उत्पादनमा विशेष भूमिका निर्वाह गरेको तथा विभागीय नीति निर्देशन, प्रशिक्षण केन्द्रको स्थायी आदेशको अक्षरश पालना गरेको भन्दै मगरलाई चैत्र महिनाको सर्वोत्कृष्ण प्रहरी घोषणा गरिएको बताइएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको पनि बताइएको छ ।
वि.सं.२०७७ वैशाख १९ शुक्रवार ११:४९ मा प्रकाशित






























