२२ बैशाख, बाँके । नेपालगन्जमा १६ जना कोरोनाका संक्रमित भेटिएसँगै यहाँको सुरक्षा व्यवस्था र स्वास्थ्य परीक्षणमा सम्बन्धित निकायको विशेष ध्यान गएको छ । प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा सोमबार बुटवलबाट किट नेपालगन्ज आएसँगै स्वाब परीक्षण सहज हुने भएको छ ।
स्वास्थ्य परीक्षणका लागि किट अभाव भएको भनिए पनि सोमबार ५०० थान किट बुटवलबाट नेपालगन्ज आएसँगै स्वाब परीक्षण सहज हुने स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् । उनका अनुसार मङ्गलबारसम्मका लागि किट थियो, सोमबार नै थप किट आएपछि अब बाँकेमा केही दिनका लागि किट अभाव हुँदैन । श्रेष्ठले भने, ‘अब परीक्षणको दायरा पनि बढाउँछौं ।’
उनले अहिले आएको किट पनि पर्याप्त नहुने भन्दै केन्द्रसँग थप माग गर्ने बताएका छन् । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले किटको अभाव नरहेको भन्दै परीक्षणको कामलाई तीव्रता दिइएको बताए । उनले भने, ‘अब किटको अभाव नहुने र परीक्षणको दायरा बढाइनेछ ।’
शुक्रबार नेपालगन्जमा एक ६० वर्षिय बृद्धलाई कोरोना पोजेटिभ देखिएपछि नेपालगन्जबासी त्रसित बनेका थिए । त्यसको दुई दिन नबित्दै नेपालगन्जमा १५ जनामा कोरोना संक्रमित भेटिएपछि थप त्रास बढेको छ । नेपालगन्ज उपमहानगरपालिका–८ स्थित जोल्हनपूर्वा्स्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पढाउने व्यक्ति) मा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । मोअज्जीनलाई कोरोना देखिएपछि पुरै टोललाई सिल गरेर शनिबार ९० जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये १५ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशनमा राखिएको छ । अझै केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।
संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले संक्रमित भेटिएका नेपालगन्ज डिएसपी रोड, महेन्द्र पार्क, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पूर्णरुपमा सिल गरेर ‘कन्ट्रयाकट ट्रेसिङ’ गरिरहेको छ । बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार संक्रमण पुष्टि भएसँगै संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्नका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु ‘कन्ट्रयाकट ट्रेसिङ’मा जुटिरहेका छन् । रासस
वि.सं.२०७७ वैशाख २२ सोमवार २०:२० मा प्रकाशित






























