back

भनिदेउन हे समाज, मेरी आमा बोक्सी कसरी ?

वि.सं.२०७३ पुस ९ शनिवार

561 

shares
GLOBAL IME AD
NTC AD

chanda

यदि मेरी आमा अन्धविश्वासमा जकडिएर समाजले भन्ने गरेको कथित बोक्सी नै हुनुुहन्थ्यो भने, कसैलाई थाहा नदिइ लामाले बोक्सीलाई बान हानेर मार्छु भने जसरी बान हानेजस्तो गरी तर्साउन सक्नुहुन्थ्यो  ती बोक्सीको आरोप लगाउनेहरुलाई । आमामा त्यस्तो शक्ति नै थियो भने, धनीका सम्पत्ति अदृश्य रुपमा लुटेर गरिवको पोल्टामा राखिदिनुहुन्थ्यो होला ।

हाम्रो नेपाली समाजमा पछिल्लोपटक धेरै आमाहरु, धेरै दिदीबहिनीहरु अनि बृद्ध र रोगी गरिवी र पीडाले पिल्सीएका तथा झुत्रो लुगा लगाएका बाबुहरु बोक्सीको नाममा, कुटिने, पिटीने, लछारिने, गाउँ निकाला र ज्यान गुमाउने सम्मका घटना घटिरहेका छन दिनहुँजसो । केही घटना बाहिर आउने गर्छन, भने धेरै घटना गाउँले र छिमेकको गर्भमा नै रहन्छ । त्यस्तै घटना काभ्रेको बल्थलीमा पनि भयो । जहाँ तीन छोराछोरीकी आमा ३२ वर्षे लक्ष्मी परियारले सिंगो समाजको घृणित सोच र योजनाबाट ज्यान गुमाउनु प¥यो बोक्सीकै नाममा ।
मैले सानैमा भोगेको एउटा घटनाले सधै झस्काइरहन्छ मलाई । मेरी आमा त्यतिधेरै पढेकी हुनुहुन्न । सानोमा सुशीला दिदीले आमालाई क ख लेख्न सिकाउनु हुन्थ्यो । बाबा दिल्लीमा काम गर्नुहुन्थ्यो । मेरो मानसपटलमा सम्झना भए अनुसार मैले क ख जानेपछि एउटा कुरा खरर पढे सधै । त्यो थियो,मेरो घरको भित्तामा झुण्डिएको क्यालेन्डर । बाबाले दिल्लीमा काम गर्ने बुद्धिराजा टेक्सटाइल कम्पनीको क्यालेन्डर झुण्डिएको हुन्थ्यो । त्यो मैले खुब पढेर मनमा राखेकी थिए । मेरो बाबाले काम गर्ने ठाउँ यहि हो भन्ने । त्यसैले आजपनि त्यो कम्पनीको नाम सम्झिन्छु र कल्पन्छु बाबाले काम गर्नुभएको त्यो नामको कम्पनी अझै छ होला की छैन होला दिल्लीमा ?
हो त्यतिबेला हो नै हो, मेरी आमालाई सुशीला दिदीले पढ्न सिकाएको । दिदीले कुन उद्धेश्यले सिकाउनु भयो थाहा भएन । सायद त्यतिबेला हाम्रो गाउँमा प्रौढ शिक्षाको लहर पनि चलेको थिएन । नत मेरी आमा प्रौढ शिक्षा पढ्ने विद्यार्थी नै हुनुहुन्थ्यो । सायद मैले जान्दा त्यतिखेर मेरी आमा ३०–३२ की हुनुहुन्थ्यो होला । पक्कै पनि आमालाई दिदीले यहि भनेर पढ्न र लेख्न सिकाउनु भएको थियो, बाबाले त्यतिबेला दिल्लीमा बस्दा सन्चो बिसन्चो लेखेर पठाएको चिठ्ठी आमाले राम्ररी लेख्न नजाने पनि पढ्न जान्नुहुन्छ भनेर । श्रीमान श्रीमतीका चिठ्ठीभरी लेखिएका घरपरिवारका कथा र माया भरिएका शब्द दिदीलाई नै पढ्न दिनुहुन्थ्यो त्यसैले पनि दिदीले अर्काको घरपरिवारको कुरा आफूले थाहा पाउन नपरोस् भनेर आमालाई पढ्न सिकाउनु भएको थियो होला ।
हो, मेरी आमाले कहिल्यै स्कुलको ढोका कुच्नु भएन । नत मेरी आमालाई घरमै मास्टर राखेर पढाउने वातावरण बन्यो । नत आफ्ना आमा बाबुले आमालाई छोरीलाई पनि पढ्न पठाउनु पर्छ भनेर नै सम्झिए होलान् । तर, मेरी आमामा संसारकै ठूला विश्वविद्यालयमा पढेका मान्छे भन्दा कम ज्ञान थिएन र अहिले पनि राम्रै छ । मेरी आमाले व्यवहारिक शिक्षामा डिग्री गर्नु भएको छ , ठूला विश्वविद्यालयमा पढ्नु भएका विज्ञहरुलाई फेल खुवाइदिनु भएको छ यस मानेमा की मानविय स्वभाव, दया माया अनि समाजमा मर्दा पर्दा मेरी आमाका मन र हात सधै अरुको भन्दा पहिले उठ्छन् । आज पनि मेरी आमाले आफ्ना छोराछोरी सँगै र वरिपरी हुँदा पनि आफ्नो परिवार खोज्नु हुन्छ, छिमेक खोज्नुहुन्छ अनि कहाँ बस्नुहुन्छ भन्दा आफ्नो जन्म घर र आफ्नी आमा भन्दा पहिले आफ्नो कर्म घर रोज्नुहुन्छ । त्यहि छिमेकलाई रोज्नुहुन्छ अनि आफूनो जन्म घर छोडेर आएपछिको कर्म गरेको माटो सम्झनुहुन्छ ।

तर, त्यहि समाजले मेरी आमालाई एक दिन बोक्सी भन्यो । मेरो नजिकका नातेदारले तीनी दिदी त बोक्सी छिन रे, उनका अगाडि खानेकुरा लुकाएर लैजा है खानेकुरा, उनले हाम्रो दुध दिने भैसीको कल्चडो नदेखे÷ नहेरे पनि हुन्थ्यो । दूध सुकाइदिन्छिन् । यस्तै यस्तै धेरै कुरा । आमालाई नरमाइलो लाग्यो यस्तो कुरा सुनेपछि । समाजमा “फलानी बोक्सी हो” भन्दा त त्यसको प्रतिवाद गर्ने मेरी आमालाई आफूलाई बोक्सी भनेर आरोप लगाउँदा कस्तो भयो होला ? तर, पनि आमाले हिम्मत हार्नु भएन । जसले मेरी आमालाई बोक्सी भनेको थियो, त्यसलाई नै चौबाटोमा कपालमा समातेर लतारेर भन्नु भयो “लौ देखा बोक्सी कहाँ छ, ममा बोक्सी कहाँ छ ? अनि बोक्सी भनेको के हो ?” त्यसदिन वरपर हेर्ने मान्छेले मेरी आमाको हिम्मतको सम्मान सरहाना गरेका थिए । अनि नजिक रहेर हेर्नेहरुले आमाबाट केही संस्कार पनि सिकेका थिए की, नचाहिने कुरा र नहुने कुरा सहेर बस्नु हुँदो रहेनछ भन्ने.। यस्ता कुरामा आफू सजग र समाजमा त्यस्तो कुराको संस्कारको विकास नहोस् भन्नका लागि स्वयम आफू पनि जाग्नुपर्ने रहेछ भन्ने कुरा आमाले त्यो समाजलाई सिकाउनु भएको थियो त्यतिबेलानै । आमाले गरिव भएपनि उसको पनि जीवन हो, उसको पनि स्वाभिमान छ, अनि आफ्नो मानो खाएर सम्मानपूर्वक गरिवले पनि बाँच्न पाउनुपर्छ यो समाजमा भन्ने  सन्देश दिनु भएको थियो ।

मेरी आमामा कति साहस अनि संस्कार र दयामाया छ भन्ने मलाई एक दुईवटा घटनाले सिकाएको छ । झण्डै ५–७ वर्षअघिको कुरो हो । हामी डेरामा बस्ने घरमा एकजना दिदी आफ्ना दुई छोराछोरीसँग एउटा कोठा लिएर बस्नुहुन्थ्यो । उहाँले स्कुल पनि पढाउनुहुन्थ्यो । एकदिन उहाँले पढाउने स्कुलको बस पिकनिक गएर आउने क्रममा दुर्घटना भयो । उहाँ लगायत ६–७ जनाको निधन भयो । उहाँको शब सायद बालाजुको जनमैत्री अस्पताल हुनुपर्छ त्यहि राखिएको थियो । त्यतिबेला उहाँको स–साना छोराछोरी बाहेक अरु कोही थिएनन् यहाँ । हामी आमा र म बहिनी त्यहा उहाँको शब हेर्न गएका थियौ । प्रहरीले मुचुल्का उठाउन खोजेको थियो । तर, उहाँको शबबाट कपडा खोलिदिने कोही थिएन्, आमाले मलाई र बहिनीलाई पठाएर प्रहरीलाई सहयोग गर्न भन्नु भयो । बहिनी र म शबको नजदिक गयौं । शबमा दुर्गन्ध नआवोस भन्नका लागि मट्टितेल छर्किएको रहेछ । मैले दिदीको कपडा खोलिदिएर कहाँ कहाँ चोट लागेको छ भनेर मुचुल्का उठाउन सहयोग गरे । त्यतिबेला दिदीको हातबाट छाला खुइलिए जस्तो लागेको थियो । बेलुका घरमा आएर आमाले नुहाउन पठाउनु भयो अनि राम्रो काम ग¥यौं, सेवा गर्यो, अब नडराउ है केही हुन्न भनेर हामीलाई ढाडस दिनुभएको थियो ।

अर्को घटना थियो टिचिङ अस्पतालको । टिचिङ अस्पतालमा मेरो गाउँको भाइलाई गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । त्यतिबेलै काठमाडौंबाट हेलिकप्टर मगाएर भाइलाई नर्भिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो । नर्भिक अस्पतालमा उनको उपचारकै क्रममा मृत्यु भएपछि शब पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको थियो । पोस्टमार्टम सकेर अर्कोदिन घर लैजाने बेलामा १० १५ जना आफन्त तथा गाउँले दाजुभाइ टिचिङको शबगृह अगाडि थियौं । शबलाई माइक्रोमा लैजाने भन्ने निर्णय भयो । तर, शब गाडीभित्र लैजान र छुन कसैले मानेनन त्यहाँ । कसैले मेरी श्रीमतीको पेटमा बच्चा छ भने, कसैले मैले छुन्न भने, कोही पर पर सरे । यत्तिकैमा मैले आमाको मुखमा हेरे । आमाको आँखाले मलाई “तिमी शब बाध्न भित्र जाउँ” भनेर इसारा गरेको थियो । अनि म माइक्रो भित्र पसेर “ल शब झ्यालबाट पुग्न दिनुस्, म यताबाट तान्छु” भन्दै झ्यालबाट शब मागे । त्यसपछि बल्ल कोही शब दिन आयो । मैले झ्यालबाट शब तानेर पछाडिको लामो सिटमा राखे र घोप्टी परेर शब बाँध्दा मेरो छाति भाइको छातिमा छोइने गरेर शब बाँधेर बाहिर निस्किए । फेरि आमाले इसाराबाटै स्यावास भन्नु भएको थियो । आमाको अनुहारमा छोरीप्रति गर्व झल्किएको थियो । हो, मलाई त्यतिबेला समाजमा आइपरेका सबै काम गर्न सक्छु भन्ने साहस अझ बढेको थियो ममा ।

हामी कसैमा पनि गरिव देख्दैमा त्यो बोक्सी हुने, त्यसलाई सहयोग गर्न नहुने, त्यसको नजदिक जान नहुने भन्ने दम्भ राख्नु हुँदैन । समाजलाई सभ्य राख्न समाजमा सभ्यताको बिउ छर्न र मानवियताको बिरुवा हुर्काउन सबैले सबैलाई माया गर्नुपर्ने र गरिव नै किन नहोस् मागेर नै खाने किन नहुन् आफूभन्दा ठूला छन् भने सम्मान र साना छन भने माया गर्ने संस्कारको विकास हामी सबैले गर्नुपर्छ ।

यदि मेरी आमा अन्धविश्वासमा जकडिएर समाजले भन्ने गरेको कथित बोक्सी नै हुनुुहन्थ्यो भने, कसैलाई थाहा नदिइ लामाले बोक्सीलाई बान हानेर मार्छु भने जसरी बान हानेजस्तो गरी तर्साउन सक्नुहुन्थ्यो  ती बोक्सीको आरोप लगाउनेहरुलाई । आमामा त्यस्तो शक्ति नै थियो भने, धनीका सम्पत्ति अदृश्य रुपमा लुटेर गरिवको पोल्टामा राखिदिनुहुन्थ्यो होला ।
सफा सुग्घर, धनी, राम्रो मान्छे बोक्सीको रुपमा चित्र बनेर हाम्रो मनमा कहिल्यै आउँदैन् । केबल गरिव, बेसाहार, एक्ली, बोल्न नसक्ने, हिम्मत गर्न नसक्ने गरिव र झुत्रे झाम्रे मात्र मानसपटलमा बोक्सीको रुपमा चित्रित भएर बसेका हुन्छ्न् । त्यसैले त जसलाई सहारा दिनुपर्छ, जसलाई माया गर्नुपर्छ, जसलाई सहयोगको हात दिनुपर्छ अनि जसको संरक्षण गर्नुपर्छ उनैलाई मानवियताको पराकाष्ठा नाघेर बोक्सीको उपमा दिइरहेको हुन्छ यो समाज । कमजोरलाई प्रहार गर्ने मौका हेरेर बसेको हुन्छ पुरानो मानसिकता । मौका पाउँदा साथ कमजोरमाथि निर्मम प्रहार गरेर जंगली व्यवहार देखाउन कत्ति पछि पर्दैन हाम्रो रुढीवादी समाज ।
अन्धविश्वास र रुढीवाद, समाज रुपान्तरणका बाधक भएका कारण त्यसबाट सृजित घटनाक्रमलाई अक्षम्य अपराधका रुपमा परिभाषित गरेर दण्डीत भएको तथ्यलाई बढी सार्वजनिक गर्न नसकेसम्म न त मेरी आमाहरु बोक्सीको आरोपबाट मुक्त हुन्छन् न त विचरा लक्ष्मीहरुलाई न्याय दिन सकिन्छ ।

वि.सं.२०७३ पुस ९ शनिवार ११:३१ मा प्रकाशित

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालमा निजामति सुधारका बाटाहरु

नेपालको निजामती प्रशासनको इतिहास धेरै पुरानो भए पनि व्यवस्थित र...

सुदुरपश्चिममा बिद्यालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

सुदुरपश्चिममा बिद्यालय पुस्तकालय स्थापनाको अभियान : एक अनुभव

धनकुमार श्रेष्ठ  । नेपाल लाइब्रेरी फाउन्डेसनका पूर्व अध्यक्ष कपिलदेव थापाबाट...

आयुर्वेदमा सद्वृत्तकाे महत्व

आयुर्वेदमा सद्वृत्तकाे महत्व

१. पृष्ठभूमि शरीर तथा मन एक अर्काले प्रभावित हुने गर्छ...

ग्रे लिस्टमा पर्नु नेपालको लागि कति गम्भीर  ?

ग्रे लिस्टमा पर्नु नेपालको लागि कति गम्भीर  ?

नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले २ वर्षका लागि...

मानव शरीरका लागि कस्तो आहार खानु राम्रो ?

मानव शरीरका लागि कस्तो आहार खानु राम्रो ?

१. आहार तथा पोषण कुनै पनि खाद्यपदार्थलाई अन्नमार्गबाट ग्रहण गरेपछि...