१० जेठ, बेलायत । बेलायतमा रहेर नेपाली राजनीतिलाई सहयोग गरिरहेका राजनीतिक दल निकट संगठनहरु भारतद्वारा नेपाली भू-भाग माथि गरिएको अतिक्रमणको विरोधमा एक ठाउँमा उभिएका छन् ।
भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, महाकाली नदी हुँदै तिव्वतको मानसरोवर जाने सडक निर्माण गरेपछि बेलायतस्थित नेकपा, नेपाली काग्रेस, जनता समाजवादी पार्टी र राप्रपा पार्टी निकटका संगठनहरु एक ठाउँमा उत्रिएर भारतीय अतिक्रमणको विरोध गरेका हुन् ।
ती संगठनहरुले संयुक्त अधिराज्य बेलायतस्थित भारतीय हाई कमिसनमा हुलाकमार्फत् संयुक्त रुपमा ज्ञापनपत्र पठाएका छन् । पत्राचार गरी भारतद्वारा नेपालको सीमा अतिक्रमणको विरोध गर्नेमा नेकपा निकट प्रवासी नेपाली एकता मंच (ओएनयूएफ) युके, काग्रेस निकट नेपाली जनसम्पर्क समिति (एनपिसिसी) युके, जनता समाजवादी पार्टी निकट नेपाली समाज युके र राप्रपा निकट प्रवासी नेपाली एकता समाज युके छन् ।

ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, एनपिसिसी युकेका अध्यक्ष युवराज गुरुङ, एनएस युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र ओएनयूएस युकेका संस्थापक अध्यक्ष रोशन सापकोटाले संयुक्त रुपमा ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । प्रवासी नेपाली एकता मंच युकेले आफूसहित अन्य राजनीतिक दलका निकट संगठनहरुले संयुक्त रुपमा कार्यक्रम गरेको ओएनयूएफका सचिव सुरेश गौतमले जानकारी दिए ।
एक साताअघि प्रवासस्थित एनपिसिसीहरुले संयुक्त रुपमा सीमा अतिक्रमणको विरोध गरिसकेका छन् । शुक्रबार रेनर्सलेनस्थित एक हुलाक कार्यालयमार्फत पठाइएको उक्त ज्ञापनपत्र भारतीय हाई कमिसन बेलायत (लन्डन) मार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी पठाइएको छ । पत्रमा कुटनीति संवादमार्फत भारतले मिचेको भूमि फिर्ता गर्न आग्रह गर्दै नेपाल र भारतको ऐतिहासिक सम्बन्ध कायम राख्नु आग्रह गरिएको छ ।

भारत सरकारले लिम्पियाधुरा, लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी चीन हुँदै तिव्बतको मानसरोवर बाटो खोलेको थियो । सो अतिक्रमणको विरोधमा नेपाल सरकारले आफ्नो भू–भाग भएको जनाउँदै नक्सा समेत जारी गरेको छ । नेपाल सरकारको नयाँ नक्सा जारी गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको थियो भने सीमा अतिक्रमणको विरोधमा विदेशस्थित नेपाली संघसंस्थाहरुले आ–आफ्नो मुलुकमा रहेका भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई ज्ञापनपत्र बुझाई रहेका छन् ।
यसैबीच दिउँसो २ बजेर १५ मिनेटमा ज्ञापनपत्र पठाउनु अघि रेनर्सलेनका हुलाक कार्यालय बाहिर नेपालको नयाँ नक्सासहित उपस्थित भएका नेताहरुले सक्षिप्त सम्बोधन गरेका थिए ।
बेलायत सरकारको गाइडलाइन अनुसार सामाजिक दूरी कायम गरी संक्षिप्त प्रतिक्रिया दिँदै राजेन्द्र पुडासैनीले राष्ट्रिय एकतासहित प्रधानमन्त्रीले सीमा अतिक्रमणको विरोधमा उभिएको साथ दिनुपर्ने बताउँदै नेपाल र भारतीय जनताको सद्भाव लिएर अघि बढ्ने बताए ।
‘प्रमाणका आधारमा अतिक्रमित भूमि फिर्ता गर्नु पर्छ’, ओएनयूएफ युकेका अध्यक्ष राजेन्द्र पुडासैनी भने, ‘यसका लागि हामी एकै ठाउँमा छौँ । त्यसैले हामीले संयुक्त रुपमै विरोध गरेका हौं ।’
एनपिसिसी अध्यक्ष युवराज गुरुङले सीमा अतिक्रमण कुटनीतिक माध्यमबाट चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने बताए । ‘मातृभूमि अतिक्रणविरुद्ध बेलायतमै भएपनि राष्ट्रियताका लागि एक ठाउँमा उभिएको छौं,’ उनले भने, ‘यसका लागि कुटनीतिक पहल पनि आवश्यक छ ।’
एनएसयूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ सुगौली सन्धी अनुसार तत्काल जमिन फिर्ता गर्न आग्रह गरे । ओएनयूएसका संस्थापक अध्यक्ष रोशन सापकोटाले सीमा अतिक्रमणको विरोध गरे ।
वि.सं.२०७७ जेठ १० शनिवार १५:२४ मा प्रकाशित






























