१८ जेठ, काठमाडौँ । नेपालको लकडाउनका कारण रोकिएका हङकङ आईडी वाहक नेपालीहरु भोलि(सोमबार) हङकङ फर्कंदै छन् ।
हङकङ सरकारले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपालमा लकडाउनमा फसेका आफ्ना झन्डै ३ सय ३० जना नागरिकलाई हङकङस्थित नेपाली महावाणिज्यदूतावाससंग सहकार्य गरेर सोमबार १ जून २०२० को दिन दुईवटा चार्टड विशेष विमानमार्फत् हङकङ फिर्ता लान लागिएको जनाएको छ ।
हङकङ सरकारले दिएको सूचना अनुसार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा विशेष विमान मार्फत् हङकङ फर्कने सबै नागरिकहरुको डिपार्टमेन्ट अफ हेल्थ द्वारा एशियावर्ल्ड(AsiaWorld-Expo) मा कोरोना परीक्षण हुनेछ साथै उनीहरुलाई चुन युङ स्टेट (Chun Yeung Estate)मा १४ दिन सम्म अनिवार्य क्वारेन्टिनमा राखिने छ ।
हङकङ नेपाली महासंघको प्रमुख सल्लाहकार र निवर्तमान अध्यक्ष ईन्चार्ज रिता गुरुङले सोमबार विशेष विमानहरुबाट हङकङ फर्कन लागेका हङकङेली नेपालीहरुको सुरक्षित र सुखमय यात्राको शुभकामना व्यक्त गरेकी छन् ।
अहिले करिब १ हजार ३ सय नेपालीमूलका हङकङ आईडी वाहक नेपालीहरु लकडाउनका कारण नेपालमै रोकिएका छन् । हङकङ सरकारले रोकिएका आफ्ना सबै नागरिकलाई यसरी नै फिर्ता लैजाने जनाएको छ ।
हालसम्म हङकङमा १ हजार ८५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ भने संक्रमित मध्ये ४ जनाको मृत्यु भएको र १ हजार ३७ उपचारपछि स्वस्थ भई घर फर्केका छन् ।
वि.सं.२०७७ जेठ १८ आइतवार २१:१४ मा प्रकाशित






























