
१९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैंठकले ‘विनियोजन विधेयक २०७७’ स्वीकृत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त बिधेयक संसदमा प्रस्तुत गरेका थिए । संसदमा प्रस्तुत सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
विधेयक स्वीकृत हुनु अघि विधेयकमाथि सांसदहरुले सैद्धान्तिक छलफल गरेका थिए । छलफमा सांसदहरुले कोरोना नियन्त्रण र त्यसबाट प्रभावित भएका नागरिकको सुरक्षामा ध्यान दिनुपर्ने बताएका थिए ।
सांसदहरुले उठाएको जिज्ञासामा अर्थमन्त्री डा. खतिवडाले यसपालिको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित भएको स्पष्ट परेका थिए । यसका साथै थप स्वास्थ्य सामग्री खरीदका लागि रु पाँच अर्ब निकासा गरिसकिएको पनि उनले सांसदहरुलाई जानकारी गराएइका थिए । अर्थमन्त्री डा. खतिवडाले सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न स्थापना गरेको राहत कोषमा रु दुई अर्ब ३१ करोड जम्मा भइसकेको जानकारी दिए । उनका अनुसार, कोरोनाकोष र विपद् व्यवस्थापन कोषबाट पनि केही रकम परिचालन गर्न सकिने अवस्था रहेको छ ।
सो रकम सबै स्वास्थ्यका सामान खरीद र ल्याब टेष्टको सामग्र्रीमा खर्च गरिने उनको भनाई छ ।
“सरकारको प्राथमिकतामा रोग नियन्त्रणमा नै छ, रकम अभाव हुन दिइने छैन ।” खतिवडाले भने ।
उनले सांसदलाई तथ्य सहितको आलोचना गर्नसमेत आग्रह गरेका छन। तथ्यहिनआरोपले प्रोत्साहन नहुने उनको भनाई छ ।