३१ जेठ काठमाण्डौं । नेपालमा आज थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकामा पर्साको विरगन्ज महानगरपालिका घण्टाघरका अन्दाजी २५ वर्षका पुरुषको जेठ २८ गते वेवारिसे रुपमा शव फेला परेको थियो ।
उनको शब नारायणी अस्पतालमा पोष्टमार्टमका लागि ल्याएको र नारायणी अस्पतालमै गरिएको श्वाव परीक्षणमा उनमा शुक्रबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नं ६ योजना टोलका ५ वर्षीय बालकको पनि संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।
ज्वरो तथा श्वास प्रश्वासमा समस्या देखिएका उनलाई शुक्रबार विरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा राखेर उपचार गरिएको र नारायणी अस्पतालको प्रयोगशालामा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
उनको श्वाव परीक्षणको नतिजा नआउँदै शुक्रबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज मृत्यु भएको पुष्टि भएका २ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । उनीहरुमा १ बालिका, १ महिला र १६ पुरुष रहेका छन् ।
वि.सं.२०७७ जेठ ३१ शनिवार १७:२३ मा प्रकाशित






























