
८ असार, काठमाण्डौं । पाल्पामा सोमबार दिउँसो गएको पहिरोका कारण तीनजनाको मृत्यु भएको छ ।
पाल्पाको तानसेन नगरपालिकाको वडा नं ११ जोगिपानीस्थित सम्मोबारी भन्ने ठाउँमा आज दिउँसो २ बजेतिर गएको पहिरोले पुरिएर २ जनाको घटनास्थलमै र उद्धार गरिएका एकजनाको पाल्पाको मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठका अनुसार उक्त ठाउँमा बिहान गएको पहिरो काटेर बाटो खुलाउने काम भइरहेको अवस्थामा पहिरोका कारण रोकिएर बसेका ट्रक र ट्यांकर माथिबाट खसेको पहिरोले बगाएर लैजादा दुईको घटास्थलमै र १ को उपचारका क्रममा सोमबार बेलुका ७ बजेतिर मृत्यु भएको हो ।
उनका अनुसार ट्रकका ड्राइभर गाडी बाहिरै रहेको र ट्यांकरमा कतिजना थिए भन्ने यकिन भएको छैन । ट्रक र ट्यांकर पाल्पाबाट गुल्मी जाँदै गरेको अवस्थामा पहिरोका कारण बाटोमै रोकिएका थिए ।
‘बिहानै गएको पहिरो काटेर बाटो खुलाउने काम भइरहेको थियो । एक्कासी माथिबाट आएको पहिरोले ट्रक र ट्याकंर बगाएर लैजादा दुईजनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो,’ इन्सपेक्टर श्रेष्ठले भने, ‘यतिजना पुरिएका छन् भन्ने यकिन भएको छैन घटनास्थलमा मोटरसाइकलको हेल्मेट भेटिएको, तर मोटरसाइकल देखिएन ।’
उनले दिउसोदेखि सेना र प्रहरीले उद्धार कार्य जारी राखेपनि पानी परेको र उद्धारका क्रममा थप मानिस नभेटिएकाले आजलाई उद्धार कार्य बन्द गरिएको संसारन्युजलाई जानकारी दिएका छन् । उनले मृतकहरुको अहिलेसम्म सनाखत नभएको समेत जानकारी दिएका छन् ।
तस्बिर: तिलक केसी