back
CTIZAN AD

शून्य डिग्री उपन्यास जिन्दगीसँग हार्न नचाहनेको कथा हो

वि.सं.२०७३ पुस १२ मंगलवार

2.7K 

shares

15778485_10209427014411487_604488391_o

 प्रोल्लास सिन्धुलीय

हरेक मान्छे असामान्य हुन्छन् । पढेका मान्छेमात्र विद्वान् हुन्छन् र नपढेका मूर्ख हुन्छन् भन्नु भ्रम हो भन्ने निष्कर्ष पनि यसले दिनेछ । विद्वता र औपचारिक शिक्षा भन्ने कुरा अलग हो । पढेको मान्छे मात्र विद्वान् हुँदैन, नपढेको मान्छे पनि विद्वान हुनसक्छ भन्ने सन्देश उपन्यासमार्फत दिन कोसिस गरेको छु ।

एउटा मानिस शून्यमा जन्मिन्छ र मरेपछि शून्य भएरै जल्छ, चाहे उससँग अथाहा सम्पत्ति नै किन नहोस् । शून्य जीवनलाई माथि उकास्ने वा झन् शून्यमा झार्ने ? स्वयम् त्यो मान्छेमा भर पर्ने कुरा हो । कुनै पनि मानिस आफ्नो जीवनलाई शून्य बनाउन चाहँदैनन् । यदि शून्य हुन्छ त त्यो बाध्यता वा परिबन्दले हुन्छ । हरेक मानिसहरु शून्यबाट सयमा पुग्ने अभिलाषामा दौडिनै रहन्छन् । तर, धेरैजसो सफल हुँदैनन् । हो, यस्तै जीवनको आरोह–अवरोह झेल्दै कुदिरहेका छन् आम मान्छेहरु । यी तमाम मान्छेका भीडबाट एउटा पात्रलाई उभ्याएका छन् कवि प्रोल्लास सिन्धुलीयले उपन्यासमा । सांग्रिला बुक्सले प्रकाशन गरेको उनको उपन्यास ‘शून्य डिग्री’ यही आउँदो २२ गते सार्वजनिक हुँदै छ । कस्तो कथा हो शून्य डिग्री ? कसरी र किन लेखियो ? यसै विषयमा केन्द्रित रहेर संसार न्युज डटकमका लागि संगीता पनेरुले सिन्धुलीयसँग गरेको कुराकानीको अंश:

शून्य डिग्री कस्तो उपन्यास हो ?
यो सामाजिक विषयवस्तुमा केन्द्रित उपन्यास हो । उपन्यासको एउटा पात्र, जो यही समाजको हो । जसलाई हामीले सामान्य मान्छे ठानिरहेका हुन्छौँ, सतही मूल्याङ्कन गर्छौं । त्यो सबै सत्य नहुँदो रहेछ । एउटा सामान्य मान्छे जसलाई नजिकबाट निहाल्यौँ र गहिराइमा पुगेर उसको वास्तविकता पत्ता लगाउने कोसिस ग¥यौँ भने त्यो मानिस असामान्य हुने रहेछ । त्यसैले हचुवा र सतही आधारमा कुनै मानिसको असली मूल्याङ्कन नहुने रहेछ भन्ने कुरा यस उपन्यासमा ल्याउने प्रयास गरेको छु ।
उपन्यासमा कस्तो पात्र र परिवेश चित्रण गरिएको छ ?
यो एउटा वास्तविक पात्रको जीवनमा आधारित कथा हो । एउटा मानिस शून्यमा जन्मियो । उसले उमेरसँगै शून्य जीवनलाई भरेर हराबरा बनाउने कोसिस ग¥यो । ऊ सफल पनि भयो । तर फेरि ऊ शून्यमै झ¥यो । शून्यबाट माथि जाने र शून्यमा झर्ने क्रम उसको भइनै रहयो । शून्यबाट तलमाथि जाँदाजाँदै शून्यमै झरेपछि उपन्यास सकिएको छ । तर, पात्रको जीवन सकिएको छैन । पात्रलाई सँगै लिएर सिन्धुपाल्चोक, मकवानपुरका विभिन्न गाउँ र सिक्किमसम्म पुगेको छु । अनि त्यहाँबाट फर्केर आएपछि मात्र उपन्यासका तत्तत् भाग लेखेको छु । यस अर्थमा यो उपन्यास हाम्रो समाजको एउटा चित्र उतार्ने प्रयत्न पनि हो । शून्यबाट माथि जाने प्रयत्न गरिरहने तर जिन्दगीको धरातल शून्यको शून्य नै रहिरहने आम मान्छेहरुको कथा हो ।
कति समय लगाउनु भयो उपन्यास लेख्न ?
झन्डै ६ वर्ष लगाएँ । कवितामा धेरै सोचिन्छ, थोरै लेखिन्छ । त्यही बानीले होला, कविता लेख्ने मान्छेलाई उपन्यास लेख्न समय अलिक बढी नै लाग्दो रहेछ । हुन त मैले यो भन्दा अगाडि दुईवटा उपन्यास लेखिसकेको छु । तर, ती आभ्यासिक, अपूरा र यत्तिकै छाप्नलायक छैनन् ।

उपन्यासको शीर्षक शून्य डिग्री नै राख्नुको मुख्य कारणचाहिँ के हो ?
मैले ६ वर्षदेखि ती पात्रसँग प्रत्यक्ष रुपमा देखिरहेको र भेटिरहेको छु । उपन्यास लेखनका लागि जुनजुन ठाउँमा पुगेँ, त्यहाँ तिनै पात्रसँग पुगेको हुँ । उपन्यास लेख्नुअघि खुबै घुमेको छु म पात्रसँग । तथापि यति लामो समय अवश्य लाग्ने थिएन । तर, जो व्यक्तिलाई मैले उपन्यासको पात्र बनाएको थिएँ, बीचमा उनी साह्रै बिरामी भए । मृत्युको मुखसम्म पुगे । झन्डै उपन्यास नै बे्रक गर्नुपर्ने स्थिति आयो । जब उनी पूर्ण रुपमा निको भए, अनि फेरि उनीसँग घुम्ने र लेख्ने क्रम सुरु भयो । पात्रको जीवनको आरोह, अवरोह घरीघरी शून्यबाट माथि उठ्ने र पुनः शून्यमै आइपुग्ने हुन्छ । त्यसैको प्रतिबिम्बन हुनेगरी उपन्यासको शीर्षक शून्य डिग्री राखिएको हो ।

एउटा चर्चित कवि, उपन्यास ल्याउँदै हुनुहुन्छ ? व्यापक चर्चा पाउने पाउने आशमा हुनुहुन्छ होला है ?
शून्य डिग्री मार्काको उपन्यासले बजार तताउँछ, बढी हल्लाखल्ला गर्छ भन्ने मनोविज्ञान मेरो पनि छैन अनि प्रकाशकको पनि छैन । यो उपन्यास सदाबहार टाइपको हुनेछ, र लामो समयसम्म सामाजिक परिवेशको प्रतिबिम्बन गरिहनेछ भन्ने विश्वास भने छ । विशेषतः जीवनसँग हार खाएकाहरुका लागि शून्य डिग्री प्रेरणादायक हुनसक्छ । किनकि यो उपन्यास जिन्दगीसँग हार्न नचाहनेको कथा हो ।

सन्देश के दिन्छ त उपन्यासले ?
हरेक मान्छे असामान्य हुन्छन् । पढेका मान्छेमात्र विद्वान् हुन्छन् र नपढेका मूर्ख हुन्छन् भन्नु भ्रम हो भन्ने निष्कर्ष पनि यसले दिनेछ । विद्वता र औपचारिक शिक्षा भन्ने कुरा अलग हो । पढेको मान्छे मात्र विद्वान् हुँदैन, नपढेको मान्छे पनि विद्वान हुनसक्छ भन्ने सन्देश उपन्यासमार्फत दिन कोसिस गरेको छु ।

15542271_10154140744656961_5867928471593062762_n

वि.सं.२०७३ पुस १२ मंगलवार ०९:५१ मा प्रकाशित

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री

मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले...

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

मौनअवधिमा विशेष निगरानीको व्यवस्था गरिएको छ –आयुक्त राणा

काठमाडौं । निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौनअवधिमा हुनसक्ने...