२४ असार । अमेरिकामा ट्रम्प प्रशासनले अनलाइन मार्फत अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूले देश फर्कनु पर्ने नियम जारी गरेको छ ।
अमेरिकी अध्यागमन एवं भन्सार एजेन्सी (आईसीई) ले यो नियम जारी गरेको हो । यस अनुसार विदेशी विद्यार्थीहरु जसले अमेरिकामा स्नातक वा स्नातकोत्तर अध्ययन गरिरहेका छन्, जसका सबै कक्षा अनलाइन सञ्चालन भइरहेका छन्, उनीहरुले अमेरिका छोड्नु पर्छ । यसबाट विश्वका १० लाख विद्यार्थी प्रभावित हुने बताइएको छ । त्यसमध्ये १० हजार नेपाली विद्यार्थी पनि पर्नेछन् ।
अमेरिकाले ग्रेजुएशन तथा पोस्ट ग्रेजुएशनका विद्यार्थीएका लागि एफ-1 तथा एम-1 विधाको भिसा जारी गर्ने गरेको छ । अनलाइन क्लास हुने त्यस्ता विद्यार्थीहरुको भिषा जारी नगर्ने बताएको छ ।
यदि कुनै विदेशी विद्यार्थीले आदेशको बाबजुद अमेरिका छाड्दैन भने उसलाई जबरजस्ती उसको देश पठाइने बताइएको छ । ट्रम्प प्रशासनले महामारीको प्रभाव कम गर्न यो निर्णय गरेको हो । यसले स्वास्थ्य सुविधाहरुमा भार कम गर्ने र सरकारी पैसा पनि बचत हुने भनिएको छ ।
आईसीईले कहिले देखि यो नियम कार्यान्वयनमा ल्याउने भन्ने बारे केही निर्णय भने गरिसकेको छैन । अहिले धेरै देशहरुले यात्रा प्रतिबन्ध गरेका छन् । ती देशका विद्यार्थीहरुका बारेमा केही निर्णय गरिएको छैन । हावर्ड विश्वविद्यालयले आफ्नो ४० प्रतिशत विद्यार्थीलाई कलेजमा आउने मन्जुरी दिने बताएको छ ।
अमेरिकाको सन २०१८–०१९ को आँकडा अनुसार ४ लाख ६९ हजार ५४८ चिनीया, २ लाख २० हजार १४ भारतीय, ५२ हजार २५० दक्षिण कोरियाली रहेका छन् ।
सांकेतिक फाइल तस्विर
वि.सं.२०७७ असार २४ बुधवार १६:४८ मा प्रकाशित






























