२६ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम लिँदै जग्गा व्यवसायीसँग गैरकानुनी लाभ लिएको आरोपमा विभिन्न नौ जनालाई पक्राउ गरिएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ चपलीका जग्गा व्यवसायीसँग आयोगमा उजुरी परेको भन्दै धाकधम्की दिएको, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस भन्दै बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरी परेको थियो ।
आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले आफूलाई ज्योतिष बताउने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शङ्करविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेललाई बिहीबारनै पक्राउ गरेको थियो । आयोगले भने उनीहरुको अनुसन्धान जारी रहेकाले आजमात्रै नाम सार्वजनिक गरेको हो ।
आरोपीमाथि आयोगमा उजुरी परेको, अनुसन्धान प्रक्रिया जारी रहेको, अनुसन्धान रोक्ने भए मलाई भेटनुस् भन्नेजस्ता एसएमएस पठाएको, फोन गरी भेट्न बोलाई डर धम्की दिएको पाइएको छ ।
आरोपीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पठाइएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा. चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोज्ने ९ जना नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०३।२६ गते ।
—————————————————-
जिल्ला काठमाडौं बुढानिलकण्ठ न.पा. वडा नं. २ चपली बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अ.दु.अ. आयोगमा उजुरी परेको छ भनी अपराधिक लाभ लिन खोजी मोवाइल फोनबाट सूचना कर्तालाई पटक-पटक मिसकल गर्ने, फोन रिसिभ गर्दा आफूलाई अनुसन्धान अधिकृत भनी अख्तियारमा उजुरी परेको छ, अनुसन्धान प्रकृया अगाडि बढेको भनी जानकारी गराउने, अनुसन्धान प्रक्रिया रोक्ने भए मलाई भेटनुस जस्ता एस.एम.एस. पठाउने, फोन गरी भेट्न बोलाई डर धाकधम्की देखाई बार्गेनिङ गरी रकम मिलाएको भन्ने सूचना एवं उजुरीका आधारमा आयोग तथा महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उक्त रकम लिन आएको अवस्थामा आफूलाई जोतिष भन्ने अर्जुन कुमार थापाक्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई काठमाडौं जिल्ला का.म.न.पा. गौरीघाट, गौशाला र पुरानो बानेश्वर क्षेत्रबाट मिति २०७७।०३।२५ गते नियन्त्रणमा लिई निजहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकुमा पठाइएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
वि.सं.२०७७ असार २६ शुक्रवार १९:३४ मा प्रकाशित






























