२६ असार, काठमाडौँ । दुई दिन यता परेको भारी वर्षाका कारण देशका विभिन्न भागमा पहिरोका घटनाहरु बढेका छन् ।
गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार आज मात्र बाढी पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् भने ३६ जना बेपत्ता र २६ जना घाइते रहेका छन् ।
केन्द्रले साँझ ६ बजे सार्वजनिक गरेको सूचनामा बाढी पहिरोका कारण ८ जिल्ला बाढी पहिरोका कारण प्रभावित भएको जनाइएको छ ।
आजको वर्षाले सबैभन्दा बढी प्रभावित म्याग्दी जिल्ला बनेको छ । सो जिल्लामा बाढी पहिरोका कारण ३ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् । त्यस्तै लम्जुङमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् ।
कास्कीमा ७ जनाको मृत्यु १७ घाइते, रुकुम पश्चिममा २ जनाको मृत्यु १ जना घाइते, जाजरकोटमा ७ जनाको मृत्यु ५ घाइते र ५ बेपत्ता छन् भने गुल्मीमा १ जनाको मृत्यु भएको छ ।
३० जेठदेखि नेपालमा मनसुन सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन आइतबार सम्म सक्रिय रहने जनाएको छ ।