२९ असार, तनहुँ । अविरल परेको वर्षाका कारण गएको पहिरोले तनहुँमा २ जनाको ज्यान लिएको छ भने दुइ परिवारका ९ जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अविरल वर्षासँगै गएको पहिरोका कारण २ को मृत्यु, ९ वेपत्ता र २ जना घाईते भएका हुन् ।
मृत्यु हुनेमा व्यास नगरपालिका ९ माझफाँटकी ७० वर्षीया मैत कुमारी घर्तीको घटनास्थलमै र म्याग्दे गाउँपालिका–६ बेलौतोडाँडाकी १७ वर्षीय लक्ष्मी बिकको रत्नहरि अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी पहिरोमा पुरिएर हराइरहेकाहरुमा रिसिङ गाउँपालिका–८ पल्ट्याङका अन बहादुर थापाका जेठा छोरा भेष बहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया थापा, ५ वर्षीया नातिनी अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव थापा, कान्छी बुहारी १९ वर्षीया मनिसरा थापा रहेका छन् ।
त्यसैगरी व्यास नगरपालिका माझफाँट बस्ने केशर बहादुर थापाकी श्रीमती ४० वर्षीया कमला थापा, उनका छोराहरु २४ वर्षीय मनोज थापा र २० वर्षीया राजेश थापा तथा २१ वर्षीया छोरी अन्जना थापा रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
घाईते रहेकी रिसिङ गाउँपालिका ८ पल्ट्याङ भैसिलिकी ६० वर्षीया ज्योतीमाया थापाको अवस्था मध्यम रहेको बताइएको छ ।
त्यसैगरी बेपत्ताहरुको खोजीमा स्थानीय तथा सुरक्षाकर्मीको टोली खटिइएको पनि प्रहरीले जानकारी दिएको छ ।