
काठमाडौं । काठमाडौं उपत्यकामा आगामी ३ दिनभित्र सबै खालका सवारी साधन चल्ने भएका छन् । राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले यातायात क्षेत्रलाई सम्बोधन गरेसँगै उत्साहित बनेका व्यवसायीले सवारी साधन चलाउने भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले २ देखि ३ दिनभित्रै पूर्ण रुपमा सवारी साधन चलाउने तयारी गरिएको बताए । उनका अनुसार बैंकको किस्ता तिर्ने समय सार्नुपर्ने, सुहलियत ब्याजदरमा पुनर्कर्जा पाउनुपर्नेलगायतका माग मौद्रिक नीतिले सम्बोधन गरेसँगै सवारी साधन खुलाउने तयारी गरिएको हो ।
सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेपनि यातायात व्यवसायीका संगठनहरुले बस नचलाउने निर्णय गरेका कारण पूर्ण रुपमा बस चलेका छैनन् । व्यवसायीले लकडाउनले आफुँहरुलाई परेको मर्कालाई सम्बोधन गर्नुपर्ने बताएका थिए ।
यसअघि यातायात क्षेत्रसँग सम्बन्धीत व्यवसायी र मजदुरहरुले कार्यदल नै बनाएर सरकारसँग आफ्ना मागहरु राखेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि सहभागि कार्यदलले सरकारसँग मागहरु राखेको थियो ।